खजुरप्रसादः इन्दिरा प्रसाई


यो पचास वर्षअघिको कथा हो ।

पूर्वी पहाडको एउटा विकट गाउँमा हलेँसी छात्रावास थियो । त्यस छात्रावासमा हामी त्यसै ओरिपरि पाँच गाउँका भरखरै व्रतवन्ध भएका तन्नम विद्यार्थीमात्र बस्थ्यौँ । लाउरबाट पैसा कमाएर ल्याएका केही मनकारी सेतामगारूलिले तन्नम क्षेत्री बाहुनका सन्तानका लागि नै यो छात्रावास खोलिदिएका थिए । विद्यालय कै छेउको एउटा अलि हुनखानेको गोठमा यो छात्रावास खोलिएको थियो ।

हाम्रो व्यवस्थापनका लागि हामीसँगै छात्रावासमा एक जना स्कूलकै गुरुजीलाई त्यहाँ राखिएको थियो । पाँचै गाउँका पचास घरको मुष्ठी दानका चामलले हाम्रो छाक चल्थ्यो । तिहुन पनि मुन्टामुन्टी, कतै खनी खोस्री कुनै जुक्तिले हुन्थ्यो । गोठका मालिकको गाई लैनो हुञ्जेल कहिले काहीँ अमिलो मोही पनि हामीले पाउँथ्यौँ । धेरै जसो गुन्द्रुक सिन्कीमा माड हालेकै तिहुन हुन्थ्यो । हरियो खोर्सानी मिचेपछि त्यही अमृत हुन्थ्यो ।

कथाकारः इन्दिरा प्रसाई

सबै कुरा त ठीकै थियो । विद्यालय विदा नहुँदा त समस्या पनि थिएन । तर शनिवारको दिन र भैपरि विदाका दिन हामी दस जना केटाहरूले त्यस गाउँका बोट विरुवामा फलेका चिचिला पनि भेटेसम्म बाँकी राख्तैनथ्यौँ । त्यसरी स्कूल विदा भएका दिन ‘राम्रोसँग पढेर बसे है’ भन्दै बिहानै गुरुजी पनि आफ्ना घरतिर कुलेलम ठोक्थे । गुरुलाई ‘हवस्’ भने पनि गुरु हिँड्नासाथ हाम्रो उही चकचके धन्धा शुरु हुन्थ्यो । त्यति बेला हामी वीच जसले धेर बिगार गर्न सक्यो त्यही गतिलो मानिने खेल चल्थ्यो।

हाम्रो खेलका कारण गाउँलेको सहनशिलताको सिमा भत्क्यो । हाम्रो चर्तिकलाको विवरण प्रथमतः हाम्रो छात्रावासको घरधनीसम्म पुगेको थियो । त्यसपछि हामीले छुट्टिका दिन उधुम मच्चाएको कुरा क्रमिक रुपले विद्यालयका प्रधानाध्यापक र हाम्रा गुरु हुँदै हाम्रा गुरुकै मुखबाट हाम्रा कानसम्म फर्केर आइपुगेको थियो ।

घर परिवारवाला हाम्रा युवा गुरुलाई छुट्टिका दिन घर पुगेर आउँ भन्ने लाग्नु अस्वाभाविक पनि थिएन । तर चकचके विद्यार्थीका कारण आधा बिहानमात्रै पर्तिरको आफ्नो घर पुगेर यसो परिवार भेटेर आइहाल्न पनि गुरुजीलाई कठिन भएको थियो ।

तर जहाँ समस्या त्यहाँ समाधान भने झैँ गुरुले समाधानको उपाय भेटेका थिए ।

कुरा के थियो भने नि,

हाम्रो छात्रावासमा झिँगा यति धेरै लाग्थ्यो कि पाक्दा पाक्दैको तिहुनमा झिँगाको तरै लाग्थ्यो । भातमा त सेतो कालोको फरक हुनाले झिँगा मिल्क्याएर खान सकिन्थ्यो तर गुन्द्रुकको तिहुनमा भने झिँगा छुट्याउनै गाह्रो हुन्थ्यो। त्यसैले गुरु र चेला अर्थात् हामी सबै नै झिँगाले हैरान भएका थियौँ ।

