विश्वभरि एउटा नयाँ राष्ट्रवादको शुरुवात : कोरोना पछिको विश्व


विश्वयुद्धको दोश्रो श्रृखलापछि यस विश्वमा एउटा नयाँ वल्ड अर्डरको शुरुवात भयो, यस वल्र्ड अर्डरमा हामीले विगतको ५० वर्षभरिमा सर्वाधिक धेरै विश्वव्यापीकरण ग्लोवलाइजेशन देख्यौ, विश्वका हरेक कुनामा हरेक कुनाका मान्छेहरुको सहज आवागमन पायौ, यातायात र उड्ययन क्षेत्रमा नयाँ आयामहरु थपिए, औधोगिकरणले २०० वर्षसम्म नपाएको गती यिनै ५० वर्षमा पायो, प्रविधी र सूचनाको पहुँचले यूगान्तकारी परिवर्तन ल्यायो अनि धेरै धेरै कुराहरु बदलीयो ।

शरणार्थीका समस्याहरु देखि आप्रवासीका चलायमानता हरेक बिकासोन्मुख देशले भोगे अनि हरेक बिकसित देशका लागि यो टाउको दुखाउ बन्यो । बिकासोन्मुख देशका खातापिता र पढेलेखेकै मान्छेहरु पनि बिकसित देशमा सानो भन्दा सानो काम गर्न पुगे, सबैले भविष्य र अवसरको खेलोखर्को गरे । शहरमा भएका ठूला शहर र बिदेश गए, गाँउमा भएका तल बेसी झरे, शहर पसे अनि यी ५० वर्षमा अवसर केन्द्रित आप्रवासनको नयाँ दौड पाइयो ।

देशहरु बिकासका पूर्वाधार र सैन्य शक्ति अनि प्रविधीका आधारमा शक्तिशाली निर्धारण गरिन थालियो, यि शक्तिको दम्भमा ठूला देशले सानालाई कप्लक्क निले, निल्न नमिल्नेलाई पेले, आफ्नो अधिनमा राखे । आन्दोलनहरु दबाइयो, प्रयोजन गरियो अनि पूर्नजागरण गरियो यद्धपि यस कोरोना प्रकरणले विश्वका पछिल्ला ५० वर्षका उपलव्धी र मापदण्डलाई ठूलै धक्का दिएर गएको छ ।

सैन्य शक्तिले भरमार, बिकसित, सभ्यताको चुचरोमा पुगेका र विश्वमा दबदबा भएका देशहरु जस्तै चीन, अमेरिका, ईटाली, बेलायत, स्पेनहरुसंगको बिकासका पूर्वाधर, सूचनाका संयन्त्र, सभ्यताका कडी अनि सैन्य शक्तिले कोरोनाका जिवाणु र संक्रमण संग लगभग घुँढा टेकेकै अवस्था छ । अब विश्वका शक्तिशाली देशहरुको अवस्था त्यस्तो छ भने अबको विश्वमा शक्तिशाली देश हुनुको परिभाषा के हो त ?
सैन्य शक्ति राष्ट्रवादको केन्द्रिय कडी थियो, चीनसंग विश्वकै सर्वाधिक ठूलो सेना छ, अमेरिकासंग शक्ति र सार्मथ्यको सैन्य संयन्त्रहरु विश्वमै कहलाउने खाले छ, केहि ससाना देशहरुको त अमेरिकाले राष्ट्रिय सुरक्षाको ठेक्का नै लिएको छ । स्पेन एकसमयको सर्वाधिक धेरै उपनीवेश बनाउने देशहरु मध्य पर्दथ्यो, ईटालीको सभ्यता र सम्पतीका कुराहरु हामीलाई थाहै छ तर अबको नयाँ विश्वको शक्ति परिभाषामा यि देशका शक्तिहरु मापन नगरिन सक्छ । अबको विश्वमा नयाँ राष्ट्रवाद उदाउने छ भन्ने मेरो ठहराई छ, अबको राष्ट्रवाद सेना र हतियार भन्दा पनि सामाजिक एकात्मक्ता अनि स्वास्थ सेवा संयन्त्रणमा भर पर्ने देखिन्छ । सेनाका गोली र बलमे अनि जहाजले कोरोना जिवाणुहरु मार्न सकेनन, अबको राष्ट्रवाद स्वास्थ अनि सामाजिक संयन्त्रले निर्धारण गर्नेछ ।

मेरो देशको सेना भन्दा पनि अस्पताल र चिकित्सक अनि चिकित्साजन्य संयन्त्रहरुमा म गर्व मान्न थाल्नेछु र क्रमश अन्तरदेशिय सम्बन्धहरुमा सुधार हुनेछ । किनभनें जसरी भारतमा भएको संक्रमणले छिेमेकी नेपाललाई असर गर्दछ, त्यसैगरि नेपालका लागि र भारतका लागि पनि नेपाल संक्रमणरहित हुनु नै सुरक्षित मानिन्छ । सैन्य शक्तिमा यस्तो थिएन, छिमेकीलाई दबाएर आफ्नो अधिनायकता कायम गर्ने चलन र इन्डीभीज्यूआलीज्म अब क्रमश छिमेकीलाई पनि साथै लिएर अघि बढ्ने र एकात्मक सुत्रमा बाँधिनेछ । विश्वले नयाँ आयाम र समाजले नयाँ स्वरुप पलनुपर्ने बेला आएको छ, प्रार्थना र सभा, सामाजिक भेला देखि परेडहरु सबै बन्द गरिने भएको छ । अबको विश्व झनै घरभित्रै र स्क्रीनमा नै संकुचीत हुने त हैन ? भविष्यले बताउनेछ ।

सुयोग ढकाल


Loading comments...