घुस लिएको आरोपमा प्रहरी निरिक्षक तथा अधिवक्ता पक्राउ, अख्तियारद्वारा आरोप-पत्र दायर


मिति २०७७।०३।२९ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र Legal Advocacy Servic Center का अधिवक्ता हिमालय बिक्रम बिष्टउपर बिगो रु. ५०,०००।– कायम गरी घुस लिई भ्रष्टाचार गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आरोप-पत्र दायर ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्टमार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्टलाई रु.५०,०००/- (पचास हजार) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हित विपरितको र जवर्जस्ती करणीको मुद्दामा सहजीकरणको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्व Legal Advocacy Servic Center का अधिवक्ता हिमालय बिक्रम बिष्टलाई सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्न लगाई घुस/रिसवत दिन वाध्य पारी सोवापत रकम रु. ५०,०००।– लिन मञ्जुर गरी निज हिमालय बिक्रम विष्टलाई लिन लगाई हिमालय बिक्रम विष्टबाट घुस/रिसवत वापतको रकम लिएपछि निज प्रकाश सिंह कार्कीबाट उक्त रकम बरामद भएको पुष्टि हुन आएकोले निज प्रकाश सिंह कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रु. ५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

साथै, हिमालय बिक्रम विष्टले सेवाग्राहीको मुद्दाको सहजीकरण गर्न जवर्जस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीलाई मनाई दिएबापत प्रकाश सिंह कार्कीको लागि घुस/रिसवत लिई उक्त रकम प्रकाश सिंह कार्कीलाई उपलब्ध गराएको पुष्टि हुन आएको हुँदा निज हिमालय बिक्रम विष्टले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा निजलाई बिगो रु. ५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...