दक्षिण एसियाका देशमा संक्रमण दर कम हुनुका संभावित कारणहरु


विश्वको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो प्रजातान्त्रिक देशहरुको समय समयमा तुलना हुन्छ, भारत विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश मानिन्छ यद्धपि भारतीय उपमहाद्धीपका देशहरु चाँही सर्वाधिक कमजोर, गरिब अनि कमजोर सामाजिक सुरक्षा र स्वास्थ संरचना भएका देशहरु मानिन्छ । यस वर्ष चीन र पश्चिमा देशहरुलाई कर्लप्पै पारेको कोरोना संक्रमणले तुलनात्मक रुपमा दक्षिण एसियाली देशहरुलाई कम असर गरेको भनिन थालिएको छ, यद्धपि यहाँ संक्रमणको कहर हुन नसक्ने भन्ने तथ्य चाँही म प्रमेमोट गर्न चाहन्न । भाइरसले देश र संरचना पक्का हेर्दैन तर पनि विगतका महिनाहरुमा हेर्दा जनवरी २१ मा पहिलो कोरोना संक्रमण केस अमेरिकामा देखिएको हो भने भारतमा जनवरी ३० मा पहिलो केस पाइयो, जनवरी २४ मा नेपालमा पनि पहिलो कोरोना संक्रमणको केस रिपोर्ट भएको हो । आज ३ महिनापछि अप्रिल २८ को कुरा गर्दा नेपालमा ५२ केसहरु पुष्टि भएर शून्य मृत्यु छ भने अमेरिकामा ८ लाखको हाराहारीमा अनि भारतमा १८ हजारको हाराहारीमा मात्र कोरोना केसहरु पाइएको छ । यो निकै ठूलो अन्तर हो, प्रारम्भिक अनुमानमा भारतमा अमेरिकामा भन्दा यसको कहर बढि हुने, नेपाल लगायत अन्य एसियाली देशहरु पूर्णत प्रभावित हुने पक्का थियो तर असर अहिलेसम्मका लागि उल्टो छ ।

अमेरिकाले कोरोना मृत्युको विश्वव्यापी प्रतिशतमा ३१ प्रतिशत हाराहारीमा ओगढेको छ, भारतको मृत्यु दर कूल विश्वभरिको मृत्युको केवल शून्य दशमलव ७५ प्रतिशत हो ।

अब भारत र अमेरिकाको जनसंख्या प्रतिशतको कुरा गरौं, विश्व जनसंख्यालाई अमेरिकाले ४ प्रतिशत योगदान दिएको छ भने भारतले १८ प्रतिशत , यस तथहरु हेर्दा भारतीय उपमहाद्धीपका देशहरुमा यस संक्रमण आशातित नफैलिएको र एउटा प्याराडक्स स्थापना गरेको स्पष्ट छ । आखिर किन होला त, आउनुहोस् आज यस विषयमा पनि कुरा गरौं ।

दक्षिण एसियाले विश्व जनसंख्याको २३ दशमलव ४ प्रतिशत योगदान गरेपनि कोरोना संक्रमणको केवल १ दशमलव २ प्रतिशत र कोरोना मृत्युको शून्य दशमलव ५ प्रतिशतमात्र भाग ओगटेको छ । तर भोलीका दिनमा संक्रमण यता नआउला या नबढ्ला भन्न चाँही सकिन्न यद्धपि अमेरिका, भारत र नेपालले पहिलो केस उस्तै उस्तै समयमा देखेका भएपनि अमेरिका र पश्चिमा देशहरुमा यस्को प्रभाव बढि छ ।
यसरी दक्षिण एसियाली देशहरुमा दैवीक शक्ति या विशेष सामथ्र्य भएर संक्रमण दर कम भएको त पक्का हैन तर यहाँ पश्चिमा देशहरुको तुलनामा टेस्ट गर्ने संयन्त्र अत्यन्त कम भएको र त्यसका आधारमा पोजिटिभ रिजल्ट र केसहरु पनि कम आएको संभावना हुन सक्दछ । जनसंख्याको असमानता, टेस्ट गर्ने संयन्त्रको न्यून उपलव्धता, स्वास्थ सामाग्री आयातमा व्याप्त भ्रष्टाचार अनि गुणस्तरको कमी जस्ता कारणहरुले कोरोना जाँच गर्ने संरचना नै सर्वत्र उपलव्ध नभएको तथ्य त जगजाहेर नै छ ।

अर्कोतर्फ यी देशहरुमा कडाईका रुपले लगाइएको लकडाउनको असरले पनि संक्रमण फैलिने संभावना कम भएको हुनसक्दछ ।
स्मरण गराउन चाहन्छु, म कुनै एपीडेमीयोलोजीस्ट या भाइरोलोजीस्ट हैन यद्धपि एउटा सामाजिक परिवृतिमा हुर्केको प्राणी भएकाले सामाजिक अवयव अनि संरचनाको कोरोना संक्रमणमा भएको समबन्ध मात्र केलाउन चाहेको हुँ ।

एउटा संभावित हाइपोथेसिस, बिसिजी खोप
बिसिजी खोपको रोगप्रतिरोधात्मक क्षमतामा भएको असरहरु क्षयरोग भन्दा माथिका संक्रमणहरु सम्म पुग्ने देखिन्छ, अधिकांश दक्षिण एसियाली देशहरुमा यस खोप अनिवार्य छ । आइवेरियन पेनीन्सुला देशहरु स्पेन र पोर्चुगलमा नै तुलना गर्दा स्पेनमा २० हजार ५०० मृत्यु भएको अवस्थामा पनि छिमेकी पोर्चुगलमा केवल ७०० मृत्यु भएको थियो । यो एउटा संयोग पनि हुनसक्दछ तर स्पेनमा अनिवार्य नभएको यो खोप पोर्चुगलमा अनिवार्य छ ।

अमेरिका र ईटालीमा पनि अनिवार्य बिसिजी खोप कार्यक्रम नभएको ल्यान्सेट स्वास्थ पत्रिकाले जनाएको पाएँ, विश्वभरिमा स्वास्थ शोधका लागि ल्यान्सेट अव्वल पत्रिका हो है ।

दक्षिण एसियाली देशहरुमा मान्छेहरु जीवनकाल भरि नै मलेरियाको संक्रमण संभाव्यतामा नै रहन्छन्, बिसिजीको कारणले क्षयरोग लगायत अन्य श्वाँसप्रश्वाँस संक्रमणबाट जोगिने भएका कारणले कोभिड १९ विरुद्ध पनि यहि खोप प्रभावशाली नभएको हैन ।

फ्रान्सका राष्ट्रपतिले भने झै कोरोना भाइरसको कुनै पासपोर्ट छैन, रोगले देश र देशवासी भन्दैन । दक्षिण एसियाली देशहरु कोरोना संक्रमण चेनमा अन्य देशहरु भन्दा बलियो देखिएका पक्कै हो, अबको दिनहरुमा संक्रमण चेन थाम्ने जिम्मा सबै देश अनि देशवासीहरुको हो । दक्षिण एसियाली कोभिड प्याराडक्समा थप अध्ययन जरुरी छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...