
नारायण र लक्ष्मीको संवादः पद्म पुराणबाट
सनातन ग्रन्थहरुमा भगवानहरुको संवाद धेरै ठाँउ अनि अनेकन ग्रन्थहरुमा उद्धत गरिएको पाइन्छ । नारायण र लक्ष्मीको यस संवाद पद्म पुराण, भागवत गीता अनि शिव पुराणमा समेत उद्धृत गरिएको छ । पार्वतीले शिवसमक्ष दैविक उपस्थिती र भगवानतत्वको जिज्ञासा राखेपछि शिवले नारायण र लक्ष्मीको यसै वार्तालापलाई उल्लेख गरेको प्रमाण पनि छ, आउनुहोस् यस विषयमा चर्चा गरौं ।
नारायण भगवानले लक्ष्मीसंगको संवादमा भागवत गीताको अध्ययन गर्दाखण्ड हुने फाइदाका बारेमा ब्याख्या गर्न सुसर्मको कथालाई प्रस्तुत गरेको पाइयो, सुसर्म जन्मले ब्राह्मण हुन तर ब्रह्मपरम्पराको अनुसरण उनले गरेनन् । उ अधर्मी, असत्य अनि अनर्गल पथमा लाग्यो, मृत्युपछि उ नर्कको भोगी हुने कर्मको भागीदार भएको थियो । अर्को जन्ममा सुसर्म गोरुको जन्ममा मत्र्यलोकमा आए, यो गोरु खेत जोत्ने भन्दा पनि बाटोमा चटक देखाएर आफ्नो पेट पाल्न एकजना चटकेले प्रयोग गर्दथ्यो । गोरु बुढो हुन्छ, शारीरीक पीडा र यातनाका बिच मालिकको हेलचेक्राईको पनि सामना गरेको गोरुले मृत्युको याचना गर्दछ । एकदिन एकजना देहव्यापारी महिला त्यसै बाटामा हिँड्दै आँउदा गोरुको पीडा देखेर यदि मैले जीवनकालमा केहि पुण्य गरेकी रहेछु भनें यसै गोरुलाई मिलोस भनि पुकारा गर्दछिन्, यसपछि तिनी महिलाको पुकाराले गोरुको मृत्यु हुन्छ, यहाँ मृत्युलाई जीवनबाट मोक्षका रुपमा लिइन्छ । गोरु यमलोकमा पुगेर फेरि मत्र्यलोकमा ब्राह्मणका रुपमा जन्म हुन्छ, यस जन्ममा सुसर्मले आफ्ना पछिल्ला जन्मका कुराहरु संझना गर्दछन् ।
आफ्नो गोरुको रुपमा भएको जन्मबाट मुक्ति दिलाउने देहव्यापारी महिलाप्रति कृतज्ञ सुसर्म तिनी महिलाको खोजिमा लाग्दछन्, देहव्यापार गर्ने महिलाले आखिर के कर्म गरिन र तिनको कर्मको फलस्वरुप गोरु जुनीवाट मुक्ति पाइयो भन्ने तर्कना यिनमा हुन्छ । अन्तत ति महिलाले गरेकी सबैभन्दा पुण्यको कुरा यिनले थाहा पाँउदछन्, ति महिलाले सँधै आफ्नो घरपालुवा सुँगाबाट श्रीमदभागवतका श्लोकहरु र पाठहरु सुन्ने गरेकी हुन्छिन् , यिनै श्रोतासवेंगबाट पुण्य उनलाई प्राप्त भएको हुन्छ ।
त्यस सुँगाले आफू आश्रममा पालिँदा त्यहाँका तपस्वीहरुबाट गीताका श्लोक सुनेको र तिनै श्लोकहरु याद गरेर अरुलाई सुनाउने गरेको बताँउदछ । श्रीमद भागवत गीताको यो महिमामा उपयोग भएका जन्मजन्मान्तरका उदहारणहरु, चटक देखाउने गोरु, अधर्मी ब्राह्मण, देहव्यापारी महिलाहरुका आआफ्नै तार्किक महत्व छ, गहिरिएर बुझ्दा यस उदहारणमा एउटा दर्शन लुकेको छ , श्रीमद भागवत गीताको जय होस्, विश्वको कल्याण होस्, प्राणीमा प्राण होस् ।
सुयोग ढकाल