एउटा घडेरी लिम्पियाधुरामा ( गद्य कविता )


जन्मेको पचास वर्षपछि थाहा भयो
लिम्पियाधुरा मेरै भूगोल हो
लिपुलेक मेरै भूगोल हो
कालापानी मेरै भूगोल हो ।

अब ,
एउटा घडेरी लिम्पियाधुरामा किन्न मन छ
एउटा घडेरी लिपुलेकमा
अनि अर्को घडेरी कालापानीमा ।
किन ?
जेठो छोरो , माहिलो छोरो र कान्छो छोरोलाई ।
गाउँका सबै सहर पसे
उतै बसे ,
देशको सीमा रक्षक तिनै मेरा छोरा हुन् ।

नक्सा त नयाँ कोरियो
अवस्था र व्यवस्था उही छ
मानौँ , सप्तकोसीले जमिन कटान गर्यो
लालपुर्जा मसँगै छ
पत्नीसँग सम्बन्ध टुट्यो
विवाह दर्ताको कागज मसँगै छ ।
त्यस्तो नहोस्
त्यसैले त ,
एउटा घडेरी लिम्पियाधुरामा किन्न मन छ।
एउटा घडेरी लिपुलेकमा किन्न मन छ
अनि एउटा घडेरी कालापानीमा किन्न मन छ ।

अब ,
सीमामा बर्लिनको पर्खाल लगाउन मन छ
मेरो देशमा छिर्न भिषा प्रणाली लागू गर्न मन छ
हराएका जङ्गेखम्बा खोज्नु छ
मेचीदेखि दोधाराचाँदनीसम्म लक्ष्मण रेखा कोर्नु छ

त्यसैले त एउटा घडेरी लिम्पियाधुरामा किन्नु छ
एउटा घडेरी लिपुलेकमा किन्नु छ
एउटा घडेरी कालापानीमा किन्नु छ ।
लक्ष्मी प्रसाद ढकाल

Loading comments...