केतुकी को खेती र कृषि उधमशिलता


हामीहरु सानो छँदा स्कुलमा छुट्टी को दिन गाइ वस्तु चराउन जंगल जानु पर्दथ्यो । गाइ वस्तु लिएर जंगल जाने बाटोमा खरबारी हरु को बारमा केतुकिहरु प्रशस्त देख्न पाइन्थ्यो । यो बनस्पतिको नाम ठाउँ अनुसार फरक फरक होला । कहीं यसलाई हात्तिबार पनि भनिन्छ । जब लकडाउन को कारण घरमै बस्दा  विभिन्न खालका बिचारहरु बिकसित हुन्छन । त्यस्तै लकडाउनकै समयमा केहि दिन अगाडी मैले सानो हुँदा देखेका ति केतुकी हरुको बारेमा सोचिरहेको थिएँ । यस विषय मा मैले मेरो बालसखा हरु संग पनि त्यो समयमा केतुकी लाई हामीले कसरी खेलौना को रुपमा प्रयोग गरि खेल्दथ्यों भन्ने बारेमा चर्चा गर्नु का साथै अरु  केहि नजिकका साथिहरुसंग पनि कुरा  गरेको थिएँ । त्यतिबेला केतुकी को पातलाई करिब ३ महिना जति पानीमा राख्ने अनि पातहरु कुहिसके पछि रेशा निकाल्ने काम गरिन्थ्यो । त्यति बेला त्यो काम व्यवशायिक उद्ध्येश्य को लागि नभई गाइवस्तु बाँधने दाम्ला हरु बनाउनको लागि मात्र गर्ने गरिन्थ्यो । प्रविधि र प्राविधिक ज्ञान को अभाव, ब्यबसायिक ज्ञानको अभाव, बजार सम्मको पहुँचको अभाव लगायत विभिन्न कारणले त्यो बेलामा यसलाई उधम र ब्यबसाय बनाउन सकिएन होला । बृहत परिमाणमा केतुकी को खेति गर्ने, स्थानीय रुपमा यसको प्रशोधन र अन्तिम वस्तुको उत्पादन गर्नाले के यसलाई  व्यवसायीकरण गर्न सकिएला ? यो उधोगमा ग्रामिण युवाहरुलाई जोड्न सकिएला ? अर्थतन्त्रसंग  नजोडिएका ग्रामिण महिलाहरुलाई यो उधमशील अभियान मा संलग्न गर्न सकिएला ? यस्तै विचारहरुले मलाई केतुकी खेति को बारेमा जान्न केहि जानकारी लिन प्रेरित गर्यो ।  बिगत केहिदिन देखि केतुकी को खेति, प्रशोधन र अन्तिम वस्तु उत्पादन संग सम्बन्धित विभिन्न लेख, रचना, अनुसन्धान पेपरहरु आदिको अध्ययन गरि मैले बुझेका केहि कुराहरु सबै संग यो लेख मार्फत साझा गर्दै छु ।

गोपाल घिमिरे

केतुकी आफैमा बहु उपयोगी बनस्पति भएको हुनाले यसबाट धेरै वस्तुहरु उत्पादन गर्न सकिन्छ। यो  बनस्पति को रुपमा धेरै औषधीय गुण भएको बनस्पति हो यसको सबै भागलाई  कुनै  कुनै रुपमा प्रयोगमा ल्याउन सकिन्छ । जस्तै मेक्सिको मा टकिला जुन संसारको पेय पदार्थ को बजारमा अत्यन्तै महँगोमा  बिक्रि हुन्छ । विभिन्न आयुर्वेदिक औषधिको रुपमा प्रयोग गरिन्छ ।  यसको प्रयोग जुसको रुपमा पनि हुने गरेको पाइन्छ । केतुकी को रेशा बाट विभिन्न प्रकार का वस्तु हरु जस्तै कार्पेट, झोलाहरु, नेट, डोर्मेट आदि उत्पादन गर्न सकिन्छ । यसलाई अंग्रेजीमा  (Agave Americana ) अगावे अमेरिकाना, ( Century Plant ) सेन्चुरी प्लान्ट, (Sisal Plant) सिसाल प्लान्ट, ( American Aloe) अमेरिकन एलो आदि भनिछ । यो बनस्पति को मुलघर दक्षिण अमेरिकी देशहरु भनिन्छ । यसको विभिन्न प्रजाति हरु हुन्छ। हाम्रो देशको हावापानी, जमिन को सतह, माटोको संरचना आदि कुराहरुमा ज्यादै विविधता छ । कुनै भूभागको माटो खाधान्न उत्पादनको लागि उपयुक्त छ भने कुनै भूभाग जडिबुटीको लागि उपयुक्त छ। खासगरी केतुकी उत्पादनको लागि सुख्खा जमिन, बालुवा मिश्रित माटो वा अरु खेति गर्न उपयुक्त नहुने माटोमा हुन्छ । त्यसैले हाम्रो देशको पनि पहाडी र सुख्खा भूभाग छ त्यस्तो जमिन केतुकी खेतीको लागि उपयोगी हुन सक्छ । केतुकी को उत्पादन यसबाट उत्पादित बस्तुको  उपलब्धताको आधारमा यसको सबैभन्दा धेरै उत्पादन ब्राजिल, मेक्सिको र अन्य पुर्बी अफ्रिकन देशहरुमा पाइन्छ ।

