के हो ‘ब्यूबनिक प्लेग’?


मुसा र त्यसका परजीवीमा पाइने येर्सिनिया पेस्टिस (#YersiniaPestis) नामक सूक्ष्मजीव नै प्लेग रोगको मुख्य कारण हो । यो एउटा घातक संक्रामक रोग हो जुन मानिसमा सजिलै लाग्न सक्छ ।

मानिसमा यो प्लेग रोग लागेपछि काँखी र तिघ्राको बीचमा दुख्ने र सुन्निएको डल्लो देखिन्छ । प्लेगका कारण सन् २०१० देखि २०१५ सम्म विश्वभरि यसका ३,२४८ बिरामी भेटिएकोमा ५८४ जनाको मृत्यु भइसकेको छ ।

“ब्ल्याक डेथ” अर्थात् “कालो काल” ले परिचित यस प्लेग रोग लागेका मानिसहरूको हात र खुट्टाको औँलाहरू विस्तारै कालो भएर कामै नलाग्ने हुँदै जान्छन् ।

यो कस्तो रोग हो?
येर्सिनिया पेस्टिस ब्याक्टेरिया मानिसमा संक्रमण भएको २ देखि ६ दिनमा मानिस बिरामी पर्नथाल्दछ । काँखी र तिघ्राको बीचमा कुखुराको अण्डा जत्रोसम्मको सुन्निएको मासुको डल्लो देखिनु बाहेक ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र थकान भइरहने यसका प्रमुख लक्षण हुन् ।

प्लेगले फोक्सोलाई पनि असर गर्न सक्ने भएकोले खोकी, छाती दुख्ने र सास फेर्न गाह्रो पनि हुनसक्छ । ब्याक्टेरिया रगतमा पनि प्रवेश गरेर सेप्सिस गर्न सक्छ जसका कारण विभिन्न अङ्गले काम गर्न छोड्ने भएकाले मृत्यु हुनसक्छ ।

यो रोग कसरी सर्छ?
यसको सङ्क्रमण निम्न कारणले हुन सक्छ:

  • सङ्क्रमित उपियाँको टोकाइबाट
  • मुसाजस्ता संक्रमित जनावरलाई छुँदा
  • संक्रमित मानिस वा जनावरको सास वा खोकीबाट निस्किने छिटाबाट
  • घरपालुवा कुकुर र बिरालोहरू पनि उपियाँको टोकाइ वा संक्रमित मुसा खाँदा सङ्क्रमित हुने सम्भावना हुन्छ।

के यसको उपचार सम्भव छ?
येर्सिनिया पेस्टिस ब्याक्टेरिया संक्रमित जनावरको रगतका रहेको ब्याक्टेरिया मानिसको घाउमार्फत् पनि रगतमा प्रवेश गर्न सक्छ । चीनमा अहिले संक्रमण हुन सक्ने जनावर मार्न र खान प्रतिबन्ध लगाइएको छ।

प्लेगका कारण मृत्यु भएका मानिसको शवनजिकै जाने व्यक्तिहरूलाई पनि यो सर्न सक्छ । संक्रमण भएको जानकारी प्राप्त भएपछि याथाशक्य छिटो एन्टीबायोटिकमार्फत् उपचार गर्नु आवश्यक हुन्छ ।

बिनाउपचार यो रोग घातक हुन्छ। रगत वा शरीरका अन्य नमुना लिएर गरिने परीक्षणले ज्यान जोगाउँछ।

के अहिले यसको महामारी सम्भव छ त?
प्लेग अझै पनि संसारका थुप्रै ठाउँहरुमा छन् । हालैका वर्षमा कङ्गो र म्याडाग्यास्करमा समेत यसको संक्रमण फैलिएको पाइएको थियो ।

साउथह्याम्टन विश्वविद्यालयसँग आबद्ध सूक्ष्मजीववैज्ञानिक डा. म्याथ्यू ड्राईडन भन्छन्, “सुरुमै चरणमा ती सङ्क्रमण थाहा भएका कारण एक्ल्याएर उपचार गर्न र सङ्क्रमण रोक्न सहज भयो।”

“ब्यूबनिक प्लेग ब्याक्टेरियाले हुने भएकोले एन्टीबायोटिकले सहजै उपचार गर्न सकिन्छ। त्यसैले चीनमा एकजनामा सङ्क्रमण भेटिनु जोखिम सुनिए पनि अहिलेलाई त्यो सहजै उपचार हुनेगरी एक जनामा मात्रै देखिएको छ।”


Loading comments...