‘क्षुद्रग्रह १९९८ ओ.आर.२’ पृथ्वी नजिक आउने बारे NASO के भन्छ?


वैशाख १५, २०७७ । सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ.आर.२ सबन्धी समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको असरप्रति हाम्रो ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौं।

सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी (NASO)

प्राय: राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ/छैन तथा नाङ्गो आँखाले देख्न सकिने/निस्किने बारे स्पष्टरुपमा बताइएको नपाईएकाले नेपाली नागरिकको सुसुचित हुन पाउने हकको सम्मान गर्दै यो विज्ञप्ति जारी गर्दछौं। साथै यसै विज्ञप्ति मार्फत् अस्पष्ट रहेका विषय स्पष्ट पार्न चाहन्छौं। आशा छ मलाई यहाहरु सबैले शेयर गरी अनावश्यक त्रासबाट नेपाली जनतालाई मुक्त राख्ने हाम्रो प्रयासमा साथ दिनुहुनेछ।

अप्रिल २९ तारिख/वैशाख १७ गते के हुँदैछ?
यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ। पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाडा रहनेछ।

के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त?
यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम ‘५२७६८’ हो। कुनै पनि क्षुद्रग्रहलाई हामीले/खगोलवैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। यो क्षुद्रग्रहको अस्थायी नाम ‘१९९८ ओ. आर. २ हो भने स्थायी नाम’ ५२७६८’ हो। विगत् तीन दशकभन्दा बढि समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन। त्यसैले हाल कोहि पनि त्रसित हुनुपर्ने अवस्था होइन।

के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भईरहेको छ?
सन् २०१६ देखि हामीले नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीहरुले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाई सुकेको छ। उक्त क्षुद्रग्रह एस. ओ. एस. सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो। यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्।

के यो क्षुद्रग्रहलाई वैशाख १७ गते /अप्रिल २९ तारिखका दिन नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ?
हालको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ। सुरुमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो वेधशाला ले अप्रिल १८, २०२० मा लिएको रडार तस्विरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ। त्यसैले नजिक आउँदा पृथ्वी-चन्द्रमाको दुरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत् अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकोले नाङ्गो आँखाले यसलाई देख्न सकिदैन। यसलाई अबलोकन गर्न ठुलै खालको टेलिस्कोप आवश्यक पर्छ।

हामी आशा गर्छौं यी सूचनाहरु क्षुद्रग्रह पृथ्वी नजिक आउने कुरालाई लिएर हाम्रो समाजमा सृजना भएको त्रास कम गर्न सहयोगी हुनेछन्। साथै आगामी दिनमा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि सहि सूचना तथा सम्पूर्ण जानकारीका लागि हामीसँग जोडिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद्,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाईटी


लेखक भट्टराई ईण्टरनेसनल एष्ट्रोनोमिकल युनियनको राष्ट्रिय जनसम्पर्क संयोजक पनि हुनुहुन्छ ।


Loading comments...