रत्नका कलम र मनका मल्हमहरु


केहि वर्ष अघि फेसबुकमा टुक्क एउटा फ्रेन्ड सजेशन आयो, रत्न शम्शेर थापा थियो नाममा । मैले रिक्वेस्ट पठाँए, एसेप्ट पनि भयो, त्यपसपछि गोडा दुई वर्ष शुभकामना आदानप्रदान भए, दुबैका गोडा दुई जन्मदिनमा । हिजो तिनै मिर्मिरे उषामा औंठी साट्न जाने मनसाय भएका रसिक गीतकारको मृत्यूको खबरले हृदय चिरियो, परमेश्वरले यिनलाई आफूमा समाहित गरुन ।

प्रस्तुतीः सुयोग ढकाल

रत्न शम्शेर थापा घरिघरि आफ्ना पोष्टहरुमा पुराना फोटोहरु र यादहरु पोष्ट गर्नुहुन्थ्यो, यि फोटोहरुमा इतिहास हुन्थ्यो, वहाँका फोटोहरु म हेर्थे, फेसबुकका वालहरु मार्फत नै कल्पना गर्थे, त्यो बेली पाइन्ट, ठूला चश्मा अनि सफा काठमाण्डौं हुँदा ताकाका साहित्य अनि कलाका आयामहरु । नेपाली साहित्य अनि लेखनमा रत्न शम्शेरका ६० दशकभन्दा बढि त्यसै बितेका थिएनन । मैले धेरैपटक रत्न शम्शेरका शव्दहरुलाई गुलजारका शव्दसंग तालमेल गरेर हेँरे, दुबैजनाले ग्रामीण बस्तिका बिम्बहरु प्रयोग गरेर अमिट र कालजयी गीतहरु दिएका छन् । गुलजारले जैसे हो वैसे आजाओ श्रृगांरको रहने दो भनंर लेखे, हाम्रा रत्न शम्शेरको गीत पनि यस्तै छ, घुम्तिमा नआउ है, दुबै गीतहरुमा मायालुको भेट चाह छ, गुलजार दुरुस्तै रुपमा जे छ त्यस्तै स्वरुपमा आउ भन्छन्, उता रत्न शम्शेर घुम्तिमा नआउ आँखा जुधाउन भन्दछन् ।

ए कान्छा ठ्ट्टैमा यो बैंश जान लाग्यो भन्ने गीतका शव्दहरु त टपक्कै उठाएर ल्याएको भाव सहितको छ, सुन्दा पनि गाँउ पुगे झैं, यो शहरको घच्चाघमाशान भन्दा पर, जीवन मृत्यू र शमशान भन्दा पर । रत्न शम्शेर लेख्नका लागि नै जन्मिएका थिए, लेख्दै गए, अब लेख्दैनन तर उन्का शव्दहरुले उन्लाई जिवित राख्नेछन्, बाजी थापेर भन्छु रत्नका शव्दहरु को महत्व रत्न झैं आगामी दिनहरुमा बढ्दै जानेछ । कालापानी सुस्ता र लिपुलेखका कुराहरु हुँदा ‘जाग लम्क चम्क ए नौजवान हो’ भन्ने गीत बजाएर अनि गाएर हेर, नेपाली जवानहरुलाई देशको माया छताछुल्ल पारिदिने शव्द छ यो, रत्न आफू त निभेर गए तर यिनका शव्दहरुले हामीलाई जगाउने नै छ ।

कहिलेकाँही मलाई रत्नका शव्दहरु साहिर लुधियान्वीको संग जोडेर हेर्न चित्त पर्दछ, यिनको गोरेटो त्यो गाँउको, उकाली ओरोलीहरुमा साह्रै गज्जबका गीतहरु छन् । लुधियान्वी आफ्नो जन्मथलो छाडेर पार्टिशनपछि भारतर्फ छिरे, रत्न पनि शायद आफ्नो गाँउलाई धेरै नै मिस गर्दथे, उकाली ओराली, गोरेटो सबै कुराहरु गीत मार्फत ल्याइदिए । शाहिरको जाने क्या तुने कहि र रत्नको आँखाको भका आँखैले, कति प्रखर छन् दुबै गीतहरु ।

रत्न शम्शेरका गीतहरु यति मर्मस्पर्शी छ, म सुन्छु अनि रिलेट गर्छु, जब आफ्नो जीवन भन्दा माथि उठेर हेर्छु, गीतहरु अन्य गीतसंग गाँस्छु, काश यी गीतहरु अग्रेजीमा पनि हुन्थे, विश्वले सुन्थ्यो यिनलाई, बुझ्थ्यो, नेपाली परिवेशमा भएको सकिता अनि सरलता विश्व मञ्चमा अनुवाद हुन्थ्यो ।

यो खोलाको संग्लो पानी खाइजाँउ खाइजाँउ लाग्छ । कति मिठो छ यो गीत, पहिले खोला आयो, पानी आयो अनि प्यास छ अनि मोहनी लगाउने कान्छीलाई लैजाने आश छ । नेपाली गीत अनि संगितमा यिनले फुलैफुलको मौसम छाडेर गएका छन्, यी गीतकारका फेसबुकमा अब शुभकामनाका श्रृखला चल्नेछैन, केवल चल्नेछ त यिनका गीतहरु कहिले यूट्यूबमा, कहिले मोबाइलमा, कहिले रेडियो, टिभी अनि धेरैजसो मन मनमा ।

सुयोग ढकाल


Loading comments...