गुरुले त्यही हाम्रो झिँगा समस्यालाई नै हामी चकचकेको चकचक समाधानको उपायका रुपमा आविष्कार गरेका थिए । त्यसका लागि गुरुजीले केराको दाम्चा काटेर दस ओटा झिँगा मार्ने फ्याटफ्याटे बनाएका थिए ।

‘तिमीहरू म घर गएपछि गाउँमा बदमासी गर्न जाने होइन । दिनभरि यो फ्याटफ्याटेले झिँगा मारेर बस्नु । म तिमीहरूलाई एउटा झिँगाको एक पैसा दिन्छु ।’

त्यस जमानामा आफूसँग ५ पैसा भयो भने पेटभरि खाजा खान पाइन्थ्यो । हामी दङ्ग परेर पैसा कमाउने दाउमा दिनभरि छात्रावासमै झिँगा मारेर बस्न थाल्यौँ । तर हाम्रो एउटा साथी खजुरप्रसाद भने गुरुजी बाहिर निस्किनासाथ ‘म त नखेली बस्न सक्तिन साथीहरू, तिमीहरू झिँगा मारेर बस’ भन्दै गाउँ डुल्न हिँडी हाल्थ्यो । हामी दिनभरि झिँगा मारेर बस्यौँ । त्यस दिन भरिमा हामीहरूमध्ये दुईजनाले २०-२० ओटा, तीनजनाले १५-१५ ओटा र चार जनाले १०-१० ओटा झिँगा मारेका थियौँ ।

दुई दिने विदा हुँदा पनि पहिलो दिन ऊ भागै लिँदैनथ्यो र दोस्रो दिन पनि विदा परेको बेलामा मात्र यो खेलमा सहभागी हुने गर्थ्यो । यति चाहिँ हो है, हाम्रा झिँगा यत्तिक्कै फाल्न उसले दिँदैनथ्यो । हामीले मारेका झिँगा पातमा पोको पारेर खाडलमा गाडिदिन चाहिँ ऊ नै अघि सर्थ्यो । अनि उसले विदाको दोस्रो दिनमात्रै झिँगा मार्थ्यो र त्यसदिन उसले हाम्रो भन्दा धेरै झिँगा मारेर हाम्रो भन्दा धेरै पैसा कमाइरह्यो ।

साँझ परेपछि गुरु भन्दा एकैछिन अघिमात्र भित्र पसेको खजुरप्रसादले त्यसदिन एउटै झिँगा मारेको थिएन ।

‘खजुरप्रसाद खोइ तैँले कतिओटा झिँगा मारिस् ?’

हाम्रो झिँगाको हिसाब बुझिसकेपछि गुरुले उसलाई सोधेका थिए ।

‘खोइ गुरु …’ हात मलेर टाउको हल्लाउँदै हाम्रा हातमा भएको पैसातिर लोभिलो आँखा लाउँदै खजुरप्रसादले जवाफ दिएको थियो ।

‘थुईया बज्या… खुब फुईँ लाउँछस् त, एउटा झिँगा पनि मार्न सक्तैनस् । तैँले मन लाएर काम गरे पो मार्छस् त झिँगा । झिँगा मार्न पनि त धैर्य चाहिन्छ । तँ त काल भइस् काल । न त राम्रोसँग पढ्छस् न त भात तिहुनै तेरा मीठा हुन्छन् । खाली बदमासी र छक्कापञ्जा छ तेरो काम । के गरिखालास् बज्या तैँले ! तेरी दुखियारी आमाका आँखाको आँसु सधैँ उत्तिकै हुने भो । तेरी हजुरआमाले जमिन्दारको भात भान्सा गर्दा तीर्थबाट ल्याएको खजुरको पर्साद तँलाई गर्भमा बोकेकी तेरी आमालाई ख्वाएकाले तेरो नाउँ खजुर राखेको भन्थिन् तेरी आमा। तँ भने झिँगा पनि मार्न नसक्ने ! धिक्कार छ तँ बज्यालाई ! ‘

केही बोलेन खजुरप्रसाद त्यस दिन।

हुन पनि खजुरप्रसादको बोली त खजुरजस्तै मीठो थियो ।

अर्को हप्तामा लगातार दुई दिन विदा परेको थियो । पहिलो दिन पनि अघिल्लो हप्ताकै उपक्रम दोहोरियो । त्यस दिन पनि खजुरप्रसादले हाम्रा हातको पैसामा लोभिलो आँखाले हेरेको थियो । गुरुको गाली, अर्ति, उपदेश सबै सधैँ झै सुन्यो उसले ।

