मेरो नेपाल प्रहरी कुट्ने विदेशीलाई सजाय के? (ब्लग)


मलाई एउटा प्रश्नले अझै कुनै जवाफ पाएन । कुनै किसिमले चित्त बुझ्न सकेन की मेरो नेपाल प्रहरी कुट्ने विदेशीलाई सजाय के र कुट्नेले यस्तो हिम्मत कताबाट पायो?

सरकार र ब्यवस्था कमजोर भएको देशका नागरीकहरु हेपिन्छन्, बिभिन्न बहानामा । नेपालीहरुको हविगत पनि यस्तै छ, नेपाली हरियो पासपोर्ट बोकेर बिदेश जाँदा आँउदा राष्ट्रियताकै आधारमा हुने व्यक्त र अव्यक्त बिभेद, बैदेशिक कामदारका रुपमा नेपालीहरु बिदेशमा रहँदा नेपाली नै भएका कारणले अरु देशको कामदार भन्दा नेपाली कामदारहरु माथि हुने बिभेद, हिंसा, हत्या, लुटपाट अनि ठगी त हामीले सुनेकै हौं, देखेकै हौं, भोगेकै हौं ।

तर मेरो प्रश्न गत साता देशकै सम्वेदनशील स्थल भनौं वा देशकै महत्वपूर्ण राजनीतिक गरिमाको केन्द्रविन्दु सिंहदरबारको गेटैमा अझ लक डाउनको समय चीन फर्किनुपर्ने माग राख्दै चाइनिजले नेपाल प्रहरी कुटेको विषयमैं केन्द्रित रह्यो ।

मेरो ब्लग | सुयोग ढकाल

उनीहरुको राजधानीको टिनामन स्क्वायरमा गत वर्षको राष्ट्रिय दिवसमा राष्ट्रपतिको भाषण अगावै उनको सुरक्षार्थ शहरका सबै पेरेवाहरु समेत कैद गरिएका थिए । आफ्नो देशको नियम र कानूनमा हरेकदिन कैद उनीहरु महामारीको ज्वाला देशमा हुँदा मौनता साँधेर नेपालै बसे, अब नेपालमा समस्या देखिएपछि उनीहरु नेपालसँग पैसो मागेर र आन्दोलन प्रर्दशन गरेर देश फर्कन चाहन्छन्

नेपाल प्रहरी एउटा संस्था मात्र हैन देशको शान्ति सुरक्षाको लागि अहोरात्र खटिरहने गहनाहरुको एउटा गुच्छा हो । यो गुच्छामाथी प्रहार गर्ने अधिकार कसैलाई छैन । होला! सिमित प्रविधि, प्रस्तुति तथा विश्वस्तरीय तालिमसहितको सुविधाका कमीले सर्वसाधारण नेपाली नागरिकले लाठी खानुपरेको, थुना हुनुपरेको अथवा केही अन्यायमा परेको घटनाहरु छन् । यसको अर्थ नेपाल प्रहरीले खाली कुट्ने, लुछ्ने, यातना दिने मात्रै हैन । आफ्नो पेशाले दिएको चेत अनुसार समाजमा व्याप्त अपराध र उच्छृंखलता न्यूनिकरण गर्न ज्यान दिएर पनि लागेका छन् । घरभित्रको एकाध घटना हामी व्यवस्थापन गर्न सक्छौं । तर संसारको कसैलाई पनि देशको यो सुरक्षा गहनालाई छुने अधिकार छैन ।

कृपया ! यहाँ नेपाल प्रहरीको कामको मुल्यांकन गर्न अथवा कुन घटना सही र कुन घटना गलत भन्ने विषय कोट्याउन आएको हैन । मेरो प्रश्न यति हो मेरो देशको गहना चुट्ने हिम्मत यि चाइनिजहरुमा कसरी आयो । हिजो ठमेलमा चाइनिजले नेपाली तर्साउन खुकुरी भाँजे, लमजुङस्थित हाइड्रोमा कार्यरत चाइनिज कामदारहरुले स्थानियमाथी ढुङ्गामुढा गरे र गत साता लकडाउन पालना गराउन तथा संवेदनशील क्षेत्रमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीमाथी हमला ।

एउटा कुरा प्रष्ट छ यी जमातलाई डर छैन देशको कानूनको, प्रहरी प्रशासन केही देखि सुको पनि भय छ भन्ने लाग्दैन । एक हूल बैंक तथा एटिएम ह्याकर चाइनिज अपराधिहरु अभद्र व्यवहारको सामान्य मुद्दामा चीन चार्टर भइसके । भोली गत साता नेपाल प्रहरी कुट्ने पनि अभद्र व्यवहार कै सामान्य मुद्दामैं चीन फर्किएलान, दूर्भाग्य!

