विश्वभर पछिल्लो २४ घण्टामा आजसम्मकै सर्वाधिक कोरोनासङ्क्रमित थपिए: विश्व स्वास्थ्य संगठन


विश्वकै जटिल स्वास्थ्य चुनौति बनेको कोरोनाभाइरस (कोभिड-१९)को असर दिनानुदिन बढ्दै गएको छ । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यसको संक्रमणको घटना देखिसकिएको छ । नेपालमा हालसम्म परिक्षण भएका १७५,१७३ मध्ये ९,०२६ मा संक्रमण भेटिएको छ । जसमध्ये १,७७२ जना संक्रमणरहीत भएर घर फर्किसकेका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको घटनामा अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या दश लाख नाघेको पुष्टि भएको केही दिनपछि मृतकको संख्या विश्वमै दोस्रो उच्च देखिएको हो । विज्ञहरू अनुसार पर्याप्त परीक्षण नभएको र संक्रमण उच्च बिन्दुमा पुग्न अझै बाँकी रहेकाले वास्तविक संक्रमित संख्या बढी हुनसक्ने बताउँछन् ।

संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । जुन आजसम्मकै एकैदिन थपिएको सर्वाधिक संक्रमित संख्या हो । यसमा पनि संयुक्त अधिराज्य अमेरिकामा सर्वाधिक संक्रमित संख्या भेटिएका छन् अहिलेसम्म अमेरिकामा २० लाख व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ ।

ब्राजिलको समस्या
कोरोनाभाइरसबाट धेरै मृत्यु हुने देशहरूमध्ये ब्राजिल दोस्रो स्थानमा रहेको छ । त्यहाँ ५० हजारभन्दा बढी व्यक्तिले कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । संक्रमणका कारण मृत्यु हुने र नयाँ संक्रमित व्यक्तिहरूको सङ्ख्यामा ब्यापक वृद्धि भएको देखिएता पनि राष्ट्रपति जाइर बोल्सोनारूको दवाबका कारण ठूला शहरहरू पुनः खुला हुन थालिसकिएका छन् । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी प्रतिबन्धहरुका कारण आफ्नो देशको अर्थतन्त्र ध्वस्त भएको राष्ट्रपतिको दावि रहिआएको छ।

गत साता राष्ट्रपतिका पूर्वसहयोगी र उनका परिवारका सदस्यहरुको गिरफ्तारी भएपछि विपक्षीहरूले बोल्सोनारूमाथि महाभियोग लगाउन माग गरेका छन् ।


Loading comments...