छन्द अभियान र माधव वियोगी


लेखकः इन्दिरा प्रसाई

‘एकदिन नारद सत्यलोक पुगी गया लोको गरुँ हित भनी’

यस धरामा आएपछि होस् सम्हाल्दा नसम्हाल्दै सर्वप्रथम मेरा कानमा परेको श्लोक यही हो । मेरी आमा यो श्लोक बारम्बार गाउनु हुन्थ्यो । हुनत आमालाई गृहस्थी सम्हाल्दा हत्पति फुर्सत् त हुँदैनथ्यो । तर फुर्सत् भइहाल्यो भने आमाले रातो कपडामा बेरेर राखेको पुरानो एउटा किताब खोलेर पढ्नु हुन्थ्यो ।

सायद मेरी आमाका लागि त्यस जमानामा त्यही एउटा किताब मनोरञ्जनको विशेष साधन हुनुपर्छ । किनभने उक्त किताब छुने बित्तिकै आमाको अनुहार नै उज्यालो हुन थाल्थ्यो । थाकेर लखतरान भएकी मेरी आमाले सबै थकान बिर्सिँदै गएझैँ भएर त्यो किताब खोलेर पढ्नु हुन्थ्यो । त्यतिबेलाको आमाको त्यो उज्यालो अनुहार र मीठो स्वर अहिले पनि मेरा कानमा गुञ्जिने गर्छ ।

त्यस जमानामा जब संसारमा टेलिभिजन अथवा मोबाइल र युट्युबको कल्पना पनि भएको थिएन र अझ हाम्रा घरमा त रेडियो नै पनि निकै पछि आएको थियो । यो कुरा अक्षरसँग मेरो परिचय हुनु अघिको हो।

लेखकः इन्दिरा प्रसाई

संस्कृत भाषा नजान्नु, शास्त्रीय छन्दबद्ध कविता लेख्न नसक्नु तथा शास्त्रीय सङ्गीत नजान्नु मेरा लागि ज्यादै ठूलो अज्ञानता रहेछ भन्ने भास मलाई भएको छ । तर समय बितेपछि उघ्रेको आँखा सरह भएर अब यी सबै मेरा लागि मरुभूमीको मृगतृष्णा सरी पनि भएको छ ।

त्यसबेला अक्षर पढ्न सिकेपछि त्यो किताब त म पढ्छुपढ्छु भन्ने मलाई लाग्थ्यो। तर आमाले त्यो किताब हामीलाई पल्टाउन त परै जाओस् राम्रोसँग छुन पनि दिनु हुन्न थियो । कपडामा बेरेर राखिने त्यो किताब पढिसकेर आमाले पूजाकोठामा भएको उहाँको विशेष काठको दराजमा थन्क्याउनु हुन्थ्यो । र त्यस दराजमा ताल्चा पनि लाउनु हुन्थ्यो । त्यस ताल्चाको साँचो पनि ठूलो साँचाकै झुप्पोमै हुन्थ्यो । जुन झुप्पो एउटा रुमालमा गाँठो पारिएको हुन्थ्यो । अनि त्यो रूमाल आमाका कम्मरमा सिउरिएको हुन्थ्यो । यसरी आमाले कसैले हत्तपत्त छुन पनि नपाउने गरी थन्क्याउने गर्नु भएको सो किताब अप्राप्य झैँ भएकैले पनि हुन सक्छ उक्त पुस्तक मेरा लागि निकै महत्त्वको थियो । यो कुरा पनि म किताबको दुनियाँमा आउनु अघिकै हो ।

खासमा मैले धेरै पछिमात्र बुबाको मुखबाट थाहा पाएकी थिएँ, त्यो किताब दुई कारणले मेरी आमाका लागि प्रिय रहेछ । एक त उहाँले सोही किताबबाटै सावाँ अक्षर चिन्नु भएको रहेछ; अनि अर्को मेरी आमाले हजुरआमासँग मागेर सोही किताब माइतीबाट दाइजो ल्याउनु भएको रहेछ । त्यसैले हामी सबै चुल्बुले केटाकेटीको सिकार हुनबाट जोगाउन उक्त किताबलाई अमूल्य निधि झैँ सुरक्षित राख्नुहुँदो रहेछ मेरी आमा । अनि जब सोही पुस्तकबाट अक्षर सिकेकी मेरी आमा दुर्गादेवी नेपालले आफ्नो अदम्य ईच्छा र साहसका कारण ‘बगेको खोला’ (२०७२) आत्मकथा नै लेख्नु भएपछि भने मलाई उक्त मेरी आमाको प्रिय किताबप्रति थप गौरव भएको छ ।