हामी नेपाली अनि हाम्रो उदार अभद्र व्यवहार मुद्दामा उम्किने विदेशी!
कति नेपालीहरु विदेशका जेलमा छन्, निर्दोष भएर पनि सजाय पाएका छन् तर उनीहरुको न्यायसंगत सुनुवाइका लागि नेपाल सरकारले पहल गर्ने ल्याकत राख्न सकेको छैन । विदेशमा नेपाली सरकारप्रति यस्ता विदेशी प्रशासन कुनै दायित्व र कर्तव्यबोध गर्दैन । नेपाल सरकार या प्रशासनको लाचारी भनौ या उदारपना, नेपाली प्रहरीहरुलाई दिनदहाडै राजधानीमा विदेशी नागरीकहरुले पिट्दा नेपालले केवल एउटा हेडलाइन पायो अनि त्यसका साथै अरु थुप्रै कुराहरु गुमायो जस्मा नेपाली नागरीकहरुको राष्ट्रिय स्वाभिमान र प्रहरीको ताराको चमक, कति मुहार मलिन होला ति बहादूर नेपाल प्रहरीको जसले आफ्नै अगाडी अभद्र व्यवहारको मुद्दामा छुट्दै गरेको अपराधि देख्दा ।

के भएको हो घटनामा?
२० जना भन्दा बढी चिनियाँ नागरिकहरु हामीलाई चीन पुर्याई दे भन्ने माग गर्दै सिंहदरबार बाहिर धर्नाका लागि भेला भएपछि होहल्लासँगे सुरु भएको ठेलमठेलमा सिंहदरबार महानगरपालिका सर्कलका डिप्यूटी सुपरिटेन्डेन्ट हरि बस्नेत लगायत दुई चिनियाँ नागरिक र चार प्रहरी घाइते भएका छन् । चिनिया प्रर्दशनकारीहरुको मुक्का, लात्ति र ढुङ्गा प्रहारमा परेका बस्नेतलाई थप उपचारका लागि तत्काल अस्पताल लैजानुपरेको थियो । हाम्रो सुरक्षाका लागि यस वैश्वीक स्वास्थ्य महामारामा दिनरात एक नभनी देशको महत्वपूर्ण स्थानम तैनाथ प्रहरीलाई हाम्रै देशको राजधानीमा विदेशी नागरीकले आफूहरु घर फर्किन पाउनुपर्ने अडानका साथ हमला गरिदिए । चिनियाँहरुको अशिष्टताको तितो अनुभूति एकातर्फ अनि मेरा देशका प्रहरीहरुको रत्ताम्य अनुहार र चोटले मेरो स्वाभिमानमा पूर्याएको ठेस अर्कोतर्फ ।

विदेशीहरुको प्रर्दशनमा भएका ब्यानरका शब्दहरु देख्छु, पैसा चाहियो मलाई घर जान मन छ लेखिएका ब्यानर अनि उनीहरुको घर फिर्तिको अडानमा दुःख पाउने चै हाम्रा नेपाल प्रहरी ।

उनीहरुको राजधानीको टिनामन स्क्वायरमा गत वर्षको राष्ट्रिय दिवसमा राष्ट्रपतिको भाषण अगावै उनको सुरक्षार्थ शहरका सबै पेरेवाहरु समेत कैद गरिएका थिए । आफ्नो देशको नियम र कानूनमा हरेकदिन कैद उनीहरु महामारीको ज्वाला देशमा हुँदा मौनता साँधेर नेपालै बसे, अब नेपालमा समस्या देखिएपछि उनीहरु नेपालसँग पैसो मागेर र आन्दोलन प्रर्दशन गरेर देश फर्कन चाहन्छन् । आखिर चीनका नागरीकहरुमा यो कस्तो राष्ट्रवाद बिकसित भएको हो, उनीहरुको सहजताका लागि दूतावास छैन ? अब उप्रान्त चीनले यस्ता अशिष्ट, अतिउग्र आफ्ना नागरिकलाई लगाम लगाउन उतै शिष्टाचारको एउटा न्यूनतम तालिम दिएर मात्र नेपाल पठाओस् ।