के नेपालमा केतुकी को व्यवशायिक खेति गर्न सकिन्छ ?

हामी संग रहेको कुल जमिन मध्ये केवल करिब २१ प्रतिशत जमिन मात्र खेतीयोग्य जमिन छ त्यस मध्ये पनि करिब ४० प्रतिशत जमिनमा मात्र सिंचाई सुबिधा उपलब्ध छ । करिब ३० प्रतिशत जंगल क्षेत्र बाहेकको ३० प्रतिशत बाँकि जमिन अहिले पनि बिना कुनै उत्पादन खेर गैरहेको छ ।

त्यस्तो कुनै जमिन हुदैन जहाँ केहीको पनि खेति नहोस । यदि हामीले के हुन सक्छ भनेर खोजि गरेनौ भने खोजि र अनुसन्धान नगरुन्जेल सम्म मात्रै त्यो जमिन बाँझो हुन्छ । केतुकी को खेति त्यस्तो जमिनमा हुन्छ जहाँ अरु खेति गर्न उपयुक्त हुदैन । बारी हरु जहाँ मानिसलाई खेति गर्न असुविधा छ । जहाँ जमिन बाँझो छ जमिनको मालिकहरु अन्तै बस्छन । अथवा कृषि उधम गर्न चाहने पक्का उधमिलाई सार्बजनिक चरण जमिन जहाँ केतुकी को खेति गर्न उपयुक्त छ । यस्ता जमिनहरु आजभोली हाम्रो देशमा बिशेष गरेर ग्रामिण क्षेत्र मा प्रशस्त पाइन्छन । यस्तो अनुत्पादक जमिनहरूमा केतुकी खेति गर्न सकिन्छ । जमिनको उपलब्धता उधमिहरुको लागि एउटा अत्यन्तै ठुलो चुनौती को बिषय हो । ३ वटै तहका सरकारले जमिन उपलब्ध गराउने बिषय लाई गम्भीर र निर्णय लिंदा कठोर हुनु जरुरि छ । उधमिहरुलाई जमिन जसरि पनि उपलब्ध गराउनु पर्छ ।यदि तपाइले लगभग २० रोपनी जमिनमा केतुकी को खेति लगाउनु भयो  भने ३०० टन पात प्रति बर्ष उत्पादन हुन्छ जसबाट ६ टन रेशा उत्पादन हुन्छ ।  केतुकी को आयु ८ बर्ष देखि ३० बर्ष सम्म हुने हुनाले एक पटक हामीले लगाई सके पछि यसबाट धेरै बर्षसम्म आम्दानी लिन सकिन्छ । केतुकी लाई अरु खेतीलाई जस्तो मलिलो खेतीयोग्य जमिन पनि नचाहिने हुनाले  र  धेरै सम्भार गर्नु नपर्ने हुनाले एकपटक लगाई सके पछि संगै अरु काम पनि गर्नु सकिन्छ । हाम्रो देशको कुल भूभागको ६८ प्रतिशत जमिन पहाडी भएकोले,  विशेष गरि सिंचाई सुबिधा नभएका पहाडी भेगको जमिनलाई केतुकी खेति गर्नको लागि पकेट क्षेत्र बनाउन सकिन्छ।

केतुकी खेतीलाई कसरि उद्योग संग जोड्ने ?