हाम्रो सहपाठी खजुरप्रसाद बाहेक हामी नौजनाले नै समाजमा आआफ्ना लागि सम्मानित स्थान बनाइसकेका थियौँ । तर हाम्रो साथी खजुरप्रसाद के गर्दैछ ? हामीलाई धेरै समयसम्म पनि केही थाहा थिएन ।

साँझ परिसकेको थियो । गुरुसँग हिसाबकिताब भइसकेपछि हामीले त्यसदिन मारेका १५० जति झिँगा पनि अघिल्लो दिन झैँ तला माथिबाटै तल फाल्न लागेका थियौँ ।

‘तिमीहरूले यसरी यी झिँगा जथाभावी फाल्यौ भने त फेरि यही झिँगा ब्युँतिएर पनि आउँछ र प्रत्येकसँग बदला लिन्छ रे । आमाले भन्नू भाको यस्ता झिँगालाई त पातमा पोको पारेर माटामा गाड्नु पर्छ रे । हिँड त्यसै गरौँ ।’ ऊ अघि लाग्यो र हामी पछिपछि । छात्रावासको पछाडी पुगेर पात उसैले टिप्यो, खाल्डो उसैले खन्यो, हाम्रा हातमा भएका मरेका झिँगा उसैले पातमा हाल्न लगाएर हाम्रै अगाडि पोको पार्यो र उसैले खाल्डो पनि पुर्यो। खजुरप्रसादको सहयोगले हामी सबै नै ढुक्क भएका थियौँ ।

भोलिपल्ट पनि विदै हुनाले, ‘झिँगा मारेर बस है केटा हो’ भनेर बिहानै गुरुजी आफ्ना घर तर लागे। त्यस पछि खजुरप्रसाद पनि हिँडिगयो । हामी भने अघिल्ला दिनमा झैँ पैसा कमाउनका लागि झिँगामै ध्यान लगाएर बस्यौँ ।

त्यसदिन चाहिँ अलि छिटो छात्रावासमा फर्कियो खजुरप्रसाद। फ्याटफ्याटेले केही बेर फ्याट फ्याट पनि पार्यो उसले । साँझ पर्न लागेपछि लघुशङ्काका लागि भनेर छात्रावास पछाडि गयो । त्यसैबेला गुरुजी पनि आइपुगे ।

गुरुजीसमक्ष हामीले झिँगाको दिनभरिको हिसाब बुझाउँदा बुझाउँदै खजुरप्रसाद पनि भित्र पस्यो ।

‘तँ कहाँ गएको थिइस् हँ ? आज पनि मार्न सकिनस् बज्या … ?’

गुरुले सधैँ झैँ उसलाई गाली गर्न खोजे । त्यसै बेला उसले आफ्नो मुट्ठी खोलेर झिँगा देखायो ।

‘गुरुजी आज मलाई गाली नगर्नु । पैसा निकाल्नु , मैले पनि सिकेँ नि झिँगा मार्न । तपाईँले भन्नू भएजस्तै आज मैले दिनभरि मन लगाएर झिँगा मारेँ नि ।’ उसका कुरा सुनेर गुरु मुसुमुसु हाँसिरहेका थिए । हामी सबै विद्यार्थी छक्क परेर खजुरप्रसादको अनुहार हेर्न खोज्दै थियौँ ।

गुरुको आदेश पछि उसले झिँगा गनेर देखायो १५० ओटा झिँगा थियो उसको मुट्ठीमा ।

गुरुले बोली अनुसार एक रूपैयाँ पचास पैसा उसका हातमा हालिदिए र उसको पीठ पनि थप्थप्याए । हिजोसम्म खजुरप्रसादका अघिल्तिर उचालिएको हाम्रो शिर आज उसका सामु नै निउरिएको थियो ।

‘साँझ पर्ने बेलामा एकै छिन त फ्याट फ्याट पनि पारेको थियो खजुरप्रसादले ! कसरी यसले यत्ति धेरै झिँगा मार्यो हँ ? ‘

हामीले पत्तै लगाउन सकेनौँ ।

‘म गाउँ डुल्न गएको कुरा गुरुजीलाई तिमीहरूले भन्यौ भने तिमीहरूको म जान्दो गर्छु ।’ भनेर उसले हामीलाई थर्काउँथ्यो पनि । ऊ अलि हुल्याहा खालको हुनाले हामी ऊसँग डराउँथ्यौँ पनि ।

