नेपालका मालवीय : दीपक भट्टराई


इल्या दिदीसँगको सम्बन्धले तानेर ल्याउँदा भिनाजु सम्बोधनमा पर्नु भएको हो इञ्जिनियर दीपक भट्टराई ।

प्रारम्भमा हाम्रा लागि इल्या दिदी अक्षर शिरोमणि मदनमणि दीक्षितकी छोरी भनेर चिनिनु भएको थियो । गृहस्थ आश्रमको मूलभूत धर्म सम्हालिसकेर अलि ढिलैजसो प्रकाशनमा आउनु भए तापनि इल्या भट्टराईले शीघ्र नै नेपाली साहित्यको आख्यान र निबन्ध विधामा एउटा उचाइ प्राप्त गरिसक्नु भएको छ । त्यसैले अब नागरिकता र जीवनीको प्रारम्भमा बाहेक उहाँलाई मदनमणि माडसापकी छोरी नै भनेर चिनाइरहनु पर्दैन ।

इल्या भट्टराईसँग मेरो अर्को एउटा रमाइलो कुरा पनि छ; केही व्यक्तिहरूले इल्या दिदीलाई म भनेर कुरा गर्ने गरेको अर्को रोचक पाटो पनि हामीबीच घटेको छ । मलाई कहिल्यै कसैले पनि ‘इल्याजी’ भनेका छैनन्, तर उहाँलाई भने पटकपटक ‘इन्दिराजी’ भनेर धेरैले सम्बोधन गर्दा रहेछन् । यस कुराले उहाँलाई दिक्कै लाग्दो परिस्थिति सृजना गर्न खोजेछ । ‘पक्कै पनि हामी दुईवीचको केशको आकृति नै मिल्दोजल्दो हुनाले मानिसहरूले इन्दिरा र मलाई मिल्दोजुल्दो देखेको हुनुपर्छ’ भन्ने उहाँले निष्कर्ष निकाल्नु भएछ । त्यसपछि उहाँले मेरैजस्तो प्राकृतिक रूपले नै घुङ्ग्रिएको आफ्नो केश व्युटी पार्लरको विकशित प्रविधिको सहयोगले सीधा (Straight) समेत पार्नु भएको कुरा इल्या दिदीले नै मलाई सुनाउनु भएको हो । त्यसैले इल्या दिदी र म धेरै कुराले नजिक नहुँदा नहुँदै पनि अर्कै किसिमको नजिकपनमा पनि पुगेका छौँ ।

मेरा सहयात्री नरेन्द्रको अर्को एउटा खुबी के छ भने- उहाँ नाता गाँस्न सिपालु हुनुहुन्छ। त्यसैले इल्या दिदीका पतिदेव दीपक भट्टराईलाई नरेन्द्रले भिनाजुको नातो टाँस्नु भएको थियो ।

लेखकः इन्दिरा प्रसाई

नेपालमा नीजिक्षेत्रमा पनि प्राविधिक शिक्षाको विकास गर्नुपर्छ, गर्न सकिन्छ भनेर सुरुवातै गर्ने हाम्रो देशको ‘मदनमोहन मालवीय’ हुनुहुँदो रहेछ- दीपक भट्टराई । यस मुलुकमा व्यक्तिगत फाइदाका लागि, सातपुस्तालाई पुग्ने धन सङ्ग्रहका लागि शिक्षाको व्यवसाय गर्नेको सङ्ख्या त उल्लेख्यै भइसकेको छ ।

