मनोरम पोखरामा मञ्जुल खट्टर र रिस्ता बस्नेतको ’साथिया तेरे बिना’


पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टरसँग भिडियोमा नेपाली अभिनेत्री रिस्ता बस्नेत देखिएकी छिन् । गत फागुनमा नेपालको पोखरामा रहेको विभिन्न मनोरम दृश्यमा छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ’साथिया तेरे बिना’ गीतको भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ । हिन्दी भाषाकै गीतको छायाँकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे ।

छायाँकन सकिएपछी नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यहिँ गीतको छायाँकनको लागि पहिलो पटक नेपाल आएका थिए । उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् ।

टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा उत्तिकै व्यस्त छन् ।

गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शक्यले निर्देशन गरेका छन् । तात्कालिन समयमा नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाललाई टेवा पुग्ने उदेश्यले भिडियो तयार गरिएको सम्राटले बताए ।

’हामीले नेपालकै सुन्दरनगरी पोखराको मनोरम दृश्यलाई समेटेका छौ । हामीले यो भिडियो मार्फत भिजिट नेपाललाई टेवा पुगोस भन्ने चाहेका थियौ । पछिल्लो समय कोरोना भाइरसको कारण त्यो रद्द भयो तर भिडियोले नेपालको सुन्दरता धेरै दर्शक समक्ष पुर्याउछ’ सम्राटले भने ।

फिल्म ‘यात्रा’ मार्फत निर्देशनमा आएका सम्राटको यो पहिलो भिडियो निर्देशन हो । भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, कमल राईको नृत्य निर्देशन, अर्जुन जिसीको सम्पादन , रेनिश फागोको कलर करेक्सन , वसन्त घर्ति मगरको भीएफएफ्क्स , यादव पौडेलको प्रोडक्सन र सुरेश न्यौपाने सहायक निर्देशक रहेका छन् ।


Loading comments...