युहानको अग्रसरतामा क्ल्याप फर अ कज्


आजको मितिमा विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ। विश्वको अधिकांश जनताले लकडाउनको स्थितिलाई सामना गरिरहेका छन्। यसबाट नेपाल पनि अछुतो छैन। नेपाल सरकारको निर्णय अनुसार गत चैत्र ११ गते देखि नेपाली जनताले पनि एक साताको लकडाउनको अप्ठ्यारोलाई भोगिरहेका छन्। कोरोना भाइरसको महामारीसित हामी सबै लडिरहेका छौं। तर फ्रन्ट लाइनमा उभिएका छन् आफ्नो स्वास्थ्य सुरक्षाको खतरालाई सामना गर्दै स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु तथा संचारकर्मीहरु। उनीहरु सबै जना हामी सबैलाई स्वस्थ राख्न, सुरक्षित बस्न र सुसुचित रहन अहोरात्र खटिरहेका छन्।

कोरोना भाइरसको विरुद्धको लडाईंमा निडर र निर्भिक भएर लडिरहेका यी सबै बहादुर सिपाहीहरुको आत्मबल र आत्मविश्वास बढाउन तथा उनीहरुको यो साहसको सम्मानमा क्ल्याप फर अ कज् नामक अभियानको पहल देखिएको छ। यो अग्रसरतालाई इभेन्ट म्यानेजर सानु खानको अगुवाईमा युहान इन्टरनेसनल इभेन्टस्ले अग्रसरता देखाएको छ। यो पहलकदमीमा सकिन खड्गी, समीर धौगडा, यश अग्रवाल, एमी रौनियार तथा अद्नान सामदले सहकार्य गरेका छन्।

युहान इन्टरनेसनल इभेन्टस्को ब्यानरमा यस पटक अघि सारिएको अवधारणा क्ल्याप फर अ कज्, साधारण छ तर विशेष र अर्थपूर्ण छ। मात्र आफू बसेको स्थान, आफ्नो घरको झ्याल, बालकोनी, कौसी आदि ठाउँबाट कोरोना भाइरस विरुद्ध हाम्रो स्वास्थ्य, सुरक्षा र सूचनाका लागि लडिरहेका स्वास्थ्यर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको सम्मानमा दिल खोलेर ताली बजाएर उनीहरुको हौसला बढाउने। यो कार्यलाई गति दिनका लागि यही मंगलबार अर्थात् चैत्र १८ साँझ ५ बजेको समयमा दुई मिनेट सम्मका लागि आह्वान गरिएको छ। यो कार्यलाई संभव भएसम्म आ आफ्नो फेसबुक पेज मार्फत् लाइभ गर्न पनि अनुरोध गरिएको छ।

इभेन्ट म्यानेजर सानु खानको अगुवाईमा रहेको युहान इन्टरनेसनल इभेन्ट्स नेपालको परिवेशमा स्तरीय सौन्दर्य तथा मोडलिङ प्रतियोगिताको सफल आयोजना लागि कहलिएको संस्था हो। युहानको ब्यानरमा मिस नेपाल कल्चर, मिस प्लस टू नेपाल, मोडल क्वेस्ट इन्टरनेसनल नेपाल, द नेपाल्स टप मोडल जस्ता सफल र चर्चित आयोजनाहरु संचालन भइसकेका छन्। आफ्ना आयोजनाहरुमा बलिउड अभिनेत्रीद्वय हेजल किच, उर्वशी रटेला तथा बिग बोस फेम अलि कुली मिर्जाको उपस्थित गराएर सौन्दर्य तथा मोडलिङ इभेन्ट आयोजनामा फरकपन ल्याउन सफल इभेन्ट म्यानेजर सानु खानले युहान इन्टरनेसनल इभेन्टको ब्यानरमा बादशाह लाइभ इन नेपाल, जे सिन लाइभ इन नेपाल जस्ता इन्टरनेनसल म्युजिकल इभेन्टको पनि सफल आयोजन गरिसकेका छन्।


Loading comments...