कोरोनाभाइरस संक्रमणका कारण यो सिजनको ‘अमरनाथ यात्रा’ स्थगित


कश्मीरमा बढ्दो कोरोनाभाइरस संक्रमणको कारण देखाउँदै भारत प्रशासित कश्मीरमा सनातन हिन्दु धर्मावलम्बीहरूले दर्शन गर्ने अमरनाथ यात्रा यो वर्ष नहुने भएको छ ।

भगवान शिवको महत्वपूर्ण तीर्थाटनहरु मध्येको एक अमरनाथका लागि वर्षैपिच्छे आयोजित हुने धार्मिक यात्रा गत वर्ष पनि हुनसकेको थिएन । त्यसबेला सुरक्षाको कारण देखाउँदै भारतले यात्रा स्थगित गरेको थियो । यस पटकको यात्रा स्थगनमा भारत सरकारले त्यस भेगमा सङ्क्रमित व्यक्तिको सङ्ख्या बढिरहेको बताएको छ ।

वर्षको दुई महिनासम्म जारी रहने अमरनाथा यात्रामा प्रत्येक वर्ष लाखौं सनातन हिन्दु धर्मावलम्वीहरू सहभागी हुँदैआएका छन् ।

जम्मु तथा कश्मीरमा जुलाई ३१ सम्म सबै आस्थाका धार्मिक स्थलहरू बन्दाबन्दिका कारण प्रभावित भएका छन् । हिजो मात्रै जम्मु तथा कश्मीर क्षेत्रमा ६०८ नयाँ सङ्क्रमितहरुको पुष्टि भएको छ भने अहिलेसम्म त्यहाँ १५ हजार संक्रमित नाघि सकेको छ ।

समुन्द्रि सतहबाट १३ हजार फिट माथी हिउँले सेताम्मे सुन्दर प्राकृतिक छटामा चुनढुङ्गाको एउटा गुफामा प्राकृतिक रूपमा उत्पन्न हुने बरफको चट्टानी आकृतिलाई शिवलिङ्गको रुपमा पूजा गर्ने गरिएको छ ।

अमरनाथ मन्दिर सञ्चालक समितिले एउटा विज्ञप्तिमा तीर्थयात्रा लागि साधन र स्रोत उपलब्ध गराउँदा उक्त क्षेत्रको स्वास्थ्य प्रणाली प्रभावित हुने उल्लेख गरेको छ।

“यसबाट यात्रीहरूमा पनि कोभिड-१९ सर्ने अनावश्यक जोखिम बढ्छ ।” तर गुफामा हुने धार्मिक अनुष्ठानको टेलिभिजनबाट हुने प्रत्यक्ष प्रसारण भने नरोकिने बताइएको छ ।


Loading comments...