तर त्यसपछि छात्रावासमा झिँगा मार्ने खेलमा त्यस्तै भइरह्यो । अर्थात् एक दिनमात्र विदा हुँदा ऊ झिँगा मार्ने खेलमा सहभागी हुँदैनथ्यो । दुई दिने विदा हुँदा पनि पहिलो दिन ऊ भागै लिँदैनथ्यो र दोस्रो दिन पनि विदा परेको बेलामा मात्र यो खेलमा सहभागी हुने गर्थ्यो । यति चाहिँ हो है, हाम्रा झिँगा यत्तिक्कै फाल्न उसले दिँदैनथ्यो । हामीले मारेका झिँगा पातमा पोको पारेर खाडलमा गाडिदिन चाहिँ ऊ नै अघि सर्थ्यो । अनि उसले विदाको दोस्रो दिनमात्रै झिँगा मार्थ्यो र त्यसदिन उसले हाम्रो भन्दा धेरै झिँगा मारेर हाम्रो भन्दा धेरै पैसा कमाइरह्यो ।

हामीलाई उसको गोप्यता भङ्ग नगरे वापतको पुरस्कार भनेर स्कुलमा यसो भुटेका चनाका दुईचार गेडा पनि खजुरप्रसादले हामीलाई खान दिन्थ्यो । हामी त्यसैमा खुसी हुन्थ्यौँ ।

खजुरप्रसाद पढ्न पटक्कै मन गर्दैनथ्यो। उसको त्यतिबेलै देखि खानपिन पनि गतिलो थिएन । ब्राहम्णवादको विरोध गर्नुपर्छ भनेर ऊ स्कूल पढ्दैदेखि अभक्ष्य मासु र मदिराको भरपुर सेवन गर्थ्यो । उसको आचरणका सबै पक्ष कुनै पनि दृष्टिमा ठीक थिएनन् । हामी नौजना सहपाठीलाई अरूले उसका बारेमा सत्यतथ्य भनिदिँदा पनि दुक्ख लाग्थ्यो। हामी सबै उसलाई माया गर्थ्यौँ । आखिर ऊ हामी भन्दा पनि तन्नम परिवारको केटो थियो । उसको भलो होस् । सही आचरणमा रहोस् भनेर हामीले उसलाई कति सम्झायौँ, सम्झायौँ। तर हाम्रा कुरा ऊ हाँसेरै उढाइदिन्थ्यो । आजित भएर पछिपछि त हामीले उसलाई सम्झाउने काम पनि छोडिदिएका थियौँ ।

प्रवेशिका परीक्षामा पनि खोइ कति पटक फेल भयो खजुरप्रसाद । तर हामी नौ जनाले खुब मिहेनत गरेर पढ्यौँ । गतिलोसँग पढेको पुरस्कारस्वरुप नै पनि हामीमध्ये कोही हाकिम भयौँ, कोही डाक्टर, कोही इञ्जिनीयर, कोही हाइस्कूलका मास्टर भयौँ, कोही कलेजमा पढाउने प्रोफेसर पनि भयौँ। कोही न्यायसेवामा लागेर न्यायाधीशै पनि बन्यौँ । त्यसबेला हाम्रो सहपाठी खजुरप्रसाद बाहेक हामी नौजनाले नै समाजमा आआफ्ना लागि सम्मानित स्थान बनाइसकेका थियौँ । तर हाम्रो साथी खजुरप्रसाद के गर्दैछ ? हामीलाई धेरै समयसम्म पनि केही थाहा थिएन ।

‘खजुरप्रसाद तत्कालीन पञ्चायती शासनको विरोधी भयो अरे’ भनेको चाहिँ सुन्यौँ । ‘ए, ठूला नेताको पछिपछि हिँड्ने नेता पो भयो रे खजुरप्रसाद’ भनेको पनि सुनियो । ‘जेल परेको छ रे खजुरप्रसाद त’ भनेक‍ो पनि सुनियो ।

एकदिन त अचम्मैको समाचार रेडियोबाटै आयो ।
‘खजुरप्रसाद राष्ट्रको प्रधानमन्त्री !’

© इन्दिरा प्रसाई