‘यस सर!’ संस्कारले गराएको एउटा दुखद् दुर्घटना


कराँचीको घनावस्तीमा एयर बस A320 को उडान पिआइए फ्लाइट ८३०३ दुर्घटनाको केहि हप्ता मात्र भएको छ, विश्वभरि नै यस दुर्घटनाले शोक र सन्ताप छायो । विशेषत इद मनाउन गएका मुस्लिम तिर्थालुहरु यसरी चाडवाडको मुखैमा भएको मृत्यू अनि जहाज दुर्घटनाको यो घटना प्राथमिकता पाएको छ ।

अवतरणको दोश्रो प्रयासमा जहाज अनियन्त्रित भएर खस्यो, अवतरण अप्रोचमा निर्धारत उचाईभन्दा दोब्बर उचाईमा आएको जहाजको इन्जिन प्रथम अवतरण प्रयासमा नै भुँईमा बजारिएको हो, त्यसपश्चात जहाज उचाई मिलाउन फेरि ण्डाइयो तर दूर्भाग्य घाइते इन्जिनले साथ दिन सकेन, जहाजले अन्तिम उडानसँगै ९८ जनाको ज्यान पनि लियो ।

दुर्घटना कारण प्रतिवेदनमा पाइलटको श्रृंखलावद्ध गल्ती देखिएको छ, अवतरण गर्दाको बेसिक नियम अर्थात ल्यान्डिङ गियर झार्ने प्रक्रिया नै पुरा नभएको देखिन्छ । गियर नझारेको जहाज सोझैं जमिनमा बजारिएको पाइयो । पाइलटले एयर ट्राफिकलाई गियर नझरेको जानकारी पनि गराएका थिएनन, यसअर्थमा यो गम्भीर मानविय त्रुटि हो, यसमा ‘यस सर!’ गर्ने कल्चर जिम्मेवार रहेको उडान अनुशासन विशेषज्ञहरुको ठम्याई छ ।

दक्षिण एसियाली देशहरुमा सामाजिक मूल्य र मान्यताहरु विशेष पालना गरिन्छ, यहाँ प्रणाली र नियम भन्दा ठूला साना अनि आदर अनादरको भूमिका बढि पाइन्छ । उमेर र अनुभवमा सिनियर पाइलटलाई न त उनका कोपाइलटले केहि भन्न सके होलान् न त एयर ट्राफिक कन्ट्रोलर ले नै ।

यसरी सिनियर र जुनियरको तहले बिकास, अन्वेषण, खोज मात्र रोक्दैन कि यस्ता पीआई दुर्घटनाजस्ता कैंयन दुर्घटना पनि निम्त्याउँदछ ।

म चाँही यस जहाज दुर्घटनाका लागि केवल पाइलटलाई मात्र दोष दिन्न, त्यस दुर्घटनाका घटनाक्रमहरुको चेन मा सबैजनाको यस सर साधुवाद उत्तिकै जिम्मेवार छ ।
पाइलटको हरेक गल्ती र जोखिमपूर्ण निर्णयमा कहिँ कसैले बोलेन, यो उन्को अनुभव र उमेर अनुसारको आदर थियो तर यस संस्कारले सैयौंको ज्यान लियो ।

पाइलटलाई ग्राउण्डबाट जहाज निकै उचाईमा रहेको र रनवे नजिकै आइसकेको भन्दा पनि उनले डन्ट वरि, वि क्यान मेक इट भनेका छन्, त्यसपछि एयरट्राफिकले कुनै प्रतिरोध गरेनन, यो ‘यस सर!’ कल्चर थियो । शायद एक प्रतिरोध भइदिएको भए आज यो मानवीय क्षतिको बारेमा लेखिरहनु पर्थेन होला ।

फ्लाइटका फर्स्ट अफिसरले पनि गो राउण्डको सल्लाह दिएनन, यदि उक्त गो राउण्ड समयमा नै गरेको भए आज त्यस जहाजका सबै यात्रुहरुले इद मनाउन पाउने थिए होलान् । उडान समयभर जहाजको ककपीटमा कुनै प्राविधिक कठिनाइबारे उल्लेख गरिएको छैन तर फेरि किन अवतरणका क्रममा ल्यान्डिङ गीयर झारिएन ?

को पाइलटले त्यो कुरा देखेनन, यदि जहाजमा समस्या थियो भने उडान अवधिमा या अवतरण अगावै ककपीटले गियर नझरेको बताउनु पर्नेथियो तर उडान अत्यन्त सहज र कुशल थियो, जब अवतरणको समय आयो, गल्तीका श्रृंखलाहरु बढ्दै गए ।

पाइलट आत्मविश्वासी थिए तर आत्विश्वासको आधारमा गैरजिम्मेवारीपूर्ण गल्ती गरेर जहाज खसाउँदा उडान क्षेत्रले ठूलो क्षति बेहोरेको छ । हामीकहाँ हावी ‘यस सर!’ गर्ने र मुन्टो हल्लाउने संस्कारले यो दुर्घटना भएको स्पष्ट छ । आगामी दिनमा पनि उड्ययन क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा अनुभव र उमेरको मात्र जगजगी रहने हो भने धेरै दुर्घटनाहरु हामीलाई कुरेर बसेका छन् ।


Loading comments...