म एउटा नेपाली भाषाको सामान्य लेखकले दीपक भट्टराईलाई पनि नेपालमा थुप्रै इञ्जिनियर मध्येका एकजना इञ्जिनियर हुनुहुन्छ भन्ने जानकारी राखेकी थिएँ । भट्टराईले भक्तपुरतिर एउटा इञ्जिनियरिङ कलेज नै खोल्नुभएको भन्नेसम्म पनि मलाई जानकारी थियो । अनि त्रिमूर्ति निकेतनको स्थापना ताका अर्थात् २०६०-६१ तिर त्यस निकेतनमा आइपरेको प्राविधिक समस्या समाधानका लागि उहाँलाई हामीले गुहारेका पनि थियौँ । प्रथम पटक र अन्तिम पटक नै पनि हामीले उहाँबाट सहजै समस्या समाधानमा सहयोग पाएका पनि हौँ । त्यसै बेला एकपटक उहाँको महाराजगञ्जस्थित निवासमा पुगेर हामीले उहाँहरूको आत्मीय आतिथ्य पनि पाएका हौँ । निष्कर्षमा दीपक भिनाजु निकै असल मानिस भन्ने टुङ्गोमा पनि हामी पुगेका हौँ । तर त्यसपछि भने राजधानीको ‘मुसा दौड’मा लागेका हामीलाई दोहोर्याएर उहाँको साहचर्यमा पुग्ने फुर्सत् नै भएन भने पनि हुन्छ । हुनपनि अमेरिकाबाट त्यसबेला नेपाल आएकी सखी भारती गौतमले समेत हाम्रै घरबाट विरामी दीपक भिनाजुलाई भेट्न जान सकिन् । तर हामी नइलाई त्यो साइत जुरेन । मानवीय स्वार्थले वसिभूत पारेका हामी सामान्य मनुवाको चोला भिरेका मानिसले बेला वितिसकेपछि उहाँको सान्निध्यमा पुग्न नसकेको दुखेसो बाहेक के नै पो गर्न सकिने हो र ? एउटा असल, इमान्दार र राष्ट्रभक्त प्रबुद्ध नेपालीको साहचर्यबाट धेरै ज्ञान सिक्ने मौका हामीले चुकाएकै महसुस गर्नु सिवाय अब हामीसँग के नै पो विकल्प छ र ?
••
लकडाउनले अहिले हामी सबैको ‘मुसा दौड’ रोकिएको छ । मैले चाहिँ यस समयलाई उत्तम पुस्तकमा खामिएका असल कुराहरूसँग सान्निध्य गर्न मनग्गे समय लगाएर रमाएकी छु । त्यसै उपक्रममा इल्या दिदीले बढो प्रेमका साथ मलाई दिनु भएको दीपक भट्टराईद्वारा लेखिएको डिमाई साइजमा रहेको २७४ पृष्ठको ‘सकिन्छ गर्न, यही मुलुकमा गर्नुपर्छ’ पुस्तक प्राथमिकतामा पर्यो ।

इञ्जिनियर भएपछि पनि सकेसम्म मुलुक दोहन गरेर नीजि शुभलाभमा बितेका कैयौँ इञ्जिनियरहरू म चिन्दछु । डाक्टर र इञ्जिनियर भनेको पैसा छाप्ने मिसिन हुन् भनेर पछिल्लो समयमा बाबुआमा आफ्ना छोराछोरीलाई प्रथम त डाक्टर नत्र इञ्जिनीयर नै पढाउने होडबाजीमा पनि लागेको देखिएको छ ।

‘सकिन्छ गर्न, यही मुलुकमा गर्नुपर्छ’ नामक किताप पढेपछि मैले थाहा पाएँ- दीपक भट्टराई नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीको स्थापना र सुरु सञ्चालनमा अग्रणी हुँदै नेतृत्व प्रदान गरेका राष्ट्रका धरोहरै पो हुनुहुँदो रहेछ ।

नेपाल र नेपालीका बारेमा यति गहिरिएर सोच्ने अनि दार्शनिक भएर एकोहोरो चिन्तन मात्र गर्ने होइन आफ्नो सोचलाई बस्तुगत रूपमा उभ्याउन प्रयत्न गर्ने र अथक लगन र कठोर मिहेनत गरेर सफल नै हुने अद्वितीय प्रतिभाको नाउँ रहेछ- दीपक भट्टराई । नेपालमा नीजिक्षेत्रमा पनि प्राविधिक शिक्षाको विकास गर्नुपर्छ, गर्न सकिन्छ भनेर सुरुवातै गर्ने हाम्रो देशको ‘मदनमोहन मालवीय’ हुनुहुँदो रहेछ- दीपक भट्टराई । यस मुलुकमा व्यक्तिगत फाइदाका लागि, सातपुस्तालाई पुग्ने धन सङ्ग्रहका लागि शिक्षाको व्यवसाय गर्नेको सङ्ख्या त उल्लेख्यै भइसकेको छ । तर दीपक भट्टराईजस्ता शिक्षालाई सेवाका रूपमा स्थापना र सञ्चालन गर्न प्रयत्न गर्ने र सफलै हुने व्यक्ति मैले बिरलै भेटेकी छु । त्यसैले पनि मलाई दीपक भट्टराई थप स्तुत्य, श्रद्धेय र प्रेरक व्यक्तित्व लाग्यो ।

