नेपालबाट नमस्ते, यो सन्देश सारा विश्वका लागि


म एउटा सानो तर एतिहासिक देशको नागरीक हुँ, तपाँईलाई जस्तै मलाई पनि मेरो देशको असाध्यै माया लाग्छ, सार्वभौमिक्ताको माया लाग्दछ । सगरमाथाको चूचुरोबाट त कहिले लुम्बिनीको फाँटबाट मेरो देशले विश्वशान्ति र बिश्वबन्धुत्वको विगुल फुक्दै आएको छ, हामी नेपालीलाई सबैको माया लाग्दछ, हामी वर्ण, जात, देश, अनुहार र भाषा हेरेर माया गर्दैनौं ।

छिमेकी देश भारतलाई बधाई दिन चाहन्छु, भर्खरै उस्ले १७००० फिट माथिसम्म जाने र कैलाश पर्वत पुग्ने तिर्थयात्राका लागि सर्वाधिक छोटो बाटो बनाएको छ, भारतीयहरुले भगवान पाउन । तर त्यस भगवानसम्म जान बनाइएको बाटो मेरो देशको भूमि मिचेर बनाइएको हो, भगवान भेट्न पापी तरिकाले बनाइएको बाटोको प्रयोग, यो कस्तो पुण्य हो ?

तिम्रा भगवान र मेरा देशका भगवान उस्तै हालान् जस्तो लागेको थियो तर तिमीले त भगवानलाई पनि देशको परिधीमा बाँधिदियौ । लकडाउनमा विश्व सबै त्रासमा भएको ब्लामा तिमीले असभ्य तर शान्त भएर मेरो देशको माटो मिच्यौ, मेरो देशको माटो मिचेर बनाइएको त्यस बाटोमा यात्रा गरेर तिमी तिर्थ त पुग्छौ पनि होला तर मोक्ष पाउनेछैनौ, याद गर ।

मलाई रिस उठ्ने अधिकार पटक्कै छैन, म सानो र कमजोर देशको बासिन्दा हुँ, मैले गुनासो राख्ने ठाँउ छैन किनकि मेरो देशको सरकार या त लाचार छ या त बिकेको छ , म आज आवाज बोकेर आँए, मेरो आवाज एउटा स्वर बनोस । भारतीयहरु प्रति मलाई गुनासो छैन, तिनीहरु असल साथीहरु हुन्, मेरो त परिवारको इतिहास नै भारतसंग पनि जोडिएको छ तर मलाई भारतीय शाषक, नेतृत्व र नितिलाई प्रश्न छ । अनि तपाँईहरु सारा विश्व समुदाय, जुनसुकै देश या ठाँउमा बसेर यो कुरा पढ्दै हुनुहुन्छ, सुन्दैहुनुहुन्छ, के यो यो विश्वका साना र कमजोर देशहरुलाई आफ्नो सिमा रक्षा गर्ने अधिकार छैन ? हरेक नेपालीहरुको प्रथम प्रेमी या प्रेमीका भनेको उनीहरुको माटो हो, तिमीहरुले कैलाश नजिक पार्न पशुपतीलाई हेपेका छौ, भगवान पाउन मान्छेहरुलाई चित्त दुखाएका छौ, दादागिरीको अन्त राम्रो हुँदैन, इतिहास साक्षी छ ।


Loading comments...