सुनसरीका लेखा अधिकृत रु. ६५ हजार तथा बाग्लुङका इन्जिनियर रु. १ लाख घुससहित अख्तियारको नियन्त्रणमा


२०७७/०४/०१ । इटहरी उपनगरपालिका, सुनसरीका लेखा अधिकृत रू. ६५ हजार तथा बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारी रु. १ लाख घुससहित नियन्त्रणमा परेका छन् ।

सुनसरीः
जिल्ला सुनसरी, इटहरी उपनगरपालिकाका लेखा अधिकृत विकास पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परिक्षा संचालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिगएको टोलीले निज लेखा अधिकृत विकास पोखरेललाई रू.६५,०००/- (पैसठ्ठी हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित इटहरी उपनगरपालिका वडा नं. ६ बि.पि. चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

बाग्लुङः
बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर मिलन अधिकारीले उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भक्तानी दिएबापत बिभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज मिलन अधिकारीलाई सेवाग्राहीबाट रु. १,००,०००।– (एक लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिकाको जिरो प्वाइन्ट भन्ने स्थानमा रहेको एक होटलबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


Loading comments...