हामीले कृषि कर्म र किसानको हितमा धेरै कुरा  गर्छौ कृषि प्रति नेतृत्वको  सकारात्मक भाबना पनि छ तर कृषिलाई उद्योग संग कसरि जोड्ने त्यो कडी बनाउने कुरामा चुकेका छौ ।हामीले उत्पादन गरेको  कृषि कच्चा पदार्थ सस्तो  मुल्यमा  बेच्ने र महँगो मुल्यमा कृषिजन्य अन्तिम वस्तु खरिद गर्ने बानि नै बनिसकेको छ । जब सम्म हामीले हाम्रोमा उत्पादित कृषि कच्चा पदार्थलाई हामीले आफै प्रशोधन र अन्तिम बस्तु उत्पादन गर्दैनौ । तब सम्म हामीले चाहेको किसानको सम्पन्नता र कृषि क्षेत्रको उन्नत विकास कल्पना गर्न सक्दैनौ ।केतुकी खेतिलाई उद्योग संग जोडनको  लागि केतुकी को पात बाट रेशा निकाल्ने मेशिन किसान हरुको एउटा समुहलाई उपलब्ध गराउनु पर्दछ । जसले गर्दा किसान ले सस्तो मुल्य मा केतुकी को पात कुन ब्यापारीलाई  बेच्ने होला भनेर चिन्ता लिनु पर्दैन  ।  आफ्नो समुहमा आफैले चाहेको समयमा प्रशोधन गर्न सक्छन  ।  यदि किसान ले प्रशोधित रेशालाई  बजारमा बेच्दा लाभ हुने भयो भने बेच्छन होइन भने  अन्तिम वस्तु उत्पादन गर्ने मेशिन, रोप बनाउने मेशिन वा कार्पेट बनाउने मेशिन उपलब्ध गराउनु पर्दछ । अन्तिम वस्तु उत्पादन गर्न किसानहरु लाई उत्प्रेरित गर्नु पर्दछ । मेशिन, प्राविधिक ज्ञान, लगानी र बजार राज्यले ग्यारेन्टी गर्नु पर्दछ चाहे अनुदानमा होस् वा सस्तो ब्याजदरको ऋण उपलब्ध गराएर पनि किन नहोस् ।

केतुकीको रेशा बाट उत्पादित वस्तुले  बजार पाउछ त ?

अहिले अर्को सबैभन्दा महत्वपुर्ण बिषय नै कृषि जन्य वस्तु को उचित मूल्य निर्धारण र बजारीकरण हो । दैनिक हामीले समाचारहरु मा हेर्न र सुन्न पाउछौ कि यति परिमाणमा दुध पोखियो, यति परिमाण मा टमाटर नष्ट गरियो आदि आदि । यो समाचार बन्नुको मुख्य कारण उचित बजारीकरण नहुनु हो वा उपयुक्त तरिकाले बजार व्यस्थापन नगरिनु हो । आज लकडाउन भएको एक महिना भयो स्वदेशी  किसानको उत्पादन बजारसम्म गएको छैन तर भारतीय तरकारी उपलब्ध छ । यस्तो कुराहरुलाई ब्यबस्थित गर्नु सबैभन्दा चुनौतिपूर्ण र महत्वपुर्ण छ ।

