वलिउडले गुमायो अर्को महान हस्ती ‘मास्टरजी’ सरोज खानको निधन


मास्टरजी सामान्यतया पुरुषलाई गरिने सम्वोधन हो यद्धपी वलिउडमा पछिल्ला ३ दशकदेखि महिला मास्टरजी अर्थात चर्चीत नृत्य निर्देशक सरोज खानको बोलबाला रही रह्यो । गतराती २ बजेर ३० मिनटमा सरोजले आफ्नो अन्तिम सास फेरिन्, शुक्रवार यिनको अन्त्येष्टि मुम्बईको वालाडमा गरिनेछ । उनी वलिउडमा ‘मदर अफ डान्स’को उपनामले परिचित थिइन् ।

वलिउडको कोरियोग्राफीको रङ्गीन इतिहास अनि लोभ्याउने प्रर्दशनमा सरोज खानको उल्लेखनीय भूमिका छ । चलचित्र चल्न गीतको उल्लेखनीय भूमिका हुने वलिउडको पार्श्वगायन अनि गीतको छायाङ्कन विश्वभर नै चर्चित छ । सरोज खानले यहि वलिउडको आङ्गनमा २००० भन्दा बढि गीतहरुमा कोरियोग्राफी गरिन् । गीतको शब्द अनुसारका अनुहारका हाउभाउका लागि खप्पिस मास्टर सरोज खान ‘एक्स्प्रेशन क्वीन’को उपनामले समेत परिचित थिइन् ।

माधुरी दिक्षित र श्रीदेवीका गीतहरुमा सल्बलाएको आधुनिक वलिउडको रङ्गीन चलायमान चित्रहरुमा सरोज खानको नेतृत्व गज्जब मानिन्छ । रेन डान्स देखि स्वप्न झै देखिने दृश्यसम्म, एैतिहासिक कालका झल्को दिने कोरियोग्राफ देखि आधुनिक यूगका भर्चुअल प्रेमकथाका सिनेमामा समेटिएका गीतका दृश्यमा सरोजले कलात्मक गती दिएकी थिइन् ।

सरोज खानले तीन पटक भारतको प्रतिष्ठित ‘नेशनल फिल्म अवार्ड’ प्राप्त गरेकी थिईन । सन् २००३ मा देवदासको गीत “डोला रे डोला”, २००६ मा श्रृंगारमका लागि तथा २००८ मा जब वी मेटको ‘ये इश्क हाए’का लागि नेश्नल फिल्म अवार्ड प्रदान गरिएको थियो ।

नृत्य अर्थात डान्स सबैका लागि सहज छ, सबैजनाले नाच्न सक्दछन् भन्ने तथ्य प्रयोगात्मकरुपमा नै वलिउडमा स्थापना गर्न सफल सरोज खानको जन्म सन् १९४८ मा भएको थियो । सन् २०२० सम्मको इहलिलामा वलिउडकी मास्टरजीले अनेकन सृजना र प्रयोगहरु छाडेर गएकी छिन् । यिनका जादूमय कोरियोग्राफहरु स्क्रिनमा सदाबहार भएर बाँचिरहनेछन् । यिनले २००० भन्दा बढि गीतहरुमा निर्देशन गरेकी छिन्, काम र नयापना दिने कुरामा यिन्को नेतृत्वलाई वलिउडले सदैव सम्मान गर्नेछ । वलिउडको अनस्क्रिन डान्सदेखि गीतहरु सुनेर नाच्ने विश्वभरका दर्शकहरुसम्म सरोज खानका सहज अनि सरल नृत्य स्टेपमा झुमिरहने छन् । वलिवुडकी मास्टरजीलाई नेपालवाट श्रद्धासुमन !


Loading comments...