कथा सङ्ग्रह ‘तमसुक’का लेखक पदम विश्वकर्मासँग कुराकानी


पदम विश्वकर्मा नेपाली साहित्यको क्षेत्रमा एक सुपरिचित नाम हो । साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील रहेर उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । पदम विश्वकर्माले हालै सार्वजनिक गर्नुभएको कथा सङ्ग्रह ‘तमसुक’ लाई आधारमा मानेर संयुक्त अधिराज्य अमेरीकामा बसेर अर्थशास्त्र तथा नेपाली साहित्यको सेवा गर्दैआउनुभएका विश्वराज अधिकारीले उहाँसँग जुलाई २, २०२० मा लिएको भएको अन्तर्वार्ता प्रस्तुत गरिएको छ ।

१. अहिले केही लेख्दै हुनु हुन्छ ?
उपन्यास लेख्दै छु र बीचबीचमा दोस्रो कथा संग्रह पनि अन्ततिर आइपुगेको छ ।

२. साहित्य क्षेत्रमा आउन कुनै व्यक्ति, वा के कुराले प्रेरित गर्यो?
मेरो दाजु शिक्षित हुनुहुन्थ्यो र उहाँले त्यतिबेलाका साहित्यिक कृतिहरु नियमितरुपमा घरमा ल्याउनु हुन्थ्यो । सानैदेखि त्यस्ता कृतिहरु पढ्न मन लागेर आउँथ्यो र ती पुस्तकहरु खासगरी कविताहरु भाका हाली हाली पढ्न मन लाग्थ्यो । हाइस्कूलमा गएर त कविता, निबन्ध प्रतियोगिताहरुमा सबैमा पहिला दोस्रा भएपछि झन रमाइलो लाग्न थाल्यो र यस्ता साहित्यिक पुस्तकहरु पढ्ने रहर झनै पलाएर आयो ।

३. तपाइँले लेख्नु भएको कथा सङ्ग्रह ‘तमसुक’ पढें । यो सङ्ग्रहमा समाविष्ट कथाहरू लेख्न के कुराबाट प्रेरित हुनु भयो?
तमसुकमा समाविष्ट कथाहरु हाम्रै जीवन र जगत्का पृष्ठभूमिमा आधारित छन् । तीनै भोगाइ, अनुभूति, पात्रहरुले भोगेका जीवनगाथाहरुले तीनै विषयवस्तुहरुमा लेख्न अभिप्ररित गर्यो ।

४. कथाका सामाग्री वा विषय वस्तु के को आधारमा छनौट गर्नु हुन्छ?
कथाका विषयवस्तुहरु आफैले भोगेका, देखेका, सुनेका र अनुभव गरेका दृष्टान्तमा आधारित हुन्छन् ।

५. कथा समाज (सुधार) का लागि लेखिनु पर्छ वा कथा कथाकारको स्वतन्त्र अभिव्यक्ति हो?
लेखन लेखकको स्वतन्त्र अभिव्यक्ति हो। तर लेखकले लेख्ने विषय, ज्ञान, दर्शनले समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने हुनाले समाजोपयोगी भएमा त्यसले समाजको उन्नयन, विकास र सन्देशमूलक हुन सक्छन्। तर सबै लेखन समाज सुधारका लागि नहुन पनि सक्छन् ।

६. कथा लेख्दा कथाकारले आफूलाई लागेको कुरा लेख्ने, अभिव्यक्त गर्ने हो वा कथाकार केवल माध्यम बनेर उसले जे देख्यो त्यो लेख्ने हो?
यसमा दुवै कुरा हुन सक्छन् । मुख्य कुरा कथाकारले आफू माध्यम बनेर यथार्थ कुरा लेख्न सक्यो भने त्यो जीवन्त हुन सक्छ । यसका साथै कथाकारले आफूलाई लागेको कुरा पनि कथाका माध्यमबाट कथाका पात्रमार्फत् लेख्यो भने पनि त्यो सन्देशमूलक बन्न सक्छ। तर दोस्रो पक्ष भने कथामा गौण विषय हुन् भन्ने लाग्छ ।

७. कुनै सामाजिक, मनोवैज्ञानिक, राजनीतिक विषयको अनौठो वा खास किसिमले प्रस्तुत गर्नु कुनै कथाकारको सफलता हो वा कुनै कथाकारको कथाका पाठकहरूको संख्या अत्यधिक हुनु उसको सफलता हो?
समाजका विभिन्न पक्षमा रोचक ढंगले लेख्नसक्नु कथाकारको कथाकारिता हो । कथा राम्रो, मीठासयुक्त, सरस, सन्देशमूलक छ भने पाठकहरुले मन पराइहाल्छन् । कथाको सफलता हुन विषय बस्तुमात्रै प्रमुख पक्ष हो भन्ने लाग्दैन । पाठकको मन छुने हुन पर्यो, पाठकलाई बाँधेर राख्न सक्ने हुनु पर्यो, कथा पढिरहुँ बनाउनु नै यसको सफलता हो जस्तो लाग्छ मलाई ।

८. के कुनै पुरस्कारले मात्र कुनै कृति उच्च स्तरको छ भन्ने कुराको पुष्टि गर्छ? अर्थात पुरस्कृत कृतिहरू मात्र उच्च स्तरीय हुन्छन?
पुरस्कृत कृतिहरुमात्र स्तरीय हुन्छन् भन्न सकिन्न । पुरस्कार त पुरस्कारदाताको छनोटको आधारमा दिइन्छ । सबै कृतिहरु ती आधारभित्र परेका नहुन पनि सक्छन् । पाठकले मन पराएका कृति नै उच्चस्तका कृति हुन्छन् भन्ने लाग्छ ।

