नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच भिडियो कन्फ्रेन्स सम्पन्न, पूर्व प्रधानमन्त्री खनाल भन्नुहुन्छः यसले पार्टी सञ्चालन विधिमा प्रश्न उठायो


नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच सम्पन्न भिडियो कन्फ्रेन्सले नेकपामा पुनः एकपटक विवाद चुलिएको छ ।

विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै बबण्डर सुरु भएको हो । नेकपाको विदेश विभागले भिडियो कन्फ्रेन्सका बारेमा असन्तुष्टी जनाएको छ ।

नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनविज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।

धुमबराहीमा शुक्रबार अपरान्ह भिडियो कन्फरेन्समा दुवै देशका पार्टी नेताहरुबीच विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान जस्ता विषयमा कुराकानी सहितको भिडियो कन्फरेन्स सम्पन्न भएको हो । आज सम्पन्न यस विवादित भिडियो कन्फ्रेन्समा चिनियाँ नेताहरुसँग कुराकानी गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले हामी “कुनैपनि देशको सुरक्षा योजनासँग सम्बन्धित परियोजनाहरु लिँदैनौ” भन्ने कुरा उल्लेख गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीले उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग गरेको भर्चुअल भेटघाट जस्तो महत्त्वपूर्ण विषयमा समेत सो पार्टीका विदेश विभाग उपप्रमुख समेत रहनुभएका विष्णु रिजालले यसबारे आफूलाई कुनै जानकारी नभएको भन्दै केही नसोध्न आग्रह गर्नुभएको छ भने नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्रीले पार्टी सञ्चालनको विधिमाथि नै प्रश्न उठाउनुभएको छ ।

‘मलाई यस भेटघाटको कार्यक्रमबारे कुनै जानकारी नै छैन” भन्दै पूर्वप्रधानमन्त्री समेत रहीसक्नुभएका झलनाथ खनालले “पार्टीको विदेश विभागलाई समेत यस बारे थाहा छैन जस्तो लागेको छ” बताउनुभयो । “कसैलाई थाहापत्तो केही नदिकन कस्तो सम्बन्ध राखेको हो मलाई अनौठो लागेको छ। यसले पार्टी सञ्चालन विधिमा प्रश्न उठाउँछ । पार्टीको सञ्चालन विधिमा त्रुटीहरू छन् भन्ने यसले स्पष्ट पारेको छ” अगाडी थप्नुभयो ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा हुने कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्ड तथा सचिवालय सदस्य तथा उप-प्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल लगायतका सयौं नेताहरु सहभागी भएका थिए ।

तस्वीर स्रोतः नेकपाका अध्यक्ष प्रचण्डको फेसबुक पोष्ट


Loading comments...