Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

हामी व्यापारमा किन पछाडि छौं?

१२ श्रावण २०७७, सोमबार १८:२७

आधुनिक बजारशास्त्रले वस्तु वा सेवा (बैंक, होटल, यातायात आदि) को मात्र होइन, विचार, स्थान र अवसरको पनि व्यापार गर्न सकिन्छ भन्ने धारणा राख्दछ । आधुनिक बजारशास्त्रमा कुनै व्यक्तिले आफ्नो विचार, कुनै स्थानको नाम, महत्व एवं कुनै अवसरको व्यापार गरेर राम्रो आम्दानी प्राप्त गर्न सक्छ । आफूले मात्र आम्दानी गर्ने होइन, समुदायमा रोजगार सृजना गरेर अरूका लागि पनि आय सृजना गरिदिन सक्छ । तर हामीकहाँ अहिलेसम्म विचार, स्थान र अवसरको प्रभावकारी व्यापार (बिक्री) गर्ने परिपाटी विकसित हुन सकेको छैन ।

लेखकः विश्वराज अधिकारी

नेपाल अहिले पनि गरीबीको कुचक्रबाट बाहिर आउन सकेको छैन । अहिले, व्यापारिक युगमा पनि, नेपालीहरू रोजगारका लागि ठूलो सङ्ख्यामा विदेश जानुपर्ने स्थिति छ । देशको अर्थतन्त्रलाई ‘रेमिट्यान्स’ले धानेको छ । कोभिडले गर्दा नेपाली श्रमिकहरू विदेशी श्रम बजारमा जान नपाउँदा देशको आर्थिक स्थिति कस्तो हुन पुग्यो हामीले देखि नै हाल्यौं ।

विचार, स्थान र अवसरको व्यापार के हो, त्यसबारे चर्चा गरौं
कुनै पनि ‘स्थान’ को महत्व, विशेषता, इतिहासको व्यापार गरेर आय आर्जन गर्न सकिन्छ। उदाहरणका लागि वीरगञ्ज शहरको आफ्नै विशेषता छ । नेपालमा पहिलो रेल सेवा वीरगञ्जमा स्थापना भएको थियो । पछि त्यो सेवा बन्द भयो । तर हामीले त्यस रेलको इतिहास (रेलवे स्टेशन, गोदाम, रेलको लिक, प्लेटफार्म, टिकटघर, रेलको इन्जिन, डब्बा, रेलमा पानी हाल्ने व्यवस्था आदि) संरक्षण गर्न सकेनौं । त्यो इतिहास संरक्षण गर्न सकेको भए आज त्यसको व्यापार गरेर राम्रो आय आर्जन गर्न सक्थ्यौं ।

नेपाल मात्र होइन, विश्वका अनेक देशबाट यो इतिहास हेर्न पर्यटकहरू वीरगञ्ज आउने थिए । वीरगञ्ज व्यापारिक मात्र होइन, पर्यटकीय शहरको रूपमा पनि चर्चित हुन्थ्यो । वीरगञ्जको रेलसेवाको इतिहास संरक्षण गर्न सकेको भए स्थान (वीरगंज) को व्यापार गरेर राम्रो आय गर्न सकिन्थ्यो । र वीरगञ्जलगायत यस वरपरका गाउँका युवाका लागि थप रोजगार सृजना गर्न सकिन्थ्यो । वीरगञ्जमात्र होइन, हामीले अन्य स्थानको पनि व्यापार गर्न जानेनौं ।

अब ‘विचार’को व्यापारको चर्चा गरौं । तपाईं आफ्नो नौलो वा उपयोगी विचार बिक्री गर्न सक्नुहुन्छ । आफ्नो विचार बेचेर आफू मात्र होइन, अरूले पनि आय आर्जन गर्ने वातावरण सृजना गर्न सक्नुहुन्छ। विचारको व्यापार गर्ने कुराको ज्वलन्त उदाहरण ‘टिकटक’ ले प्राप्त गरेको विशाल व्यापारिक सफलता हो । एउटा सामान्य विचार, ‘छोटो छोटो भिडियो बनाएर मनोरञ्जन प्रदान गर्ने’, जुन कुनै व्यक्ति वा संस्थाको दिमागमा आएको थियो, ले अहिले सफल र बृहत् व्यापारको आकार लिएको छ । सफलताको उत्कृष्ट कथा बनेको छ ।

चीनको बेइजिङस्थित बाइटडान्स (ByteDance) नाम गरेको एउटा इन्टरनेट टेक्नोजोली कम्पनीले सन् २०१६ मा विकास गरेको यो टिकटक एपको प्रयोग अहिले विश्वभरि भइरहेको छ । टिकटक के हो र यसको प्रयोग कसरी गरिन्छ, हामी सबैलाई थाहा भएकै कुरा हो । कसैको दिमागबाट निस्केको एउटा सामान्य विचार (टिकटक)ले अहिले एउटा सफल र बृहत् व्यापारको रूप लिएको छ। यो प्रारम्भमा सानो विचार मात्र थियो। टिकटकको व्यापक प्रयोग अमेरिका, युरोपमा मात्र हुँदैन, मध्यपूर्व र एशियामा पनि उत्तिकै हुन्छ । दक्षिण एशियामा त यो अति लोकप्रिय नै छ ।

