स्ट्रिट भ्यू फोटोग्राफीमा म


मेरो बारेमा

स्ट्रिट भ्यू फोटोग्राफीको शुरुआत मैले सन् २०१६ बाट शुरू गरेको हो । विभिन्न सूचना र जानकारी संकलनको लागि गुगल म्यापको प्रयोग गर्ने क्रममा मैले अन्यत्रको ३६० डिग्री भ्यूका तस्वीरहरू देखें, तर आफ्नै गृहनगर वीरगञ्जको तस्वीर भने ज्यादै खट्कियो । त्यसपछि वीरगञ्जका मुख्य मुख्य चोकहरु तथा प्रसिद्ध स्थलहरुमा पुगेर सबैको स्ट्रिट भ्यू तयार पारे । गुगल म्यापमा अपलोड गरें । भिजिटर्सले मन पराउन थाले । साथीभाइबाट पनि प्रोत्साहन र हौसला पाएपछि निरन्तरता दिंदै आएको छु ।

शुरुआतमा मैले एण्ड्रोइड मोबाइल फोनबाट स्ट्रिट भ्यू खिच्न थालेको हुँ । सन् २०१६ देखि करीब २ वर्ष मोबाइल फोनबाटै खिचेर अपलोड गर्दै गएँ । त्यसपछि ३६० डिग्री कोणबाट फोटो खिच्ने क्षमता भएको सामसुङ गियर ३६० (Samsung Gear 360) किनेर खिच्न थाले । त्यसको १ वर्षपछि रिको थेटा भि (RichoThetaV) मोडेलको क्यामेराबाट खिचिरहेको छु । स्ट्रिट भ्यूमा वीरगंजका अधिकांश ल्याण्डमार्कहरुको फोटो मैले नै खिचेको हो।

म गुगल स्ट्रिट भ्यु ट्रस्टेड फोटोग्राफर हो । मैले गुगल म्यापमा अपलोड गरेका ३६० डिग्री कोणका तस्वीरहरूबारे भिजिटरले गरेको रेटिङ र प्रतिक्रियाको आधारमा गुगलले मेरो र तस्वीरको विश्वसनीयता संपरीक्षण गरेर मलाई लेभल सिक्ससहित ‘गुगल स्ट्रिट भ्यु ट्रस्टेड’ प्रमाणीकरण गरेको छ । गुगल स्ट्रिट भ्यूमा मेरा ४०४ वटा तस्वीरलाई हालसम्म १८ लाख भन्दा बढी भिजिटरले हेरिसकेका छन् ।

कसरी प्रयोग गर्नेः

गुगल म्यापमा स्ट्रिट भ्यू भन्ने अप्सन हुन्छ । यो अप्सनमा कुनै स्थानमा कुनै एउटा बिन्दुमा उभिएर फनक्क फन्को लगाउँदा आँखाले कैद गर्ने दृश्यलाई नै क्यामेराको सहाराले कैद गरिएको हुन्छ । हामीले एक फन्को लगाउँदा आफ्नो वरिपरिको दृश्य मात्र देख्न सक्ने भए पनि ३६० डिग्री भ्यूमा भने क्यामेराको लेन्सले भुइँदेखि आकाशसम्मको दृश्य कैद गर्छ ।

यस्तो तस्वीर खिच्न स्मार्टफोनमा गुगल स्ट्रिट भ्यू एप डाउनलोड गर्नुपर्छ । एप डाउनलोड गरिसकेपछि मोबाइलको क्यामेरालाई वृत्ताकारमा घुमाउँदै तस्वीर कैद गरिन्छ । व्यावसायिक फोटोग्राफरहरुले भने ३६० डिग्री क्यामेरालाई वाइफाईको माध्यमबाट आफ्नो मोबाइल फोनसँग कनेक्ट गरेर मोबाइल फोनबाटै घुमाउँदै ३६० डिग्रीमा दृश्य कैद गर्छन् ।