•’सधैँ गुन्डाराज चलाएर, सधैँ लुटराज चलाएर डाक्टर नियुक्ति, प्राध्यापक नियुक्ति पनि सधैँ झोले र भरौटेबाट मात्र गरेर एक दिन देश चल्दैन होला । यस्तो अवस्था रहिरहेमा जुन जनताले भोट दिएर त्यहाँ पुर्याएका छन् तिनैले बाटामा घिसारेर ‘छाताको टुप्पोले घोचीघोचीकन’ मार्नेछन् देश सञ्चालक नेताहरूलाई । यो चेत बिस्तारै आउँछ होला । ‘ (पृष्ठ : १५२ )

आफूलाई निको नहुने रोग लागेपछि रून, धुन वा गुनासामा लाग्ने होइन बरू आफ्नो थन्कोमन्कोमा लागेर क्यान्सरको उपचारक्रममै पनि दैनिक आठदेखि एघार घण्टासम्म आफ्नो काममा लाग्ने व्यक्तिको नाउँ रहेछ- दीपक भट्टराई ।

• “‘राम राज्य’बाट सुरु भएको यात्रा किष्टमा पुग्दा ‘रावण राज्य’मा परिणत भइसकेको रहेछ । सबैभन्दा इमान्दार र सबैभन्दा जनउत्तरदायी भनी दावी गर्ने पार्टी र तिनका नेता नै बढीबढाउ गर्दा रहेछन् पार्टीलाई चन्दा माग्न । य‍ो अनिवार्य चन्दा देखाउन पनि नमिल्ने, खर्च लेख्न पनि नमिल्ने तर लागतमा जोड्नुपर्ने । एउटा पार्टीलाई दिएपछि अरू पार्टी पनि पछि लाग्ने । गोप्य हुन नसक्ने । भारतमा पाकेटमाराले ग्राहक बेच्छन् रे अर्को पाकेटमारालाई उसको क्षेत्र प्रवेश गरेपछि । सके त्यस्तै होला । एउटा पार्टीले चन्दा पाएपछि अरू पार्टीलाई पठाइदिने ।”

“भित्री गोप्य कोठामा लगेर ५० लाख गन्ने काम भयो । गन्न नसकेसम्म हामी बाहिर नेताज्यूहरूको प्रसन्न मुहार हेरेर बसिराख्यौँ, खिन्न मन र यिनले गर्न लागेको, गर्न खोजेको र गर्न सक्ने देश विकासको तस्बिर मस्तिष्कमा लिएर ।

…..आखिर काम भएन ‘…. यी सबै बुच्चर हुन् टिक्न दिँदैनन् । यो माया मार्नु नै उत्तम ।’ (पृष्ठ : १५४)

दीपक भट्टराईले आशा र भरोशा गर्नुभएका नयाँपुस्ताले उहाँद्वारा निर्दिष्ट पथमा हिँडेर भट्टराईलाई अमरत्व दिन सकिने एउटा पाटो भने अझै हामीसँगै छ । यहाँनेर म दीपक भट्टराईबाटै सकारात्मक सोच सापटी लिएर नेपालका युवापुस्ताप्रति म आस्थावान हुन्छु ।

‘के दुई-तीन वर्ष तोकिएको ग्रामीण भेगमा सेवा नगरेसम्म काउन्सिलले स्थायी लाइसेन्स नदिने गर्न सकिँदैन? पब्लिक सिस्टम र प्राइभेटमा पूर्ण छात्रवृत्तिमा पढेका पाँच सय डाक्टर बर्सेनी कहाँ जान्छन्? पिउनले औषधि दिनुपर्ने र इन्जेक्सन लगाउनुपर्ने अवस्थाबाट के साँच्चै मुक्ति पाउन सकिन्न? मसँग यसको उत्तर छैन । यो पनि उत्पादन हुने सबै डाक्टर माफिया यन्त्रका पार्टपुर्जा भएर हो कि?’ (पृष्ठ: १५८)

यसप्रकारका जीवित वाक्यहरूले दीपक भट्टराईका पुस्तकका पृष्ठपृष्ठमा सञ्जिविनी घोलेको छ । यो पुस्तक एउटा सक्षम व्यक्ति इमान्दार हुँदा उसले राष्ट्र हितका लागि कति काम गर्न सक्छ भन्ने दस्तावेजले भरिएको छ ।

