
कैलाश तिर्थाटनका लागि यो कस्तो पापः लिपुलेकका नाममा
अर्काको देशमा अनाधिकृत बाटो बनाएर, एकतर्फि निर्णय गरेर अनि नेपाली मनलाई चित्त दुखाएर अन्तत भारतीय पक्षले कैलाश तिर्थाटनका लागि सलपुलेकबाट बाटो बनाएरै छाडेको छ । लकडाउनमा विश्व शून्यतामा रहँदा असभ्य तर शान्त रुपमा बनाइएको त्यस बाटोलाई प्रयोग गरि कैलाश तिर्थाटनमा जाँदा पुण्य हुनेछ या पाप, भावी दिनले बताउनेछ ।
लिपुलेक प्रयोग गरेर बाटो नबनाँउदा ५ दिनको मोटरबाटो अनि २ दिनको पदयात्रामा मात्र पुगिने कैलाश अब लिपुलेकमा नेपाली भूमि मिचेपछि केवल ३ दिनको मोटरबाटो यात्रामा पुगिने भएको छ । रक्षा मन्त्री राजनाथ सिंहले यो बाटोको उद्धघाटन गरिरहँदा भारतीय पक्षमा उत्साह देखिएको होला तर विश्वले यो बुुझ्न जरुरी छ कि त्यो उत्साहको जरा कपट र षडयन्त्रमा अल्झिएको छ । यस बाटोले सुमन्द्र सतहभन्दा १७ हजार फिट माथि सम्मको स्थानमा लैजान्छ, कैलाशलाई नजिक पार्छ तर भारतीय सरकार र शाषकप्रतिको नेपालीहरुको सेन्टिमेन्टलाई सर्लक्क डुबाएको छ ।
नरेन्द्र मोदीको सरकारलाई हार्दिक बधाई तर यो बधाईको औचित्य त्यसबेला मात्र पूर्ण हुनेछ जब नेपालले आफ्नो भूमि फिर्ता पाउनेछ । के अब यस विश्वमा साना देशहरुको औचित्य र आत्मसम्मान अनि स्वाभिमान सकिएकै हो? कैलाश सरोवर त नजिक भयो होला तर पुशपतिनाथको देशलाई यो कुरा चित्त परेको छैन ।
लाइभमाण्डु