यस्तो क्यामेराको अगाडि र पछाडिका दुई वटा लेन्सले १८० डिग्री कोणमा अगाडि र पछाडिको तस्वीर कैद गर्छ । त्यो दृश्यलाई क्यामेराले नै जोडेर ३६० डिग्री कोणको दृश्यमा रुपान्तर गरिदिन्छ ।

सामान्य मोबाइलबाट पनि ३६० डिग्रीको तस्वीर खिच्न सकिन्छ । तर यो विशेष क्यामेराको तुलनामा अलि कठिन छ । मोबाइलबाट ३६० डिग्री कोणको फोटो तयार पार्न एकै ठाउँमा उभिएर कम्तीमा ४१ वटा फोटो खिच्नुपर्छ, भुइँदेखि आकाशसम्मको ।

स्ट्रिट भ्यूको लागि जोसुकैले पनि तस्वीर खिचेर गुगल म्यापमा अपलोड गर्न सक्छ । तपाईं घुमघाम गर्न सौखिन हुनुहुन्छ र गुगल म्याप मार्फत चिनिन चाहनुहुन्छ भने यसको सदुपयोग गर्न सक्नुहुन्छ । गुगलले सन् २००७ बाट यो सेवा शुरु गरेको हो ।

स्ट्रिट भ्यू कसको लागि ?

हामी कुनै नयाँ ठाउँ जान लाग्दा त्यो ठाउँबारे जानकारी लिन पहिले नै त्यहाँ पुगिसकेका साथीभाइ वा आफन्तलाई सोध्ने चलन पुरानै हो । यसैगरी गुगल म्यापले पनि हामी पुग्नुपर्ने जुनसुकै ठाउँको बारेमा हामीलाई पर्याप्त जानकारी दिन्छ । यसले त्यो ठाउँको बाटोघाटो, बस्ती, बजार, रहनसहन सबै समेटेको तस्वीरसहितको जानकारी दिलाउँछ । कुनै स्थान विशेषको वरपरका दृश्य कैद गरिएको तस्वीरमा त्यहाँ भएका सडक, पाटीपौवा, कार्यालय, प्रहरी चौकी, विद्यालय, मैदान, मनोरञ्जन केन्द्र, रेष्टुरेन्ट लगायतबारे पनि फोटोबाटै सजीव रूपमा जानकारी पाउन सकिन्छ ।

व्यवसाय प्रवर्द्धनमा प्रभावकारी

तपाईंले कुनै होटल, रेष्टुरेन्टमा ग्राहक निम्त्याउन चाहनुहुन्छ भने वेबसाइट, फेसबुक पेज लगायत माध्यमबाट विज्ञापन र प्रचारप्रसार गर्नुहुन्छ । वेबसाइट वा पेजमा भिजिट गर्नेहरुको संख्या सीमित हुनसक्छ । तर, स्ट्रिट भ्यूमा नियमित हजारौं र लाखौंको संख्यामा भिजिटर्सको ओइरो लाग्ने भएकाले छोटो समयमै तपाईंको व्यवसायको निःशुल्क प्रवद्र्धन हुन सक्छ ।

चोक, सडक आदि खुला ठाउँको मात्र नभएर कार्यालय, रेष्टुरेन्ट, सपिङ मल, विद्यालय, कलेज, रिक्रियशन सेन्टर लगायतका पनि भित्री दृश्यहरु स्ट्रिट भ्यूमा खिचेर अपलोड गर्न सकिने सुविधा उपलब्ध छ । आफ्नो व्यवसायको प्रवद्र्धन गर्न तपाईंले व्यावसायिक फोटोग्राफरको मद्दतबाट स्ट्रिट भ्यू फोटो खिच्न लगाएर गुगल म्यापका साथै वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा प्रयोग गर्न सक्नुहुन्छ ।


लेखकः
पर्सा जिल्लाको वीरगञ्जबाट हुनुहुन्छ । विभिन्न स्थानीय पत्रपत्रीकामा आवद्ध तथा  तथा रेडियो सामाग्री उत्पादन तथा प्रशारणका अनुभवी वहाँ कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो भने हाल वहाँ हिमाल खबर पत्रिकासँग आवद्ध हुनुहुन्छ ।


Loading comments...