अलि ठूली भएपछि उक्त किताब नै आदिकवि भानुभक्त आचार्यको प्रख्यात कृति ‘रामायण’ भएको मैले थाहा पाएकी थिएँ । त्यसैबीच रामायणकै अर्को किताब बुबाले किनेर घरमा ल्याउनु भएको थियो र मैले त्यसपछिमात्र ‘रामायण’ मज्जाले छुन र पढ्न पनि पाएकी थिएँ । तर आमाले झैँ लय हालेर पढ्न मलाई कहिल्यै आएन । अर्थात् सिक्ने कोशिसै पनि गरिन् भन्नू उपयुक्त हुन्छ ।

लयका कविता भनेको छन्द हो र छन्द थरिथरिका हुन्छन् भन्ने कुरा सात आठ कक्षामा पढ्न थालेपछि मैले चाल पाएकी हुँ । त्यति बेलासम्ममा म स्कूलका कतिपय कवि गोष्ठीमा कविता सुनाउने पनि भइसकेकी थिएँ भने साथीहरूका लागि अटोग्राफका पन्नामा नाउँको लहर मिलाउने कविता लेख्नमा सिपालु पनि थिएँ । अनि त्यतिबेला नै साथीहरूका लागि प्रेमपत्र लेखिदिने काम पनि फाट्ट फुट्ट चल्न थालिसकेको थियो । त्यो मेरो बाल जीवनको पेसै थियो । जसबापत मलाई साथीहरूले उनीहरूका घरबाट ल्याएको वा किनेर भए पनि टिफिनको समयमा खाजा खुवाउने गर्थे ।

त्यति बेला हाम्रा विद्यालयका किताबहरूमा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी प्रवृत्ति पद्य कविहरूका कविता मैले नपढेको पनि होइन । तर यी त पाठ्य पुस्तकका घोकन्ति विद्यामा परेका थिए । अनि मेराओरिपरि जताततै भने गद्य कविताकै सेरोफेरो थियो । साथै गोपालप्रसाद रिमाल, भूपी शेरचन, ईश्वरवल्लभ, मोहन कोइरालाआदि गद्य कविहरूको डङ्का बजेको पनि त्यो समय थियो ।

तर छन्दमा कविता लेख्नुपर्छ भन्ने प्रेरक पथ मैले कतैबाट पनि नपाएको भने सत्य हो ।

ती भाग्यमानीहरूको आरिस गर्नबाट पनि मलाई कसैले पञ्छाउन सक्तैन । जसले माधव वियोगीजस्ता सकारात्मक, सरल, शान्त, प्रतिभाशाली, परोपकारी र निष्काम कर्मयोगी गुरु पाएका छन् ।

छन्द भनेको पुरानो शैली, गाइने वा बूढाबूढीले गाउने रामायणजस्तै गीताङ्गी हो भन्ने किसिमले त्यतिबेला चल्ने चर्चाका प्रभावले मेरो मन पनि जितेको थियो । छन्दमा लेख्नेहरू ‘डेट एक्सपायर्ड’ साहित्यकार हुन् भन्ने नै त्यतिबेला मैले पनि बुझेकी थिएँ ।

छन्दकवि भन्ने बित्तिकै अलि हियाउने किसिमको प्रवृत्तिरुपि सरुवा रोगको सिकार पनि म भएकै थिएँ । त्यसैले आधुनिक कवि हुने लहडमा धमाधम गद्य कविताकै बाटोमा म पनि अघि बढेँ ।