इञ्जिनियर भएपछि पनि सकेसम्म मुलुक दोहन गरेर नीजि शुभलाभमा बितेका कैयौँ इञ्जिनियरहरू म चिन्दछु । डाक्टर र इञ्जिनियर भनेको पैसा छाप्ने मिसिन हुन् भनेर पछिल्लो समयमा बाबुआमा आफ्ना छोराछोरीलाई प्रथम त डाक्टर नत्र इञ्जिनीयर नै पढाउने होडबाजीमा पनि लागेको देखिएको छ । बाउआमाले छोरीको बिहे गर्ने केटोका लागि प्राथमिकतामा पनि यिनै पैसा छाप्नेहरू नै पर्थे र अझै पर्दैछन् । कालोबजारीको पैसा सच्याउनेले दिनदिनै डाक्टरी पढ्ने रेट अथाह पारेका छन् र पनि घर खेतै धितो बन्धक राखेर पैसा छाप्न डाक्टरी पढाउनेको हाम्रो समाजमा खाँचो छैन । बरा ती जवर्जस्ती पढेका डाक्टरहरूको निर्मिति र नियति डाक्टरभन्दा बढी कसाहीको स्वरूपमा स्थापित सत्य पनि नेपाली समाज र समस्त राष्ट्रले नै भोग्दै आएको सत्य हो ।

एउटा कुरा सत्य हो र सबैले स्विकार पनि गर्नुपर्दछ । त्यो के हो भने- मुलुकको विकासका लागि प्राविधिक शिक्षाको ठूलो महत्त्व हुनेगर्छ । तर यति हुँदाहुँदै पनि यदि त्यस्ता प्राविधिक क्षेत्रका उत्पादनकर्ता नै विकृतिमूलक भएपछि तिनका उत्पादन त विकृत हुने भइगए । अनि त्यस्ता विकृत उत्पादनले मुलुकको विकास होइन विनास गर्छ । जुन अहिले नै हाम्रो समाजमा देखा परेकै छ ।

समग्र पुस्तक पढिसकेपछि मैले दीपक भट्टराईलाई त्यहाँ यस्तो भेटेँ:
• देशभक्त सचेत नागरिकको नाउँ रहेछ- दीपक भट्टराई :
– यस पुस्तकमा यत्रतत्र राष्ट्रभक्तिका फोस्रा गीत छैनन् । यसमा त राष्ट्र निर्माणका लागि बनेका सजीव योजना र डटेका बलिया पाखुरीका गाथा छन् । हरेक समय देश र जनताको सुख, समृद्धिका लागि चिन्तनशील कुनै दलको भाटगिरीमा नलागेका सच्चा राजनेता नै हुनुहुँदो रहेछ- दीपक भट्टराई ।

• अत्यन्त सकारात्मक व्यक्तिको नाउँ रहेछ दीपक भट्टराई :
– पुस्तकको नाउँले नै सकारात्मकताको सन्देश छताछुल्ल पारेको छ । हरेक विषय र बस्तुलाई सकारात्मक दृष्टिले हेर्न सिकाउने यो पुस्तक गुरु बाबु रहेछ । आफ्नै अहित गर्नेप्रति पनि कति शालिनतापूर्वक सम्मानित विरोध गर्न यस पुस्तकले सिकाउने रहेछ । आफूलाई लागेको क्यान्सर रोगलाई समेत धन्यवाद दिन पछि नपर्ने महामनाको नाउँ रहेछ- दीपक भट्टराई ।

• पौरखी पुरुषको नाउँ रहेछ दीपक भट्टराई :
– तत्कालीन विकट समयमा पनि नेपालका गाउँगाउँमा पुग्नु र त्यहीँको माटोमा घुलमिल गरेर आफ्नो लक्ष्यमा एक निष्ठ रहन सक्नु दीपक भट्टराईको अर्को विशेषता रहेछ । सानामा पढाईमा अब्बल नरहेर पनि राष्ट्रका लागि यत्ति ठूला, गहन र पौरखी प्रस्तुति गर्न सकिँदोरहेछ भन्ने यो पुस्तक उदाहरण हो ।

