भानुभक्त आचार्यको शिक्षादीक्षा


आदिकवि भानुभक्त आचार्य तनहुँका सम्पन्न कुलघरानका पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण संस्कृतका विद्वान् थिए । प्राध्यापक डा.वासुदेव त्रिपाठीका बुबा प्रेमदत्त त्रिपाठीका अनुसार उनी बिर्तावाल पनि थिए ।

श्रीकृष्णका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । धनञ्जय पनि आफ्ना बाबुकै हाराहारीका नभए तापनि त्यस भेगमा नाउँ चलेका पण्डित थिए । यिनी पाल्पा तहसिल सरकारी अड्डाका हाकिम थिए र यिनको पद खरदार थियो । यिनले कम्तीमा तीस वर्ष जागिर खाए र यी बाँचुन्जेल ओहदामै रहे भनिन्छ । जागिरे बाबु धेरैजसो घरबाहिर हुँदा आफ्ना बाजेसँगै भानुभक्तको बाल्यकाल बितेको थियो ।

लेखकः नरेन्द्रराज प्रसाई

आफ्ना शिक्षा र संस्कारले सम्पन्न पारिवारिक पृष्ठभूमिमा हुर्कंदा भानुभक्तको जीवनचर्या पनि सानैदेखि एउटा पण्डितको ठाँटको जस्तै बन्दै जान थाल्यो । बाजेकै रहनसहन र छत्रछायामा हुर्कने क्रममै उनी परिपक्व हुँदै गए । अनि उनले आफ्नो जीवनमा आचरण, व्यवहार र प्रवृत्तिलाई निखार्दै जान थाले ।

बाजे श्रीकृष्णकै दौराको फेर समाएर भानुभक्तले हिँड्न सिकेका थिए । उनकै छहारीमा भानुभक्तले पढ्न र लेख्न पनि सिके । उनले १८७५ सालको श्रीपञ्चमीका दिन अक्षरारम्भ गरेका थिए । सु.रङ्गनाथ शर्माका अनुसार “५ वर्ष लागेपछि १८७५ सालको माघ मैन्हामा शुभ दिन सुमुहूर्त पारी गणेशादिको पूजागरी अक्षरारम्भ गराए । मैन्हा दिनमा नै जोडेका अक्षर सम्म पनि चिन्न सक्ने गराए र पैले याज्ञवल्क्य प्रणीत सप्तश्लोकी श्री सूर्यकवच पढाए । भानुभक्तले यो सूर्यकवच ७ दिनमा कंठ पारी आफ्ना पितालाई सुनाए ।” शर्माका अनुसार भन्ने हो भने— सानैमा उनले ‘सूर्यकवच’, ‘दुर्गाकवच’सहित सप्तशती, चण्डी र ‘अमरकोश’ पढेका थिए । विभिन्न खोजकर्ताहरूका सूचनाको मिलान गरेर भन्नुपर्दा भानुभक्तले व्रतबन्धपछि वेद, व्याकरण, साहित्य, दर्शन आदि बाजे श्रीकृष्णसँगै पढे र पछि बनारसमा विशेष गरी वेदान्त आदि विद्या पढे । रङ्गनाथ शर्मा त भानुभक्तले खास आफ्ना बाबु धनन्जयबाटै ज्यादा शिक्षा पाए भन्छन् । १८८३ सालमा भानुभक्तले ज्योतिष पढेका थिए भनिन्छ । एक जनश्रुतिअनुसार भानुभक्तले कास्कीतिर गई पढेका पनि थिए । साथै अर्को जनकारीअनुसार केही वर्ष लमजुङस्थित उनको मामाघरमा पनि राखेर उनलाई पढाइएको थियो । प्राध्यापक डा.जयराज आचार्य र प्राध्यापक डा.वासुदेव त्रिपाठीसमेतका अनुसार भानुभक्तलाई ज्योतिष पढाउने गुरु बाग्लुङका बद्रीनाथ पन्त थिए । यी सबै कुरा मिली भानुभक्तको शिक्षा पूरा भयो ।

आफ्ना बाजे श्रीकृष्ण आचार्यका औँला समाएर हिँड्न पाएकाले भानुभक्तले सानैदेखि धेरै कुरा सिकेका थिए । श्रीकृष्ण खेतीपाती गर्नेदेखि समाजसेवा र धर्मकर्म मात्र होइन; शास्त्रीय परम्पराका कुरा गर्नसमेत सिपालु थिए । पं.नरनाथका अनुसार भानुभक्तले विद्यातिर निकै मन दिएका थिए । (कविराज पण्डित नरनाथ शर्मा आचार्यले ‘आदिकवि कविसम्राट् भानुभक्त आचार्यको सच्चा जीवन चरित्र (२०१७)’ नामक कृतिमा भानुभक्तको जीवनी र कविताबारे गद्य पद्य दुवैद्वारा प्रशस्त चर्चा गरेका छन् । यस कृतिमा लेखकले भानुभक्तप्रति अति नै श्रद्धा, सम्मान र भक्तिभावना दर्शाएका छन् । उनले भानुभक्तको जीवनीलाई कहीँकतै कल्पनामा नै पनि प्रस्तुत गर्ने प्रयास गरेको बुझिन्छ । वास्तवमा यस कृतिमा उनले कल्पनाको पिङ पनि मच्चाएर भानुभक्तको जीवनी लेखेको भेटिन्छ । ठाउँठाउँमा उनका कुरालाई सत्य मान्ने आधार पनि देखिँदैन । यति हुँदाहुँदै पनि नरनाथलाई भानुभक्तका भक्त जीवनीकार र भानुकविताका ज्ञाता भनेमा केही फरक नपर्ला । उनको भानुभक्तप्रतिको थप मोहका कारणले मोतीरामलाई झुटो बनाउन पनि उनी पछि परेनन् (किन ?) । काल्पनिक खेती गर्ने सन्दर्भमा यिनले मोतीरामका विषयमा लेखेका छन्— “उहाँ (मोतीराम)ले लेख्नुभएको जीवन चरित्रमा असम्भव कुरो र झुटो कुरो समेत धेरै परेको छ ।”

