सम्बन्धको परिभाषा : मेरी काकी सासू : महेश्वरा प्रसाई


मेरी सासू भागीरथा प्रसाईलाई म ‘आमा’ भन्थेँ । म आफ्नी आमा दुर्गादेवी नेपाललाई पनि ‘आमा’ नै भन्छु । आफूले होस सम्हालेदेखि नै ओठको पहिलो उच्चारण र हृदयको पहिलो स्पर्शले गर्दा अत्याधिक प्रिय शब्द हुनुपर्छ- ‘आमा’ ! मलाई लाग्दछ, यस शब्दको अर्थ त अक्षर र शब्दहरू जोडेर वाक्यमा व्याख्या गर्न सकिएला तर यसको संप्रेषण अक्षर र शब्दहरूको पकडमा आउन सक्दैन । यसलाई महसुस मात्र गर्न सकिन्छ ।

यसरी आमाको महिमा गाएर पिताको अवमूल्यन गर्ने मेरो उद्धेश्य कदापि होइन । किनभने मेरा दृष्टिमा पिता शिशुको वा परिवारका संरक्षक हुन्छन् भने आमा आत्मा हुन्छिन् । जीवनसँगको आत्माको सम्बन्धको महत्ताका लागि नै म यहाँ यतिबेला मातृवत भएकी हुँ । कुनै बेला म पिताका कुरा पनि लेख्ने नै छु ।

लेखकः इन्दिरा प्रसाई

मेरी सासूको जीवनकालमा नरेन्द्रसँगै साँगी लागेर म पनि उहाँलाई काकी भन्थेँ । मेरो जीवनमा आमाझैँ माया गर्ने सासूको अभाव भएपछि अर्थात् मेरी सासूले निर्वाण प्राप्त गरिसकेपछि भने मैले महेश्वरा काकीलाई आमा भन्न थालेँ । वास्तवमा मेरा अर्धाङ्ग नरेन्द्रलाई जन्मनाउनासाथ काकीले आफ्ना दूधका धाराले जीवन सिञ्चित गराउनु भएको थियो ।

समाजमा गृहस्थ आश्रममा बस्नेहरूले नातापाताको लहरो पहरो पनि मान्नु पर्ने हुन्छ । तर मान्नुपर्ने भनेर म चाहिँ सबै सम्बन्धलाई आत्मीय मान्दिन । हुन त मान्नका लागि मान्ने कुरा पनि हुन्छ । व्यक्तिले त्यस्ता सम्बन्ध पनि बचाउनु पर्ने हुन्छ । तर मलाई चाहिँ त्यस्ता आडम्बरी सम्बन्धमा रुचि पनि छैन र बचाएर राख्नै पनि म सक्तिन् ।

मलाई लाग्दछ शिशुका लागि जन्मिने बित्तिकै चिनिने आमा हुन्छिन् र त्यसपछि आमाले बाउ लगायत सबैसँग परिचय गराउँने काम हुँदै जान्छ । यस क्रममा व्यक्ति बन्नका लागि उक्त शिशु वयको खुड्किलो चढ्न थाल्छ । त्यसै बेलादेखि शिशुले आफ्ना सबै नातापाताको परिचय पनि पाउँदै जान थाल्छ । त्यसैले छोरी मान्छेको माइती परिवारमा पनि आमासँगका नातामा जोडिन आउनेसँग नै नाता गासिँदै जान्छ ।

त्यसै गरेर बिहा भएर पतिका घरमा आएपछि स्त्रीले पतिका नातेदारहरूलाई उही घरका संरक्षकका माध्यमबाट चिन्दै जानु पर्ने हुन्छ ।

त्यसैले माइती घरमा आमासँग सम्बन्ध राख्नेहरू आफन्त वा नातेदार हुन्छन् र पतिका घरमा सासूसँग (सासू जीवित रहेको अवस्थामा) सम्बन्ध राख्नेहरू आफन्त वा नातेदारमा दरिन्छन् भन्ने मेरो व्यक्तिगत निष्कर्ष रहेको छ । त्यसैले आफ्नी आमा वा सासूसँग सम्बन्ध नराखेका कुनै पनि व्यक्ति मेरा आत्मीय नातेदारभित्र पर्दैनन् भन्ने मेरो मान्यता रहेको छ ।

मेरो यसै कसीमा खरो उत्रिने व्यक्तित्वका रूपमा र मसँग आत्मीय सम्बन्धमा गाँसिने एक महामनाका बारे यसबेला म आत्मिक रूपमा शब्दका केही शब्दाञ्जली चढाउने प्रयत्नमा छु ।

‘मलाई तिमीहरूसँग तिमीहरूका घरमा केही दिन बस्न मन छ, मलाई कहिले लिन आउँछ्यौ इन्दिरा ?’ महेश्वरा काकीले नइगृहमा आउने इच्छा व्यक्त गर्नु भएको यो मृदु वाणी अहिले पनि मेरा कानमा गुञ्जिरहेकै छ । तर वार्धक्यका साथको व्याधीले बेस्सरी सताइनु भएकी उहाँको कायाको जोखिम उहाँका योनिज सन्तान बेगर हामीले लिन सक्ने अवस्था र औचित्य पनि थिएन ।

