“हामी उठ्ने छौं” को निःशुल्क रिचार्ज पुन सुचारू, रु ५० बराबरको रिचार्ज एक हजार जनालाई दिइने


“हामी उठ्ने छौं – We Will Rise Foundation”ले तपाईको सम्बन्ध हामी जोडनेछौं भन्दै घोषणा गरेको निःशुल्क रिचार्ज अभियान पुनः सुचारू भएको छ । अत्यावश्यक कार्यका लागि मोबाइल रिचार्ज कार्डको अभावमा अत्यावश्यक फोन सम्वादबाट वञ्चित हुनुभएका ५०० नेपालीहरुका लागि रु १०० निःशुल्क मोबाइल रिचार्जको सहयोगी अभियान सम्पन्न भएसँगै फाउण्डेशनले आजै भिडियो कन्फ्रेन्समार्फत आकस्मिक बैठक डाकी यसलाई रु १०० बाट रु ५० मा सिमित गरी अझ बढी भन्दा बढी नागरिकले लाभ लिन सकून भन्ने उद्देश्यले यो अभियानलाई पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

तुलसी कुमार गुरुङ
संस्थापक

“हामीले रिचार्ज कार्ड सहयोगका लागि सार्वजनिक गरेको हाम्रो दुवै मोबाइल नम्बरमा अझै ६०० बढी अत्यावश्यक रिचार्जका लागि अनुरोध आएका छन् । हाम्रा दुवै हटलाइनमा दिनरात नभनी खटिएका संस्थापक निर्देशकद्वय निर्मल श्रेष्ठ तथा खड्ग परियारको निरन्तरको लगनले हामीले पहिलो चरणमा ५०० जनालाई दिने भनिएको रु १०० बराबरको रिचार्ज रकम देशका सुगम दूर्गम – कुना कन्दराबाट प्राप्त अनुरोधहरुलाई सम्बोधन गर्न सफल भएका छौं ।” फाउन्डेशनका अभिभावक तथा संस्थापक श्री तुलसी कुमार गुरुङले लाइभमाण्डूलाई बताउनुभयो ।

निर्मल श्रेष्ठ
संस्थापक निर्देशक

“यस संकटको घडीमा सूचना आदानप्रादान जस्तो आधारभूत पहूँचमा लकडाउनको यो विशेष परिस्थितीले नागरिक कसरी आफ्नो स्थिती, आफ्नो गार्ह्रो सार्ह्रो अवस्था अथवा स्वास्थ्य जटिलतालाई सम्बन्धित स्रोतसम्म पुर्याउनेछन् भन्ने ठूलो चिन्ताको विषय हो । हामी यस विषयमा गम्भीर छौं । किनकी काठमाण्डौमैं रहनुभएका हाम्रो फाउण्डेशनकै साथीहरुलाई रिचार्ज कार्ड व्यवस्था गर्न हम्मे परेको छ । कतै अत्यावशक पसल खुलेका भएपनि रिचार्ज कार्डको अभाव छ भने काठमाण्डौ बाहिरका क्षेत्रहरुको अवस्था कस्तो होला ? हाम्रो प्राथमिकता र नागरिकमा अनुरोध पनि कृपया अत्यावश्यक परेका नागरिकलाई यो लाभ लिन सहयोग गरीदिनुहुन अथवा संकटको साथीको रुपमा यो अभियानलाई साथ दिनुहुन अनुरोध गर्दछौं ।” संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउनुभयो ।

खड्ग परियार
संस्थापक निर्देशक

“जो पसलेमार्फत २०-५० रुपैयाँ मोबाइलमा ट्रान्सफर गराएर आफ्नो संचारको आवश्यक्ता पुरा गर्नुहुन्थ्यो, वहाँहरुको समस्या अझ बढी हुनसक्छ भनेर नै हामीले पहिलो चरणमा २४ घण्टाका लागि संचालन गरेको निःशुल्क रिचार्जको अभियानलाई रोक्किएको एकदिन पछि धेरै भन्दा धेरैको सहभागीता होस भनेर रु ५० रुपैयाँ बराबरको प्रतिव्यक्ति रिचार्जको ताजा अभियान आजैदेखि प्रारम्भ गरेका छौं र यो १ हजार नागरिकको लागि खुल्ला गरिएको छ । १ हजार नागरिकलाई घोषित रिचार्ज रकम ट्रान्सफर नहुञ्जेल यो अभियान जारी रहने छ ।” अर्का संस्थापक निर्देशक खड्ग परियारले बताउनु भयो ।

वैश्विक स्वास्थ्य समस्या बनेको नोभल कोरोना भाईरस (COVID-19)बाट नेपालमैं संक्रमितको संख्या ९ पुगीसकेको छ भने देश सेल्फ क्वारेन्टाईनको अवस्थामा छ । यो समाचार तयार गर्दासम्म विश्वभर १२ लाख ३ हजार ९ सय २३ जना कोरोना संक्रमित फेला परेका छन् भने ६४ हजार ७ सय ९४ ले ज्यान गुमाईसकेका छन् । त्यस्तै कोरोनाको संक्रमणबाट २ लाख २९ हजार ५ सय ६ जना स्वस्थ भईसकेका छन् ।

देशमैं स्वास्थ्य सामाग्री तथा स्वास्थ्यकर्मीका लागी आवश्य व्यक्तिगत सुरक्षाका अत्यावश्यक किट प्रयाप्त नहुँदा केही सरकारबाट उपलब्ध तथा केही आ-आफ्नो क्षेत्रबाट तयार पारिएका त्यस्ता सामाग्रीहरुको सहयोगमा स्वास्थ्यकर्मी अहिले अहोरात्र खटिएका छन् । सुरक्षाकर्मीहरु लकडाउनलाई कुनैपनि हालतमा सफल पार्न सडकमा निशर्त उभिएका छन् । देश लक डाउन (बन्दा बन्दी)को अवस्थामा छ र यस अवस्थामा नागरिकको मूलभूत कर्तव्य भनेको सरकारले यस लक डाउनको घोषणालाई पूर्ण साथ दिनु हो र घरमैं बसेर सम्भावित संक्रमणको खतराबाट आफू पनि जोगीनु र अरुलाई पनि जोगाउनु हो । 

रिचार्ज अनुरोध गर्नका लागि सम्पर्क नम्बरहरु
9823872115 (NTC)  |  9813207487 (Ncell)

 

“हाम्रो यो अभियान हाम्रै लागि हो, तपाईं अप्ठेरोमा हुनु भनेको हामी पनि अप्ठेरोमा हुनु हो । संक्रमणकालिन समयले धनी गरिब, निर्धो बलियो चिन्दैन । निशंकोच हामीले आह्वान गरेको अभियानको लाभ लिनहुन अनुरोध छ । तपाईको सम्बन्ध हामी जोडनेछौं ।

अनि मुख्य कुरो सरकारले जारी गरेको लक डाउन भनेको हाम्रै लागि हो । हालका लागि कोरोनाको सम्भावित संक्रमणबाट बच्ने र अरुलाई पनि बचाउने एउटै र अन्तिम् बिकल्प भनेको घरमैं बसेर सामाजिक दूरी कायम राख्ने । लकडाउनलाई साथ दिएर कोरोना बिरुद्धको यो वैश्विक लडाइलाई सफल पारौं”

संस्थापकः तुलसी कुमार गुरुङ
“हामी उठ्ने छौं – We Will Rise Foundation”


Loading comments...