नेपालको प्रशासकीय केन्द्रबिन्दु सिंहदरबार अगाडि नेपाली प्रहरीहरु विदेशीको आन्दोलनमा भएको प्रहारमा घाइते हुन र त्यस समाचारले विश्वव्यापी पहुँच पाउनु, मेरो स्वाभिमानमा ठेस नपुग्ने कुरा हो र, नेपाल प्रहरीको आत्मबलमा चोट पुग्दैन र ? अब यी सबै घटनाहरु त्यतिबेला भएको छ जब मेरो देशमा राष्ट्रियव्यापी रुपमा लकडाउन लागू गरिएको छ, यो समाचार पढ्ने र सुन्नेकालागि मेरो देश र देशका लागि अहोरात्र खट्ने सबै सुरक्षा निकायका मनोबल कति फितलो लाग्ने होला ?

चुँइक्क बोल्दैन मेरो देश फेरि यस कुरामा, देश त यति लाचार छ कि उस्ले सगरमाथाको ठेगाना परिवर्तन गरिँदा पनि हाँसेर बस्छ, सत्य त यो हो कि हामीहरुलाई सहने रोग लागेको छ । बिना अनुमती देशकै शीर सगरमाथा क्षेत्रमा 5G स्थापना गर्छ । यसले देशको संचार गोपनीतामा भोली ठूलो समस्या ननिम्त्याउला भन्न सकिन्न ।

मलेसीयामा हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई दिनदहाडै लुटिँदा, खाडीमा जबरजस्ती मेरा दाजुभाइ दिदीबहिनीहरु अपहेलित हुँदा हेपिँदा, जबरजस्ती यौनजन्य हिंसामा परेकी नेपाली चेलीको भक्कानो फुट्ने भिडियो देखेर पनि मेरा मन ढुङ्गो हुने हौं हामी । यो नियती अब त सिंहदरबारकै सामून्ने नेपाल प्रहरी पिटिँदा पनि दोहोरियो ।

गोरखनाथको उर्जा बोकेका गोर्खालीहरुको विरता आजभोली खाटमुनी लुक्न गएको छ, फेसबुक र भिडियो अनि स्टाटसहरुमा सिमित भएको छ अनि तर्कहरु भन्दा पनि गालीगलौजमा मात्र अटाएको छ । हाम्रा बहादुर हरि बस्नेतको रगतसँगै मेरो राष्ट्रिय स्वाभिमान पनि त्यसबाट चुहिएको हो, सगरमाथाको ठेगाना बदलिने चेष्टा त दोश्रो कुरा हो नेपालीजन हो! यहाँ सिंहदरबवार अघि हाम्रा प्रहरीहरु रक्ताम्य भएका छन् ।

यस्को अर्थ यो हैन कि हामी पनि पिट्न जाँउ, रगत बगाँउ तर यस्को अर्थ हामी हाम्रो राष्ट्रिय स्थितीको अवलोकन र पूनरावोलोकन गर्ने बेला आएको छ भन्ने हो । लौन न सबै जुटौं । नेपालीहरु कामदार हैनन, होला परिस्थितिले देशको विपन्नताका कारण कुनै देशको कामदार भएका होलौं तर यसको अर्थ हेपिनै पर्ने अथवा पेलिनै पर्ने छैन । सलाम गराउनका लागि मात्र हैन र हिंसा सहनका लागि मात्र हैन बरु नेपालीहरु जाइ कटक नगर्ने झिकी कटक गर्ने जुुझारु र बुद्धिमत्तापूर्ण छन् भन्ने पहिचान स्थापना गरिदिऔं न, कमसेकम आउने पुस्ताका लागि त सहज हुन्छ ।

नेपाल प्रहरीको जय होस्, संयमता र बुद्धिमतापूर्ण चिनियाँ गरफ्तारीका लागि बधाईको पात्र भएको छ, यो घटनाले कत्तिपनि विचलित नहुनु । उच्च मनोबलका साथ हामी जनताको शीर ठाडो पार्ने काममा नेपाल प्रहरी थियो, छ र रहिरहने छ । जय नेपाल!


Loading comments...