• भाग्यमानी व्यक्तिको नाउँ रहेछ दीपक भट्टराई :
– कुनै पनि व्यक्ति असल, इमान्दार, राष्ट्रभक्त, कर्मठ हुँदाहुँदै पनि सफल नभएको पनि भेटिन्छ । जसको कारकतत्वका रूपमा त्यस्ता व्यक्तिको भाग्य पनि प्रबल हुनुपर्छ भन्ने मान्यतामा म पुगेकी छु । हुनत दीपक भट्टराईले यस पुस्तकमा पनि भाग्यबारे उल्लेख गर्नु भएको छ । त्यसैले दीपक भट्टराईलाई भाग्यले पनि साथ दिएको हो भन्ने मेरो पनि ठहर छ । बौद्धिक वंशवृक्षको हाँगो हुन पाउनु, ममत्वले पूर्ण वाल्यकाल विताउन पाउनु, बौद्धिक पिताको कर्मठ छहारीमा हुर्किन पाउनु, सुसंस्कृत नाताकुटुम्ब पाउनु, शिक्षित,बुद्धि र विवेकले भरिपूर्ण, संवेदनशील, व्यवहारकुशल, सुन्दर अनि मायालु विदुषी पत्नीसँगको सहयात्रा हुनु, आज्ञाकारी, विवेकशील र तेजश्वी सन्तान प्राप्त हुनु, सहयोगी र सदाचारी इष्टमित्र र साथीसँगी पाउनु यी सबै कुरा एकमुष्ठ रूपमा कुनै पनि मानिसले पाउन दुर्लभ हुन्छ । त्यसैले म दीपक भट्टराईलाई भाग्यमानीको श्रीपेच पनि पहिर्याउँछु । तर भाग्य छ भनेर डोकोमा दूध दुहने व्यक्ति होइन- दीपक भट्टराई । आफूलाई निको नहुने रोग लागेपछि रून, धुन वा गुनासामा लाग्ने होइन बरू आफ्नो थन्कोमन्कोमा लागेर क्यान्सरको उपचारक्रममै पनि दैनिक आठदेखि एघार घण्टासम्म आफ्नो काममा लाग्ने व्यक्तिको नाउँ रहेछ- दीपक भट्टराई ।अनि त्यस क्यान्सरले गाजेको जटिल अवस्थामा पनि आफ्ना कृयाकलापको दस्तावेज अक्षरमा खामेर मुलुकका लागि उपहार स्वरूप यो पुस्तक लेख्नु पनि दीपक भट्टराईको अर्को महत्वपूर्ण विशेषता हो ।

पठनीय रहेछ दीपक भट्टराईको पुस्तक:
– प्रत्येक डाक्टर र डाक्टर हुन चाहने युवा, इञ्जिनियर र इञ्जिनियर हुन चाहने युवा लगायत जुनसुकै युवाले ‘सकिन्छ गर्न, यही मुलुकमा गर्नुपर्छ’ भन्ने यो पुस्तकलाई एकपटक पढ्नै पर्छ । आफूलाई राजनीतिज्ञ भनेर नाक घोक्रयाउने ‘दलाल राजनीति’का पृष्ठपोषक र तिनका उत्तराधिकारीले पनि यो पुस्तक पढे राम्रै हुन्थ्यो । यो कृति पढेपछि कतै तिनको मर्न लागेको आत्मा पनि जाग्ने थियो कि भन्ने मधुरो आशा ममा जागेको छ । राजनैतिक नेतृत्ववर्गले यस पुस्तकलाई गीता जसरी घोक्ने हो भने र यसले दिएको सकारात्मक प्रेरणा र उक्त प्रेरणालाई व्यवहारमा उतार्न सक्ने हो भने वास्तवमै नेपाल बन्छ ।

नेपाली माटोमा आफ्ना विशिष्ठ सोच र कर्मठ पाखुरीका वटवृक्षहरू रोपेर र हुर्काएर यस धराबाट विदा हुनुभयो- दीपक भट्टराई । अझै बीस बर्ष उहाँ यस धरामा रहँदा नेपाली माटो नै थप धन्य हुने थियो । पृथ्वीको नियमै विचित्रको छ । गुणकारी वृक्षहरूको आयु न्यून देखिन्छ र विषाक्त झार वा वृक्षहरू अजम्बरी झैँ हुने गर्छन् । शायद दीपक भट्टराईका सन्दर्भमा पनि यस्तै भयो ।

अब दीपक भट्टराईले आशा र भरोशा गर्नुभएका नयाँपुस्ताले उहाँद्वारा निर्दिष्ट पथमा हिँडेर भट्टराईलाई अमरत्व दिन सकिने एउटा पाटो भने अझै हामीसँगै छ । यहाँनेर म दीपक भट्टराईबाटै सकारात्मक सोच सापटी लिएर नेपालका युवापुस्ताप्रति म आस्थावान हुन्छु ।

निष्कर्ष : यस राष्ट्रमा केही गर्न सकिँदैन भन्नेले यो पुस्तक अनिवार्य पढ्नु पर्छ र यसबाट प्रेरणा लिनु पर्छ ।

© इन्दिरा प्रसाई


Loading comments...