मेरा पति नरेन्द्रराज प्रसाईका कान्छा काका रुपनारायण प्रसाईकी कान्छी पत्नी महेश्वरा प्रसाई मेरा लागि यस विशिष्ठताले सजिने व्यक्ति हुनुहुन्छ । यस लेखनमा म उहाँसँगका केही विवरण प्रस्तुत गर्ने छु ।

हाम्री काकी महेश्वरा विराटनगरमा बसोबास गर्नु हुन्थ्यो । आफ्ना काठमाडौँमा बसोबास गर्ने छोराछोरी भेट्न र औषधी उपचारका लागि पनि उहाँ बेलाबखत काठमाडौँ आउने गर्नुहुन्थ्यो । त्यसरी काठमाडौँ आएका बेला हाम्री काकी जसरी भए पनि मेरी सासू भागीरथा प्रसाईसँग नभेटी विराटनगर फर्किनु हुन्नथ्यो । मेरी सासू र काकी सासू भेट हुँदा अङ्कमाल गरेर एक अर्कालाई चुम्बन गर्नु हुन्थ्यो । दुवै खुसीले घरि रुनु हुन्थ्यो र घरि हाँस्नु हुन्थ्यो । पुराना कुरा झिकेर हामी नइलगायतलाई आश्चर्य र खुसीको माहौल दिनु हुन्थ्यो । ‘मेरी साल्दिदी ! दिदीको गुन म कहिले बिर्सिन्न । दिदीले मलाई कति माया गरेको छ, छ । दिदी नभएको भए म कहाँ टिक्न सक्थेँ र ?’ आधा शताब्दीअघिको घटनाको स्मरण गरेर कृतज्ञताकी मुहान भएर काकी छचल्किनु हुन्थ्यो ।

पछिल्ला दिनमा काकी आफैँ बिरामी पर्नु भएको बेलामा भने उहाँले हामी नइलाई फोन गरेर हाम्री आमासँग भेट्ने ईच्छा व्यक्त गर्नु हुन्थ्यो । त्यस्ता बेलामा उहाँ बसेका घरमा हामी नइ हाम्री आमालाई लिएर भेट्न पुग्थ्यौँ । यो क्रम मेरी सासूको जीवनकालभरि कायम भइरह्यो ।

मेरी सासूले निर्वाण प्राप्त गर्नु भएपछि भने हामी नइ हाम्री काकी महेश्वरा प्रसाईलाई समयानुकूल भेट्न जान्थ्यौँ । म विराटनगर पुगेका बेला पनि उहाँलाई भेट्न जान्थेँ र काठमाडौँमा उहाँ आएको जानकारी पाउँदा उहाँ बसेका ठाउँमा हामी नइ उहाँको आशिष् थाप्न जाने गर्थ्यौँ ।

हाम्री आमा यस लोकबाट विदा भैसकेपछि पनि आफ्ना छोरीहरूका साथ लागेर कान्छी काकी हाम्रा घरमा आउनु हुन्थ्यो । पछिल्लो समय काकीका जेठा छोरा देवराज सपरिवार काठमाडौँ बसाई सरेपछि उहाँको वास पनि छोराको घर बूढानीलकण्ठमै भयो । काकीको काठमाडौँ मै बसोबास भएपछि हामी नइ पनि अनुकूल मिलाएर देवराज बाबु र जानुका बहिनीका घरमा उहाँलाई भेट्न जान थाल्यौँ ।

यतिबेला सशरीर उहाँलाई गुमाउनुको यथार्थसँग पीडित भएर पनि आफूभित्र निजात्मक उहाँको प्राप्तिले भने मलाई दुखाएको छैन । किनभने उहाँको शरीर यस धराबाट विलय अवश्य भएको छ तर मैले पाएको अपनत्वको जुन अविनाशी भाव मसँग सङ्ग्रिहित छ, त्यसको प्राप्तिले मसँग उहाँ हरहमेसा साथै रहनु भएको छ ।

गौर वर्ण र उज्यालो मुहारले सुसज्जित ओजस्वी व्यक्तित्वकी स्वामिनी हाम्री देवस्वरुपा काकी हामी उहाँलाई भेट्न जाँदा अत्यन्तै हर्ष प्रकट गर्नु हुन्थ्यो । फेरि उहाँमा पटक्कै दोहोरो चरित्र थिएन । उहाँले हामीलाई माया पनि हाम्रै सामू गर्नु हुन्थ्यो र हाम्रा गल्ति भेट्टाउँदा हाम्रै सामू हप्काउनु पनि हुन्थ्यो ।

विभिन्न रोग व्याधीहरूका कारण काकीको पछिल्लो अवस्था त्यति सहज थिएन । फुर्ति र उर्जाकी पर्याय झैँ देखिने उहाँको व्यक्तित्व पछिल्लो चरणमा निरीह भइसकेको थियो । तर यति हुँदाहुँदै पनि उहाँको ओजस्विता र आत्मवलमा भने कमी देखिँदैनथ्यो ।

