जात र जातियताको घेराबन्दीमा घाँस खान गएको आधुनिक विश्व


अहिलेको समय अनि एक्काइसौँ शताब्दिको यो विश्व । विश्वमा मानव समूदायले गरेको मेहेनतले धेरै युगान्तकारी परिवर्तनहरु भइसकका छन् । शैक्षिक, राजनैतिक वैज्ञानिक लगायत हरेक क्षत्रमा मानिसले विवेकको प्रयोग गरी चमत्कारी परिवर्तन गर्न सफल भएको छ । हरेक दिन नयाँ खोज अनि अनुसन्धानको कार्य तीव्र रुपमा भइरहेको छ । हरेक असम्भव भनिएका चुनौतिपूर्ण कार्यलाई पनि एक पछि अर्को गर्दै सफल बनाइरहेका छन् । विश्व इतिहासको पाना पल्टाएर हेर्ने भने मानव समूदायले विकासमा ठुलो फड्को मारेको छ ।

यस्तै फड्कोको नमूना हो विश्वशक्ति संयूक्त अधिराज्य अमेरीका । हालै त्यहाँ सुरक्षाकर्मीले एक कालो वर्णका अफ्रिकन अमेरीकी नागरिकलाई गाडीको चक्काछेउ गर्दनमा घुँडाले टेकेर हत्या गरेको उदाहरण र त्यसपछि प्रजातन्त्र, स्वतन्त्रता र समभावको उदाहरण दिने त्यो समाजमाथि उब्जिएको एउटा ठूलो प्रश्न, के जात र जातियताको घेराबन्दीमा आधुनिक विश्व घाँस खान थालेको त हैन?

विश्वमा यति धेरै चमत्कारिक परिवर्तनहरु भइरहँदा हाम्रो देश नेपालले भलै प्राविधिक चमत्कारका क्षेत्रमा केही गर्न सकेको छैन तर ४ वर्ण ३६ जातिको सुन्दर साझा फूलबारी भन्ने उदाहरणले विश्व मानचित्रमा एउटा बेग्लै सन्देश भने उहीले दिएको हो ।

लेखकः जानुका खनाल

तर दुःखको कुरोको विरुद्धमा देशले सुन्दर साझा फूलबारीको परिकल्पना गर्यो त्यहाँ अझैसम्म पनि रुढीवादी सोंच जातियप्रथाको बिउँ नाश हुन सकेको छैन । बरु विषवृक्ष झै मौलाउँदै गएको हो की भन्ने प्रश्न उब्जिएको छ । के गाउँ के शहर हरेक क्षेत्रमा जातियताले ठुलो जरा गाडेको छ । कुनै समयमा कामको आधारमा छुट्याइएको जातिय प्रथाले गर्दा आज पनि धेरै मानिसहरु नारकीय जीवन बिताउन बाध्य छन् । देश परिवर्तन भयो समाज परिर्वतन भयो मानिसहरु परिवर्तन हुँदै गए तर हाम्रो समाजमा जातको आधारमा मानिसलाई सानो ठुलो भन्ने सङ्कुचित सोचाइमा आजसम्म कहिले परिवर्तन भएन । किताबमा थुप्रै पटक पढियो मानिस सबै एक हौँ भनेर । महाकवि देवकोटाको “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” यो भनाइलाई पाना भर्ने गरी व्याख्या पनि गर्यौँ तर व्यवहारमा आफूलाई परिवर्तन गर्न नसक्दा यो भनाइ किताबका पानामै मात्र सीमित भए । हामीलाई आफ्नो परिवार अनि यो समाजले धेरै कुरा सिकायो तर कहिले पनि मासिलाई समान व्यवहार गर्नुपर्छ भनेर सिकाउन सकेन । प्रत्येक गाउँ घर टोल छिमेकमा जातकै कारण धेरै मानिसहरु अमानवीय व्यवहार सहन बाध्य छन् । मन्दिरभित्र जान नहुने , पानी लिन जान नहुने उनीहरुले छोएको खान नहुने, छुट्टै बस्नुपर्ने उनीहरुको हरेक सिप चल्ने तर घरभित्र प्रवेश गर्न नपाइने तुच्छ सोच पशुलाई समेत नगरेको व्यवहार उनीहरु सहन बाध्य छन् । अनि हामी त्यही अन्याय टुलुटुलु हेरेर बसिरहेका छौँ । हामी मान्छे भएर मान्छेलाई नै मानवीय व्यवहार गर्न सकेका छैनौँ । जातको आधारमा ठुलो छु भन्दै जातियतामा घमण्ड गर्दै अरुलाई अमानवीय व्यवहार गर्नु कतिको न्यायोचित कुरा हो रु शहरी क्षेत्रमा केही व्यक्तिहरुको सोच प्रशंसनीय भए पनि यहाँ पनि अदृश्य रुपमा जातिय भेदभाव कायमै छ ।