त्यसपछिका समयमा म जति जति वयका साथै वैचारिक पनि प्रौढतातर्फ उन्मुख हुन थालेँ अनि छन्द कविताको अर्थ र अौचित्य पनि मेरा सामू क्रमशः उघ्रिन थाल्यो । संस्कृत साहित्यका महत्तम ग्रन्थहरूका बारेमा पनि जानकारी हुँदै गएपछि भने मलाई बितेको समयप्रति दुखेसो भएको छ । संस्कृत भाषा नजान्नु, शास्त्रीय छन्दबद्ध कविता लेख्न नसक्नु तथा शास्त्रीय सङ्गीत नजान्नु मेरा लागि ज्यादै ठूलो अज्ञानता रहेछ भन्ने भास मलाई भएको छ । तर समय बितेपछि उघ्रेको आँखा सरह भएर अब यी सबै मेरा लागि मरुभूमीको मृगतृष्णा सरी पनि भएको छ । यसबेला त म फगत् बितेको समयप्रति केवल निरस तर लोभिलो दृष्टिमात्र फर्काउने निरर्थक प्रयत्न गर्न सक्छु ।

वास्तवमा छन्द नै जीवनको गति रहेछ । बेछन्दको जीवनको त अर्थै रहेन छ । छन्दबाट टाढा हुने कवि र आमाविनाको शिशुको अवस्था झन्नै झन्नै उस्तै हुने रहेछ । कस्तो रहेछ त्यो पाषाण समय जस्ले हामीलाई हाम्री छन्दमाताबाट टाढा राखेछ । मलाई बितेको समयप्रति दुखेसो मात्र छ ।

मलाई लाग्छ संस्कृत शिक्षालाई पाखा पारिनु हाम्रो समाज अधोमुखी हुँदै जानुको प्रमुख कारण हो । अर्को कुरा मानव जीवनलाई शिष्ट र मर्यादित बनाउन बालबालिकालाई बेलैदेखि संस्कृत भाषासाहित्य र छन्दको ढाँचामा पनि सामेल गरिनु पर्छ । वास्तवमा समाजलाई छन्दको लयमा आबद्ध गर्न सके धेरै किसिमका विसङ्गतिहरूबाट मुक्त पार्न सकिन्छ भन्ने मलाई लागेको छ । नव नेपालको निर्माण गर्ने हो भने बालबालिकाहरूलाई माध्यमिक तहसम्मको शिक्षामा अङ्गेजी भाषा र विज्ञान प्रविधिका साथसाथै यदि संस्कृत भाषा, परम्परागत संस्कृति, नैतिक शिक्षा, योग र प्रकृतिपरक ज्ञानका साथै छन्द कविताको जगसमेत बसाल्नु पर्छ । तब हाम्रो नेपालको भविष्य पनि सुरक्षित र स्वस्थ्य हुन्छ भन्ने पनि मलाई विश्वास छ ।

मेरो त अब उर्वर समय समाप्त प्रायः भइसकेको छ । यति बेला छन्दको कखरा सिकेर महाकाव्यको रचना गर्ने धृष्टतामा बाँकी रहेको जीवन गतिलाई मैले अवरुद्ध पार्नु पनि हुँदैन ।

अहिले कल्पन चाहिँ म पनि सक्छु, माधव वियोगीजस्ता गुरु मैले पनि त्यतिबेला पाएको भए म अवश्य पनि छन्दकै विद्यार्थी बन्ने थिएँ होला ।अनि वर्तमान पुस्ता र भावी पुस्ताका भाग्यमानी युवाहरूप्रति ईर्ष्या गर्नबाट पनि मलाई कसैले रोक्न सक्दैन । ती भाग्यमानीहरूको आरिस गर्नबाट पनि मलाई कसैले पञ्छाउन सक्तैन । जसले माधव वियोगीजस्ता सकारात्मक, सरल, शान्त, प्रतिभाशाली, परोपकारी र निष्काम कर्मयोगी गुरु पाएका छन् ।

नेपाली साहित्यका प्रत्येक विधाले माधव वियोगीजस्तै एकनिष्ठ, शिष्ठ, मर्यादित र अनुशासित विशिष्ठ स्रष्टा एवम् अविरल अभियन्ता पाउन सके समग्र नेपाली साहित्यको विकासका लागि कसैले चिन्ता गर्नु पर्ने थिएन ।

कर्मनिष्ठ माधव वियोगीबाट छन्द अभियानका सन्दर्भमा विश्वव्यापी आन्दोलन र यसले पाउँदै आएको उच्चतम सफलताप्रति गर्वले शिर ठाडो पार्दै यसबेला म उहाँको जिन्दावादको नारा घन्क्याउँछु ।

• जय छन्द अभियान !
• जय माधव वियोगी !

© इन्दिरा प्रसाई


Loading comments...