मोतीरामले कल्पनामा डुबेर लेखेको घाँसीको अपत्यारिलो प्रसङ्ग उठाउँदै त्यसै सिलसिलाको एउटा श्लोकको चाहिँ मुक्तकण्ठले प्रशंसा गर्दै नरनाथले त्यो बेहोरालाई सत्य साबित गरेका छन् । तर नरनाथले मोतीरामबारे थप भनेका छन्— “हाहा र हुहुको लोक हुन्छ । तेस्तो लोकका किंवदन्तीबाट पाएको कुरामा लेखकले सत्यासत्य के होला भन्ने अलिकति विचार चलाउन पर्छ । तर मोतिरामजी पनि यो जीवन-चरित्र लेखदाका वखत् २३।२४ वर्षका हुनुभएको बुझिन्छ । उमेर कच्चै भन्नु पर्छ र तेस्ता मौकामा सबै कुरामा विचार नपुग्नु मनासिवै पनि हो ।”

भानुभक्तको भौतिक चोला सकिएको २२ वर्षपछि मोतीरामले लेखेको जीवनी छापियो । त्यो गलत भयो भने भानुभक्त बितेको ९२ वर्षपछि छापिएको नरनाथको कृतिचाहिँ विश्वसनीय ठहर्‍याउने आधार के हो ? आचार्य थर भएकै नाताले वंशपरम्परागत कतिपय अनुश्रुतिले उनले त्यो कृति लेखे पनि होलान्; अनि त्यसैलाई मात्र सत्य आधार बनाउन सकिएला र ? तर पनि कविराज पं.आचार्यको सोधीखोजीका कतिपय बेहोरालाई नकार्न पनि सकिँदैन । यति हो; आचार्यद्वारा कुन कुरा सत्य लेखिए र कुन कुरा तथ्यहीन रूपमा प्रस्तुत भए त्यो अब छुट्ट्याउन भने सजिलो छैन ।) खास गरेर आफ्ना शिक्षा र संस्कारले सम्पन्न पारिवारिक पृष्ठभूमिमा हुर्कंदा भानुभक्तको जीवनचर्या पनि सानैदेखि एउटा पण्डितको ठाँटको जस्तै बन्दै जान थाल्यो । बाजेकै रहनसहन र छत्रछायामा हुर्कने क्रममै उनी परिपक्व हुँदै गए । अनि उनले आफ्नो जीवनमा आचरण, व्यवहार र प्रवृत्तिलाई निखार्दै जान थाले ।

भानुभक्तका बाजे श्रीकृष्ण आचार्यले बुढेसकालमा काशीमा देहत्याग गर्ने विचार राखे । उनी काशी जाँदा नातिलाई राम्रोसँग पढाइलेखाइमा समेत लगाउने हेतुले भानुभक्तलाई पनि आ लगेका थिए । त्यसै कारण बाजेसँगै काशी गई भानुभक्तले थप संस्कृत विद्या पढ्ने अवसर पाएका थिए ।

भानुभक्तका बाजे श्रीकृष्ण आचार्यले बुढेसकालमा काशीमा देहत्याग गर्ने विचार राखे । उनी काशी जाँदा नातिलाई राम्रोसँग पढाइलेखाइमा समेत लगाउने हेतुले भानुभक्तलाई पनि आफूसँगै लगेका थिए । त्यसै कारण बाजेसँगै काशी गई भानुभक्तले थप संस्कृत विद्या पढ्ने अवसर पाएका थिए ।

काशीमा बसिन्जेल श्रीकृष्ण, निजकी धर्मपत्नी र भानुभक्तलाई खानबस्नका लागि खरदार धनञ्जयले खर्च पठाउने गर्थे भनेर कविराज नरनाथ आचार्यले लेखे । श्रीकृष्ण र उनकी पत्नी क्रमशः एक वर्षको अन्तरमा स्वर्गीय भएका थिए । बाजेको निधन भएको एक वर्षसम्म भानुभक्तले काशीमा नै बसेर पढेका थिए । तर प्राध्यापक डा.शर्वराज आचार्यको भनाइअनुसारचाहिँ काशी बनारसमा पढ्दा पनि भानुभक्त पाल्पा भई तनहुँ आवतजावत गर्दथे । बीचबीचमा बाबु धनञ्जयले उनलाई कानुनी लेखापढी पनि सिकाए ।

काशीबाट फर्केपछि भानुभक्तले आफ्नो मामाघर लमजुङको भोर्लेटारमा भागवत सप्ताहवाचन गरेका थिए । यो उनको प्रथम पुराणवाचन थियो । यसरी पहिलोपल्ट पुराणवाचन गर्ने क्रममा नै उनले सबैलाई मोहित पारेका थिए । त्यसै बेलादेखि उनले जनस्तरबाट पुरोहित, पण्डित या गुरुको आदर र सम्मान पनि पाउन थालेका हुन् ।


लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

लाइभमाण्डूमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद !


Loading comments...