बुवा, दरबार हत्याकाण्ड कसले गरेको ?


कति सिधा, सोझा र लाटा छौं हामी नेपालीहरू; जसले जे भने पनि पत्याई हाल्छौं । बुढापाकाहरूले ‘मरेका मित्र राष्ट्रका साथीहरूले हामीलाई जीउँदै बेच्छन्’ भन्थे । उखान यत्तिकै प्रचलित भएको होइन रहेछ । जतिसुकै लाटा भए तापनि गर्व गर्नु पर्ने कुरा के छ भने, हामीले राजा वीरेन्द्र र राजपरिवारको हत्या कसले गरेको हो भनेर चाहिँ अहिलेसम्म कसैको पनि कुरा पत्याएका छैनौं ।

लेखक: डा. कञ्चनजङ्घा प्रसाई

कति सजिलै सेलायो त्यो कहालीलाग्दो डढेलोको राप ! सायद त्यही डढेलोबाट निस्केको धुँवाले हाम्रो भित्री र बाहिरी आँखालाई अहिलेसम्म धुम्म्याइरहेको छ । हामी सहनशील भएको हो कि स्वार्थी भएको हो ? बेवास्ते भएको हो कि निष्ठुरी भएको हो ?

झण्डै २० बर्ष अगाडि भएको दरबार हत्याकाण्डको निश्चित दोषीको पत्तो नभए पनि हामी माझ ४-५ ओटा सम्भावित दोषीहरू उभिएका छन् । कोही भन्छन्- तत्कालीन युवराज दीपेन्द्रलाई देव्यानीसँग बिहे गर्न नदिएकोले दीपेन्द्रले नै राज परिवारलाई नासेर आफै आत्महत्या गरेका हुन् । कोही भन्छन् पारसले नै युवराज दीपेन्द्रको नकाव र सैनिक पोशाक लगाएर सबैको हत्या गरेका हुन् । कोही भन्छन् त्यो हत्याकाण्डको ‘रिमोट कन्ट्रोल’ वाह्य राष्ट्रको हत्केलामा थियो । कोही भन्छन् दरबारभित्र कै सिपाहीले सबैलाई नासेको हो । तर साँच्चिकै को हत्यारा चाहिँ को हो ? यसको उत्तर कोसँग छ होला ? कस्तो अचम्म, बरमुडा ट्रयाङ्गल जस्तै दरबार हत्याकाण्ड रहस्यमय भएको छ । अनि राजा वीरेन्द्र र राजपरिवार १९७४ ए.डी. को गीत जस्तै ‘सम्झना भई बिलायौ’ भएका छन् ।

मलाई स्मरण भए अनुसार, त्यतिबेला अधिकांश नेपालीहरूले राजपरिवारलाई आफ्नै परिवारको रूपमा लिन्थे । तर पनि कति सजिलै सेलायो त्यो कहालीलाग्दो डढेलोको राप ! सायद त्यही डढेलोबाट निस्केको धुँवाले हाम्रो भित्री र बाहिरी आँखालाई अहिलेसम्म धुम्म्याइरहेको छ । हामी सहनशील भएको हो कि स्वार्थी भएको हो ? बेवास्ते भएको हो कि निष्ठुरी भएको हो ? कि हामी पनि कुर्सीमा बस्ने पेटुरामहरू जस्तै अन्धा, बैरा र लाटा भएका हौं ? के हामी मातृभक्त नेपालीहरू निश्चित हत्यारा को हो भनेर थाहा पाउन योग्य छैनौं ? के नेपालको इतिहासमा त्यस हत्याकाण्डको पानाहरू सधैं खाली नै रहनेछन् ? अनि के हाम्रो लालाबालाहरूले हामीसँग त्यस हत्याकाण्डबारे प्रश्न गर्दा तिनीहरुको मुखमा पनि बुचो लगाइदिने हो ?


Loading comments...