चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्रदर्शन


हिन्दूवादी नेता विनय यादव नेतृत्वको ‘राष्ट्रिय एकता अभियान’ले चीनले नेपाली भूमी मिचेको विरोधमा शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुई गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभियानले देशव्यापी विरोध प्रर्दशन शुरु गरेको छ । गत हप्ता अभियानले चीनलाई उक्त भुमी छोड्न दबाव दिदैं काठमाडौँ र वीरगञ्जमा समेत प्रदर्शन गरेको थियो ।

अभियन्ता मनिष हिन्दूको नेतृत्वमा जनकपुरको जनक चोकमा शुक्रवार भएको प्रदर्शनमा चिनियाँ दलाली बन्द गर, रुई गाउँ फिर्ता गर, देश बेच्न पाईदैन भन्दै गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्रीविरुद्ध नारा लगाएका थिए । प्रदर्शनकारीहरुले चीनले नेपालको सीमा मिच्दा र पूरै गाउँ कब्जा गर्दा पनि गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीप्रति आक्रोश व्यक्त गरेका थिए ।

प्रदर्शनकारीहरुले सगरमाथा नेपालको भएको भन्दै सगरमाथा आफ्नो देशमा भएको दावी गर्ने चीनविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

कार्यक्रममा प्रदर्शनकारीहरुले परराष्ट्रमन्त्री चीनको एजेन्डामा चलेको भन्दै उनको बर्खास्तीको समेत माग गरेका थिए । उनीहरुले प्रदीप ज्ञवालीलाई बर्खास्त नगरे आफ्नो आन्दोलन अझै चर्को बनाउँदै लैजानेसमेत बताएका थिए ।


Loading comments...