२६ अर्ब बराबरको १ (एक) हजारको नोट चलनचल्तीका लागि सार्वजनिक, नोटमा राखियो नेपालका जुम्ल्याहा हात्तीको तस्वीर


काठमाण्डौ, २०७७ साउन ७ । नेपाल राष्ट्र बैंकले आजबाट जारी हुने गरी अफ्रिकन लाम्काने हात्तीको तस्वीर रहेको १ (एक) हजार रुपैयाँको नोटलाई विस्थापित गर्दै जीव विज्ञानमा एउटा अद्भूत संयोग समेटिएको १ (एक) हजारको नयाँ नोट सार्वजनिक गरेको छ । २६ अर्ब रुपैयाँ बराबरको नोट कारोबारको लागि बजारमा पठाइसकिएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी नयाँ नोट

नेपाल राष्ट्र बैंकले नोटको पछिल्लो भागमा जीवजन्तु समेटेको विषय वैज्ञानिक छ । जुनसुकै समाज, धर्म, आस्था तथा विचारका लागि स्विकार्य नेपाली नोटको कला विरलै अन्य देशका नोटहरुमा भेटिन्छन् ।

राष्ट्र बैंकले जारी गरेको १ (एक) हजारको नोटमा २०६५ कार्तिक २४ गते सौराहामा जन्मिएका जुम्ल्याहा हात्तीका छावाहरुको तस्विर संलग्न गरेको छ । एकसिंगे गैंडाका लागि विश्व पर्यटनमा परिचित चितवनको सौराहा स्थित ‘चितवन राष्ट्रिय निकुञ्ज’मा रहेको ‘हात्ती प्रजनन तथा तालिम केन्द्र’मा विश्वचर्चित खेल हात्ति पोलोकी परिचित खेलाडी (हात्ती पोलो खेलमा संलग्न रहँदै आएकी हात्ति) ४० वर्षिय देवकलीले जुम्ल्याहा छावाहरुलाई जन्म दिएकि थिइन । जसको नाम क्रमशः राम तथा लक्ष्मण राखिएको थियो । प्रजनन केन्द्रले ढोइहरुको प्राकृतिक प्रजननका लागि जंगली हात्तीबाट प्रजनन प्रक्रिया पुरा गर्दै आएको छ ।

हात्तीहरुको औसत आयु ५० देखि ७० वर्षको हुन्छ

यसअघि १ (एक) हजारको नोटमा राखिएको ठूलो कान भएको हात्तिको तस्वीर पटक पटक विवादित हुँदै आएको थियो । अजङ्गको देखिने त्यस हात्तीको भुँई छुने खालका लामा लामा दार्ह्रा रहेका छन् भने त्यो खालको हात्ती अफ्रिकाको जङ्गलमा भेटिने अफ्रिकी हात्तिको रहेको थियो । ‘अफ्रिकन बुस एलिफेन्ट’ र ‘अफ्रिकन फरेस्ट एलिफेन्ट’ गरी अफ्रिकन हात्ती दुई प्रजातीका हुन्छन् । ‘अफ्रिकन बुस एलिफेन्ट’को औसत तौल ६ हजारसम्मका हुन्छने भने ‘अफ्रिकन फरेस्ट एलिफेन्ट’ को औसत तौल २ हजार ७ सयसम्म हुन्छ ।

जारी नयाँ १ (एक) हजारको नोटमा हिजोसम्म एउटा हात्ती रहेकोमा अब यो जोडी हात्तीयुक्त भएको छ र अफ्रिकन नभई हात्ती प्रजननमा दूर्लभ मानिने जुम्ल्याहा जोडी हात्तीको तस्वीरअंकित नोट चलनचल्तीका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो । जीव विज्ञानमा हात्तीले जुम्ल्याहा छावा (हात्तीको बच्चा) जन्माउनु भनेको अत्यन्तै दूर्लभ मानिन्छ । सरकारी अभिलेख अनुसार यो नेपालमा जानकारीमा आएको पहिलो घटना नै हो । हात्तीले जुम्ल्याहा जन्माइहाले पनि दुवै छावा बाँच्ने सम्भावना अत्यन्तै दूर्लभप्राय हुन्छ ।

अफ्रिकन हात्ती

लाइभमाण्डूले माडीस्थीत स्वदेश एफएमका अध्यक्ष तथा तथा सामाजिक अभियन्ता देवनारायण साहसँग जुम्ल्याहा छावा राम तथा लक्ष्मण बारे जानकारी लिन सम्पर्क गरेको थियो । वहाँको जानकारी अनुसार “जुम्ल्याहा हात्ती अब हुर्किसकेका छन् र स्वस्थ्य छन् । राम तथा लक्ष्मणको तस्वीर अंकित नयाँ १ (एक) हजारको नोटले यस भेगको पर्यटन, पर्यावरण तथा प्राकृतिक सम्पदाको महत्व बारे देश तथा देश बाहिर समेत चर्चा हुनेछ” बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका अनुसार यस जुम्ल्याहा हात्तीको तस्वीर ‘वन तथा वातावरण मन्त्रालय’ मातहतको ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग’ले उपलब्ध गराएको हो । यस अघिको अफ्रिकन हात्तीको तस्वीर कस्ले खिचेको र कहाँबाट प्राप्त हो भन्ने विषयमा कुनै स्पष्ट अभिलेख भेटिन्न ।

नयाँ नोट ज-६८०००००१ देखि ट-१००९९९९९९ सम्मको संकेत नं. भित्रका हुनेछन् भने पूर्वगर्भनर चिरञ्जीवी नेपालकै हस्ताक्षर नोटमा देख्न सकिन्छ ।

(पूर्व गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिए लगत्तै नेपाल सरकारले महप्रसाद अधिकारीलाई गभर्नरमा नियुक्त गरिसकेको छ । वहाँले २०७६ चैत्र २५ गते पदभार ग्रहण गर्नुभएको थियो ।)

————-

‘हात्ती प्रजनन तथा तालिम केन्द्र’ तथा हात्ती बारे थप उपयोगी जानकारी

२०४४ सालमा स्थापना भएको ‘हात्ती प्रजनन तथा तालिम केन्द्र’मा हाल यहाँ ६० बढी हात्तिहरु रहेका छन् । प्रजनन केन्द्र स्थापनापछि यहाँ १५ वर्षदेखि बाहिरी देशबाट हात्ती ल्याउनु परेको छैन । केन्द्र स्थापना हुँदा ६ भाले र १४ पोथी हात्ती (ढोई) विभिन्न मुलुकबाट भित्र्याइएको थियो । जमा भारतबाट १६ वटा हात्ती ल्याइएका थिए ।

त्यसबाहेक थाइल्यान्ड तथा म्यानमारबाट समेत उपहार स्वरूप हात्तीहरु नेपाल भित्रिएका छन् । भने केही वर्ष अघि ‘भारतलाई ४ वटा एकसिंगे गैंडा दिए वापत १६ वटा हात्ती भित्र्याइएको पाइन्छ ।’ अहिले हात्तीको संख्या बढेकाले बाहिर देशबाट ल्याउनु परेको छैन भनिएता पनि निजीस्तरमा भारतबाट अवैध हात्तिको खरिद भने अझै रोकिएको छैन ।


Loading comments...