
कोरोना वार्डमा अमिताभ बच्चनले बल्ल भेटेको ‘आफ्नो समय’
अमिताभ बच्चन भारतीय चलचित्र क्षेत्र भन्दा निकै पर भारतीय उपमहाद्विपका देशहरु लगायत विश्वभर आफ्नो वहूप्रतिभाशाली व्यक्तित्व अनि अभिनय मार्फत् वर्तमान समाजको मानचित्र देखाउन सक्ने अब्बल कलाकार अनि बिचारकका रुपमा चिनिन्छन् ।

यिनलाई कोरोना संक्रमणको समाचार आएपछि यिनका दर्शक अनि शुभचिन्तकहरुको एउटा स्नेहको प्रवाहको सामाजिक सञ्जालमा धाराप्रवाह नै भएको थियो । यिनका पिता हरिवंश राय बच्चन पनि भारतीय साहित्य अनि लेखन क्षेत्रका अव्वल नाम हो, हरिवंशका कविताहरु अनि यिनले अनुवाद गरेका मधुशाला नामक कृति त अझै पनि निकै पढिने र उद्धृत गरिने कृति हो ।
मन्दिर मस्जिद फुठ कराए
मेल कराए मधुशाला
अर्थात मन्दिर मस्जिदले मान्छेलाई बाँड्ने अनि भाँड्ने काम गर्दछ अनि केवल मधुशाला अर्थात् मदिराघरले मात्र मान्छेहरुलाई मेल गराउँछ भन्ने हरिवंशको एउटा दर्शन अझै सर्वप्रिय छ ।
मेरा बुवाले मधुशाला पुस्तकको हिन्दी अनुवाद मलाई पढ्न दिनुभएको थियो, जनकपुर रेलवे स्टेशनको यात्रु प्रतिक्षालयभित्र हरियो वारहरुभित्र काठको फल्याकहरुमा एउटा गज्जबको पुस्तक पसल थियो, त्यहाँबाट ल्याएका अनेकन पुस्तकहरु जस्तैः कादम्बिनी, सरस सलिल, नन्दन, रिडर्स डाइजेस्टलाई मैले एकरातमा नै पढेर भ्याएको छु ।
मधुशाला ओमर खयामको रुवाइयतबाट प्रभावित पुस्तक हो, ४ वटा लाइनका १३५ भर्सेजहरु यस पुस्तकमा छन्, सन् १९३५ मा प्रकाशित यस पुस्तकका हरेक भर्सहरुमा दर्शन छ ।
अमिताभ बच्चनले भने अहिले समय पाए, कोरोना वार्डमा बुवाका कवितालाई यिनले अंग्रेजीमा अनुवाद गर्दैछन् । पर्सियनमूलको शब्द अनि अर्थबाट हरिवंशले ‘मधुशाला’लाई हिन्दीमा ल्याए, अमिताभले अब ति शब्दलाई अंग्रेजी बनाउँदैछन ।
मलाई भने हरिवंशको ‘अक्सर मिट्टि पर बैठ जाता हुँ’ भन्ने कविता वडो दमदार लाग्छ, जे होस् अहिले अमिताभको अनुवादमा नयाँ कविता पनि पढ्न पाइयो । बच्चन परिवार अहिले यस वैश्विक महामारी कोरोनाको संक्रमणका कारण आइशोलेशनमा बसेर उपचार गराइरहेका छन् । यही क्रममा उनले आफ्नो ब्लगमार्फत् आफ्ना लागि बल्ल प्राप्त समयलाई उल्लेख गरेको कविता लेखेका छन् । यस कविताको सरल नेपाली अनुवाद म यहाँ प्रस्तुत गर्दछु भने हिन्दी पंक्तिहरु पनि समावेश गर्ने अनुमती चाहेँ ।
“जीवन की आपा धापी में कब वक्त मिला,
कुछ देर कहीं पर बैठ कभी ये सोच सकूँ
जो किया कहा माना, उसमें क्या बुरा भला”
—
~ हरिवंश राय बच्चन
यसको उत्तरमा अमिताभ बच्चनले ‘अब मिल रहा है’ अर्थात ‘अब मैले समय पाँए’ भनी लेखेका छन् ।
जीवनको उकुसमुकुस अनि भागादौडमा मैले कहिले पनि एकछिन सुस्ताएर सोच्ने समय पाउन कहाँ सके र मैले ? कहाँ सोच्न पाँए र मैले के गरेँ, के बोले अनि के मा विश्वास गरे ति सबै कुुराहरुमा के राम्रा कुरा थिए र के नराम्रा कुराहरु थिए मैले सुस्ताएर समिक्षा गर्नै पाइन ।
अमिताभले यस कवितालाई छाने किनकी कोरोनाले यिनलाई अहिले सुस्ताउने मौका दिएको छ, यिनले पिताको यस कवितालाई बल्ल पुरा गरिदिए ।
र यि क्षणहरुमा मष्तिष्कले घटनाहरुलाई शब्दले पछ्याँउदै ट्रेस गर्दछ, यति स्पष्टसँग ति घटनाहरुको प्रतिबिम्ब देखिन्छ कि त्यति प्रष्ट र ब्यापक कल्पना त त्यस घटना घट्दा समेत भएको थिएन होला शायद! र मान्छेहरु छक्क पर्दछन कि यसको परिणामलाई कुन कुराले ट्रान्सपेड गर्दछ र ब्यापकता प्रदान गर्दछ भनेर!
तर आश्चर्य जति गरिएपनि जे लेखिएको हुन्छ, त्यो घटेरै छाड्दछ । अमिताभका अँग्रेजी शब्दहरुको नेपाली भाव उपयूक्त हुन जान्छ । क्षणहरुमा जीवन लुकेको छ, जीवन आफैमा मधुरस हो, बाँचौं र हाँसौ ।