९. कुनै कृतिलाई उच्च स्तरीय वा लोकप्रिय मान्नु को आधारहरू के के हुन सक्छ?
पहिलो मापन नै पाठक हुन्। त्यसको भाषा, सन्देश, मीठास, साहित्यिक रस नै कृति लोकप्रियताका आधार हुन्।

१०. अन्य मुलुक (जस्तै अमेरिका, ग्रेट ब्रिटेन, क्यानाडा आदि) मा पुरस्कृत नभएका पुस्तकहरू पनि ठूलो परिमाणमा बिक्री हुन्छन । नेपालमा किन केवल पुरस्कृत पुस्तकहरू मात्र ठूलो संख्यामा बिक्री हुन्छन?
पुरस्कृत नभएका कृति ठ्याम्मै विक्री नहुने भन्ने होइन, हुन्छन् त्यस्ता कृतिहरु पनि बिक्रि भएका छन् । तुलनात्मक रुपमा कम हुने मात्रै हुन सक्छ । हाम्रो बजारको आकार सानो छ, पाठक कम छन् । पुस्तक किनेर पढ्ने बानीको विकास भैसकेको छैन हाम्रो परिवेशमा।

११. नेपाली साहित्यको विश्वव्यापीकरण गर्न के गर्नु पर्ला ?
नेपाली साहित्यको विश्वव्यापीकरण खासगरी नेपाली साहित्यका उत्कृष्ट कृतिहरु विभिन्न मुख्य भाषाहरुमा अनुवाद गर्ने, अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा सहभागिता हुने र नेपाली साहित्यको बारेमा चर्चा परिचर्चा गर्ने, गराउने, विदेशी साहित्यकारहरुसंग अन्तरक्रिया गर्ने, विदेशी साहित्यकारहरुसंग सहकार्य गर्ने, उनीहरुलाई छुटटै कार्यक्रमको आयोजना गर्ने, नेपाली साहित्यकारहरुसँग अन्तरक्रिया गर्ने वातावरण सिर्जना गर्ने र नेपाली साहित्यका उत्कृष्ट कृतिहरुलाई अन्तर्राष्ट्रियस्तरका पुरस्कारहरुमा भाग लिने, लविगं गर्नु पर्दछ भन्ने लाग्छ ।

१२. नेपाली साहित्य बजारमा पुस्तकहरूको बिक्री किन निराशाजनक स्थितिमा छ?
त्यस्तो निराशा नै मान्नु पर्ने अवस्था छ जस्तो लाग्दैन मलाई। राम्रा कृतिहरु विक्री भैरहेका छन् । पाठकहरुले पढिरहेका पनि छन् । साहित्यिक पुस्तकहरु पढ्नुपर्छ भन्ने चेतनाको विकास भइरेहेको छ । पुराना र नयाँ पुस्ताहरु पनि नेपाली र विदेशी साहित्यका पुस्तकहरुमा अभिरुचि देखाएको पाइन्छ । यसको साथमा बजारमा पुस्तकहरु प्रशस्तरुपमा उपलव्ध भएका हुनाले पाठकहरुको छनोट अनुसार पुस्तकहरु बिक्रि हुनु स्वाभाविक भएको हुनुपर्छ ।

१३. नेपालमा नाम चलेका साहित्यकारहरूले नव साहित्यकारहरूको कृति पढ्ने, समीक्षा गर्ने, चर्चा गर्ने आदि किन गर्दैननन्?
कसै कसैले गरेका पनि छन् जति मात्रामा हुनु पर्ने हो त्यो नभएको मात्रै हो । नाम चलेका साहित्यकारहरुलाई आफ्नै पुस्तकको चर्चा परिचर्चा गराउन र लेख्नमै व्यस्त भएर हुनु पर्छ । तर आजभोली नवप्रतिभा र नवसाहित्यकारहरुका पनि उत्कृष्ट कृतिहरु प्रकाशन भैरहेका छन् र नवप्रतिभाहरु पनि उत्कृष्ट लेखनमा उत्तिकै उद्त देखिन्छन् ।

१४. नेपालका अधिकांश साहित्यकारहरू स्वयंले राम्रो अध्ययन गर्दैनन। धेरै किताबहरू पढ्दैन। केवल मेरो पढिदेऊ। म तिम्रो किन पढ्ने? यस्तो गर्छन। नेपालका आधिकांश साहित्यकारमाथि लागेको यस्तो आरोप उचित छ?
आफूले आफ्नो कृति पढिदेउ जोसुकैले पनि भन्नु सामान्य लाग्छ किन की सबैले आफ्नो उन्नती चाहन्छ । त्यस्तो अवस्था पूर्णरुपमा छ जस्तो लाग्दैन मलाई । पढ्ने साहित्यकारहरु पनि प्रसस्तै छन् नेपालमा ।

१५. तपाइँले पढ्नु भएको र तपाइँलाई अति नै मन परेको कृति कुनु हो?
विदेशको बसाइ भएकोले नेपाली साहित्यका सबै पुस्तकहरु चाहेर पनि पढ्न सकिँदैन । ती मध्ये केही पुस्तकहरु पढने मौका पाएको छु । नेपाली साहित्यमा उत्कृष्ट थुप्रै कृतिहरु भएकोमा गर्व लाग्छ मलाई । यसैले पनि नेपाली साहित्यको भविष्य उज्वल छ । मुनामदन, गौरी लगायत नेपाली साहित्यमा सयौं राम्रा र मन परेका कृति भित्र पर्दछन् ।