
मेरो सु-स्वास्थ्यको लागि लड्ने सत्याग्रहीहरु भेटेपछि…
प्रसङ हो “Enough is Enough” अभियान अन्तरगत दोश्रो चरणको सत्याग्रहको । काठमाण्डौको अति सुन्दर प्राचिन स्थल बसन्तपुर डबलीको वरीपरी २०७२, बैशाख १२ ले भत्किएका सभ्यताको जगहरु जोडिदैगरेको देखिन्थ्यो । वैश्वीक स्वास्थ्य संकट कोरोनाभाइरस (कोभिड-१९) का कारण विभिन्न हस्तकलाका स्थानीय व्यवसायीहरुका खुल्ला पसलहरु पातलिएका थिए । मान्छेहरुको भीड पातलीएको थियो । उस्तै सेतो उस्तै मनमोहक गद्दी बैठकको देब्रे कुना (डबली)मा लागेको रङ्गीन टेन्टभित्र केही युवा भुईँमा राखिएको सुत्ने ओछ्यानमा ढलिरहेका देखिन्थे ।
अभियन्ता ‘ई’ को ओछ्यान टेन्टभित्र मध्य भागमा थियो । मान्छेहरु हेर्न आउँथे । उनी यता उता हेरिरहन्थे । अस्पतालको शैय्यामा ढलेको बिरामी झै त्यहाँ अभियन्ता ‘ई’ लगायत अन्य १ जनाको हातमा पनि तरल प्राण स्वरुप स्लाइन चढिरहेको थियो । छेवैमा ओछ्यानमा रहनुभएको अर्का अभियन्ता २१ वर्षिय ‘ट्रान्सजेन्डर राइट एक्टिभिस्ट’ समाइरा श्रेष्ठको हातमा जोडिएको स्लाइनको बोतल खाली भइसकेको थियो । ‘ई’ को ध्यान खाली स्लाइनतर्फ पनि थियो र सङ्गै रहनुभएका अन्य सहयोगी साथीलाई ‘हावा छिर्छ त्यो ब्लक गरौं’ भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।
पहिलो चरणको सत्याग्रहको १२ औं दिनमा नेपाल सरकारसँग भएको सम्झौता अनुरुप मागहरु सम्बोधन नभईसकेपछि पछिल्लो ९ दिनदेखि बसन्तपुर डबलीमा युवा सत्याग्रहीहरुको सत्याग्रह जारी छ ।
यस्तो छ नेपाल सरकार र सत्याग्रहीहरुबिच भएको सम्झौता
कोभिड-१९ को सबल व्यवस्थापनको माग गर्दै जनताको जीवन रक्षाका लागि खानापानी नखाई ‘सत्यका लागि आग्रह’ अर्थात सत्याग्रह अभियान “Enough is Enough” अभियान अन्तरगत दोश्रो चरणको सत्याग्रहको नवौं दिन हो आज । र जनताको स्वास्थय सम्वेदनशिलता बुझ र गम्भिरताका साथ उपचार र सुविधामा जुट, सरकारी खर्चको पारदर्शिता होस् भन्ने सन्देशसहित युवाहरुले थालेको यस सत्याग्रहलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरुले, संस्था, समाज तथा राजनीतिकवृत्तहरुले आवाजमा उर्जा भर्दै आइरहेका छन् ।
नेपाली पत्रकारीतामा खोज, अन्वेशण तथा सरल प्रस्तुतीका कारण करोडौं नेपालीको मन जित्ने एउटै तथा सर्वाधिक पुरानो टेलिभिजन कार्यक्रम “दिशानिर्देश” का प्रस्तोता तथा परिकल्पनाकार बिजय कुमार पाण्डेको ट्वीटर ह्याण्डलको ताजा ट्वीटले धेरै कुरा बोलेको छ । सुन्दै नसुन्ने नेतृत्वलाई घच्घच्याउन, चिच्याउँदै दुखेसो अभिव्यक्त गरेर थाकेका नवपुस्ताका अनुहारको हालत महशुस गर्न सकिन्छ त्यस ट्वीटमा ।
वहाँ लेख्नुहुन्छ, “म कुर्सीमा, उसको बास कयौं दिन देखि भुँईमा ! म पेटभरि खाएर गएको थिए, उ ९ दिन देखि निराहार! एक मन लाग्यो उसलाई भनौ – राजनीतिमा सत्ता र सामान्य व्यवहारमा पैसा बाहेक सबथोक फजुल भएको समाजका लागि भुत्राको सत्याग्रह! तर सकिन, आफूलाई सल्काएर समाजलाई उज्यालो दिने मान्छेका अगाडी आँट आएन ।”
म कुर्सीमा ,उसको बास कयौ दिन देखि भुईमा ! म पेटभरि खाएर गएको थिए, उ ९ दिन देखि निराहार ! एक मन लाग्यो उसलाई भनौ – राजनितिमा सत्ता र सामान्य व्यवहारमा पैसा बाहेक सबथोक फजुल भएको समाजका लागी भुत्राको सत्याग्रह ! तर सकिन,आफुलाई सल्काएर समाजलाई उज्यालो दिने मान्छेकाअगाडी आट आएन। pic.twitter.com/QaSOFehis3
— Vijay Kumar Panday (@Vijaykumarko) July 26, 2020
सत्याग्रही भेटेपछि र केही बेर अभियन्ता ‘ई’सँग यस अभियानसँग सम्बद्ध साथीहरुका विषयमा कुराकानी पछि म त घर फर्किए, खानपिन गरीवरी सुत्ने तयारी गर्दैछु अहिले । आफ्नै बेडरुममा, थोरै गर्मी छ पंखा चलिरहेको छ तर त्यहाँ पालमा आज १० औं दिनको संघर्षपूर्ण रात पुरा गर्ने साथीहरुको सत्याग्रह जारी नै रहनेछ “Enough is Enough” । हाम्रा लागि चिच्याउनेहरुका छँदैछन्, चिच्याएकै छन्, कराएकै छन्, भोकभोकै कोरोना र कोभिडका समाचारहरुको चाङमा । शुभरात्री !
—
सुयोग ढकाल