समाज जति नै शिक्षित बन्दै गए पनि जातको आधारमा ठुलो सानो ठान्ने हाम्रो सोच भने अझै परिवर्तन हुन सकेको छैन । जातभात केही होइन भन्ने समाजका शिक्षित वर्गले पनि व्यवहारमा भने यो भनाइलाई परिवर्तन गर्न सकेका छैनन् । हुन त यसबारेमा जनचेतना मूलक कार्यक्रम नभएका होइनन् । टेलिचलचित्र पनि नबनेको होइनन् । कथा उपन्यास पनि नबनेका होइनन् तर हाम्रो सोचमा परिर्वतन ल्याउन गरिएका ती सबै प्रयास आजसम्म असफल नै छन् भन्दा फरक नपर्ला ।सबै जात आफैमा ठुलो र महत्त्वपूर्ण छ । जात नराम्रो होइन जात ठुलो सानो पनि होइन सानो त हाम्रो सङ्कीर्ण सोच हो । अरु बेलामा जातको कुरा गर्र्दा आपूmलाई खुबै महान् ठान्ने वर्गका मानिसहरु आफूलाई आपत पर्दा भने जातका कुरा बिर्सन्छन् । अस्पतालको शैयामा छट्पटाउँदा सानो जातको रगत चल्ने हामीलाई विवाह गर्नका लागि भने त्यही जातले अड्काइदिन्छ । जात नमिलेकै कारणले गर्दा कतिले घर परिवारको यातना सहेको त कतिलाई घर परिवारले त्यागेको थुप्रै घटना हाम्रो आँखा अगाडि नै छन् । जात नमिलेको कारण अकालमै हृदयविदारक अवस्थामा ज्यान गुमाउ परेको घटना पनि हामीमाझ प्रशस्त छन् । विवाह गर्न जात हैन विचार मिल्नुपर्छ । जहाँ एक एर्कालाई बुझ्ने प्रयास गरिँदैन । एक अर्काको विचारलाई सम्मान गरिँदैन त्यहाँ आफ्नै जातकोसँग विवाह गरे पनि जीवन नारकीय हुन्छ । जहाँ सोच विचार मिल्छ त्यहाँ दुई फरक जात भए पनि जीवन स्वर्गीय बन्छ । हामीले चाह्यौँ भने परिवर्तन सम्भव छ । घर परिवार समाजभन्दा पनि परिवर्तनको सुरुवात हामी आफैबाट गरौँ ।

जातलाई होइन मानिसको असल व्यहारलाई ठुलो ठानौँ । मानिसको मिठो बोलीवचन, मानिसले गर्ने कामलाई, मानिसले एक अर्काप्रति सोच्ने सकारात्मक सोचलाई अनि मानिसको चोखो मनलाई ठुलो ठानौ । म यसरी परिर्वतन गर्दैछु मेरो सोचलाई, के तपाईँ मेरो सोचमा सहमत हुनुहुन्छ? हामीले घाँस खाने यात्रा कै लागि अबको सन्ततीलाई जातियताको घाँसे मैदानमा डोर्‍याउने हो या रङ्गीबिरङ्गी फूलको सुन्दर साझा फूलबारीमा फुल्न दिने?


Loading comments...