केतुकी को रेशा बाट बनेको वस्तुहरुको माग संसार भरि नै  उच्च छ किन भने प्राकृतिक रेशा बाट उत्पादित बस्तु मानवीय स्वास्थ्यलाई  र वातावारणलाई पनि नकारात्मक हानी गर्दैन । केतुकी को रेशा बाट धेरै प्रकारका बस्तुहरु हात बाट पनि बनाउन सकिने हुनाले स्थानीय माग अनुसार बनाउन सकिन्छ । जस्तै विभिन्न प्रकारका झोलाहरु, कार्पेटहरु, नेट, लगाउने कपडा हरु आदि आदि । त्यसको साथै उधोग बाणिज्य महासंघ ले समय समय मा हातले बनाइएका वस्तुहरु को प्रदर्शनी र प्रवर्धन गर्ने काम गर्दछ । स्वदेशमा खपत नभए बिदेशमा निर्यात गर्नकोलागी सरकारी तथा गैर सरकारी एजेन्सी हरुले पनि महत्वपुर्ण सहयोग गर्दछन । त्यसैले केतुकी बाट उत्पादित वस्तु को  बिक्रि वितरण हुने बजार को प्रबृति हेर्दा यसको आपूर्ति भन्दा माग उच्च छ । उच्च गुणस्तरीय वस्तु, मध्यम गुणस्तरिय वस्तु र न्यून स्तरिय वस्तु गरि उत्पादन र बजारीकरण गर्दा बजारमा  वस्तु हरुले उचित मूल्य प्राप्त गर्दछन ।

सरकारको भूमिका के हुन्छ त ?

जुन देशको सरकार पनि त्यो देशका जनता को अभिभावक नै हुन्छ । कुनै पनि नवप्रवार्धनात्मक उधोग ब्यापारमा सरकारको ठुलो भूमिका र लगानी हुन्छ । केतुकी खेति र केतुकी संग सम्बन्धित वस्तुको उत्पादन गर्नको लागिअध्ययन र अनुसन्धान गर्नु र केहि क्षेत्रमा नमुना उत्पादन गर्ने काम मा सरकार ले महत्वपुर्ण भूमिका खेल्नु पर्दछ र आवश्यक परेको बेलामा जोखिम पनि लिन सक्नु पर्दछ । उत्पादित वस्तुको बजारीकरण को लागि उपयुक्त बजार पत्ता लगाउनु जसले हाम्रो किसान लाई लाभ प्राप्त होस् । त्यस्तो काममा पनि सरकारले सहजीकरण गरिदिनु पर्दछ ताकी किसानहरु लाइ क्षति नपुगोस । आजभोली हाम्रो समाज विकृत भएको छ ।राता रात पैसा कमाउनु परेको छ । छिटो पैसा  कमाउने जुनुन ले मानिसलाई अधर्य बनाउछ । यस्तो खालको सोंचमा परिवर्तन ल्याउन को लागि आर्थिक, प्राविधिक वा अन्य ज्ञानको साथै उप्रेरित गर्ने खालका,सोंचमा सकारात्मक परिवर्तन आउने खालका तालिम हरु संचालन गर्नुपर्छ । जसले गर्दा हाम्रो सक्रिय युवा जनशक्ति मा सकारात्मक सोंचको विकास हुनुका साथै आफ्नो देशमा उधमी बन्ने भावना को विकास हुन्छ । कर्म प्रति सम्मान गर्ने बानीको विकास हुन्छ ।

अन्त्यमा

उधमी आफैमा सजिलो बाटो होइन जसले उच्च जोखिम मोल्न सक्छ, जो संग नवप्रवर्धनात्मक धारणा छ साथै भरपुर सृजनशीलता छ त्यस्तो व्यक्ति ले गर्ने कर्म लाई उधमशिलता भनिन्छ । यस्तो जोखिममा साथ दिनको लागि सरकार तैयार हुनु पर्दछ । केतुकी संग सम्बन्धित उधमशिलता ले आर्थिक उपार्जन मात्रै हुने छैन यसले रोजगारी सिर्जना गर्ने छ । यो सिर्जनाले ग्रामिण महिला हरुलाई उत्पादन संग जोड्न सकिने छ । ग्रामिण जनतलाई आर्थिक मूल प्रवाहमा सामेल गर्न सकिन्छ । सम्बन्धित युवाहरुलाई उधमी तालिम प्रदान गर्ने र केतुकी खेति देखि उधमी बन्ने सम्मको अभियान मा सरकारले बिशेष पहल गर्नु पर्दछ । यो खेति देखि उधोग सम्मको सबै कानुनी औपचारिकता हरु एकद्वार प्रणाली मार्फत हुनु पर्दछ । अनि मात्र देशको ओत खोजेर फर्केका युवाहरुले हाम्रो पनि अभिभावक छ भनेर महशुस गर्ने छन् गर्व गर्नेछन र भन्ने छन् नेपाल सरकार जिन्दाबाद ।

गोपाल घिमिरे


Loading comments...