‘मलाई तिमीहरूसँग तिमीहरूका घरमा केही दिन बस्न मन छ, मलाई कहिले लिन आउँछ्यौ इन्दिरा ?’ महेश्वरा काकीले नइगृहमा आउने इच्छा व्यक्त गर्नु भएको यो मृदु वाणी अहिले पनि मेरा कानमा गुञ्जिरहेकै छ । तर वार्धक्यका साथको व्याधीले बेस्सरी सताइनु भएकी उहाँको कायाको जोखिम उहाँका योनिज सन्तान बेगर हामीले लिन सक्ने अवस्था र औचित्य पनि थिएन । त्यसैले उहाँको हामीसँगको अमृत इच्छा पनि हामीले दु:खी मन बोकेरै आलटाल गरिरह्यौँ । त्यसपछिका दिनमा काकीलाई नइ गृहमा ल्याएर राख्ने हिम्मत हामीले गरेनौँ ।

मेरी सासूको जीवनकालमा नरेन्द्रसँगै साँगी लागेर म पनि उहाँलाई काकी भन्थेँ । मेरो जीवनमा आमाझैँ माया गर्ने सासूको अभाव भएपछि अर्थात् मेरी सासूले निर्वाण प्राप्त गरिसकेपछि भने मैले महेश्वरा काकीलाई आमा भन्न थालेँ । वास्तवमा मेरा अर्धाङ्ग नरेन्द्रलाई जन्मनाउनासाथ काकीले आफ्ना दूधका धाराले जीवन सिञ्चित गराउनु भएको थियो । काकीमा घनिभूत मप्रतिको पनि वात्सल्यका कारण उहाँबाट म पनि प्रचुर मायाको ओज पाउने गर्थेँ । उहाँ सामू पुगेपछि उहाँबाट पाउने प्रेममा म लट्ठिन्थेँ ।

उहाँले मलाई पछिल्लो समयमा मात्र पनि माया गर्नु भएको होइन । विधिले मलाई उहाँकी भतिजाकी अर्धाङ्गिनी बनाउँदाका प्रारम्भिक दिनमा हामी नइले मेरा पतिकै सहोदरीको ढुङ्गामुढा पनि खानु परेको थियो । त्यस्तो बखतमा पनि कान्छी काकीले समेत हाम्रा शिर जोगाउन फलामको छाता नै हामी नइलाई ओडाउनु भएको थियो । सायद यही स्वार्थले पनि म उहाँको सानो बच्चाझैँ भएर उहाँका छातीमा लुट्पुटिन मनपराउँथेँ । उहाँका छातीमा म एउटा बालकले भेट्टाउने सुक्ख, शान्ति र सुरक्षा अनुभूत गर्थेँ ।

मेरी काकी सासू महेश्वरा प्रसाईले गत असार २९ गते निर्वाण प्राप्त गर्नु भएको छ । आफ्नो ८५ वर्षको सुख र दुक्ख यही धरामा छोडेर उहाँले नश्वर देह त्याग गर्नु भएको छ ।

यतिबेला काकी सासू अर्थात् जसभित्र मैले मेरा लागि आमाभाव अनुभूत गरेँ, उहाँको भौतिक अभावको कुइरोले म निस्सासिँदो छु । शारीरिक तवरले यदाकदाको भेटले नै पनि मानिस र मानिस वीचको आत्मिक सम्बन्ध घनिभूत हुनुलाई भौतिक दूरीले छेक्न नसक्ने रहेछ । म मेरी महेश्वरा काकी सासूप्रति यसै अन्तर्भावमा डुबेकी छु ।

कैयन सम्बन्धहरू रगतमै गाँसिँदा पनि अथवा दिन रात शरीरमै टासिँदा पनि अपनत्वबाट कोशौँ टाढिएका हुन्छन् । कुनै सम्बन्ध भने औपचारिकताका खोल ओडेर गाँसिएका झैँ मात्र देखिए पनि आफूभित्र कति हो कति आत्मीयताको अनन्त गहिराईमा डुबेका हुन्छन् । मेरी महेश्वरा आमासँग म दोस्रो प्रकारको अन्तर्सम्बन्ध महसुस गर्दछु । यतिबेला सशरीर उहाँलाई गुमाउनुको यथार्थसँग पीडित भएर पनि आफूभित्र निजात्मक उहाँको प्राप्तिले भने मलाई दुखाएको छैन । किनभने उहाँको शरीर यस धराबाट विलय अवश्य भएको छ तर मैले पाएको अपनत्वको जुन अविनाशी भाव मसँग सङ्ग्रिहित छ, त्यसको प्राप्तिले मसँग उहाँ हरहमेसा साथै रहनु भएको छ । आफूभित्र जीवितमात्र नभएर अमरत्व प्राप्त आस्थापुञ्जलाई म श्रद्धाञ्जली चाहिँ नभनौँ भन्न चाहन्छु ।