
भारतमा १० अर्ब डलर लगानी गर्ने गुगलको योजना
नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा आगामी वर्षहरुमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।
गुगलले अबको पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेको छ । यसअघि सोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत उक्त रकम लगानी गर्ने योजनाबारे घोषणा गरेका हुन् ।
Today at #GoogleForIndia we announced a new $10B digitization fund to help accelerate India’s digital economy. We’re proud to support PM @narendramodi’s vision for Digital India – many thanks to Minister @rsprasad & Minister @DrRPNishank for joining us. https://t.co/H0EUFYSD1q
— Sundar Pichai (@sundarpichai) July 13, 2020
भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको हो । उनले भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन यो लगानीको योजना अघि सारिएको बताएका छ ।
उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीको क्रममा अनलाइन एक लाइफलाइन बनेको पनि बताए । सन् २०१५ मा पहिलोपटक ‘गुगल फर इण्डिया’ कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । सोमबारको कार्यक्रम छैटौं कार्यक्रम थियो । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुन्दर पिचाईसँग छलफल गरेका थिए ।
छलफलको क्रममा उनीहरुको बीचमा विभिन्न विषयमा छलफल भएको थियो । मोदीले कोरोना भाइरसका साथै प्रविधिको भूमिकाको विषयमा पनि चर्चा भएको थियो ।
यसअघि अमेजनका सीईओ जेफ बेजोसले भारत भ्रमणका क्रममा एक अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने उनले आगामी पाँच वर्षमा १० अर्ब अमेरिकी डलरको निर्यातमा सहयोग गर्ने बताएका थिए ।
चीनले गुगललाई प्रतिबन्ध लगाएपछि विश्वको ठूलो शक्ति र बजार भएको देशमा भारतमा गूगलले लगानी गर्ने जनाइएको छ ।
५० करोड भन्दा बढि सक्रिय इन्टरनेट प्रयोगकर्ताहरु भएको भारतमा गुगलले आफ्नो बजार प्रभुत्व स्थापित गर्ने भएको छ । उक्त लगानी ‘गुगल फर इण्डिया डिजिटाइजेसन फन्ड’ अन्तर्गत गरिने बताइएको छ ।