कुनै खास अवसर, समय, चाड, दिवस आदिको पनि व्यापार गरेर राम्रो आय गर्न सकिन्छ । अमेरिकामा ‘ब्ल्याक फ्राइडे’ व्यापारिक दिवसको रूपमा धूमधामका साथ मनाउने गरिन्छ। प्रत्येक वर्षको नोभेम्बर महीनाको अन्तिम बिहीवार ‘थैंक्सगिभिङ’ पर्दछ । यो अमेरिकीहरूको महत्वपूर्ण चाड हो । यो चाडको भोलिपल्ट शुक्रवार पर्दछ र त्यो शुक्रवारलाई ‘ब्ल्याक फ्राइडे’ भनिन्छ । ब्ल्याक फ्राइडेका दिन ठूलो मात्रामा अनेक सामग्री किनबेच हुन्छ । विक्रेताहरूले पनि यो अवसरको अधिकतम प्रयोग गर्न क्रेतालाई ठूलो छुट र अनेक उपहार प्रदान गर्ने पूर्व घोषणा गर्छन् । क्रेताहरू पनि सस्तोमा सामान खरीद गर्न भनेर महीनौंदेखि यस दिनलाई पर्खेर बसेका हुन्छन् । सङ्क्षेपमा अमेरिकामा ब्ल्याक फ्राइडे खरीद–बिक्री दिवस हो । व्यापारिक दिवस हो ।

नेपालमा पनि छठ, धनतेरस, फगुआ आदिलाई व्यापार दिवसको रूपमा प्रयोग गर्न सकिन्छ । तराई क्षेत्रमा कुश्ती, फूटबल, तराईको खाना प्रदर्शनजस्ता अवसर सृजना गरेर तिनको व्यापार गर्न सकिन्छ । यस किसिमको व्यापार गरेर स्थानीयस्तरमा रोजगार सृजना गर्न सकिन्छ । यसैगरी, बारा जिल्लाको बरियारपुरमा लाग्ने गढीमाई मेलालाई बर्सेनि मेलाको रूपमा विकास गर्न सकिन्छ । पाँच वर्षमा लाग्ने मेलामा बलि दिने र बर्सेनि लाग्नेमा केवल दर्शन गर्ने परम्परा चलाउन सकिन्छ ।

नेपालमा व्यापार–व्यवसायको विकासको इतिहास हेर्न हो भने हामी निकै पछाडि रहेको प्रस्ट हुन्छ । हाम्रो अर्थतन्त्रले कृषिको जगमा विकास गरेको पाइन्छ । त्यो कृषिको विकास पनि जमीनदारी प्रथाबाट भएको पाइन्छ । जमीनदारी प्रथामा मजदूरहरूले जमीनदारको लागि काम गर्दथे । व्यक्ति (वास्तविक कृषक)ले आफ्नोलागि जमीनको उपयोग नगरेको हुनाले उनीहरूले कृषिको विकासमा खासै ध्यान दिएनन् । पछि जमीनदारी प्रथा समाप्त भएर सामान्य व्यक्तिको हातमा जमीन आएपछि पनि जमीनदारी प्रथाको अवशेष रहि नै रह्यो । केही सीमित व्यक्तिको हातमा जग्गाको ठूलो भाग रहन पुग्यो । यसरी कृषि पनि नेपालको लागि लाभदायक हुन सकेन । अर्कोतिर व्यापारको विकास हुन सकेन । यी कारणहरूले गर्दा नेपाल गरीबीको कुचक्रबाट बाहिर आउन सकेन । नेपाल अहिले पनि गरीबीको कुचक्रबाट बाहिर आउन सकेको छैन । अहिले, व्यापारिक युगमा पनि, नेपालीहरू रोजगारका लागि ठूलो सङ्ख्यामा विदेश जानुपर्ने स्थिति छ । देशको अर्थतन्त्रलाई ‘रेमिट्यान्स’ले धानेको छ । कोभिडले गर्दा नेपाली श्रमिकहरू विदेशी श्रम बजारमा जान नपाउँदा देशको आर्थिक स्थिति कस्तो हुन पुग्यो हामीले देखि नै हाल्यौं ।

हामीलाई खासमा व्यापार गर्न आउँदैन। र व्यापार गर्ने अवसर हुँदाहुँदै पनि हामी त्यो अवसरको उपयोग गर्न जान्दैनौं । हामीले हाम्रो स्थान, विचार, अवसर आदिको राम्ररी व्यापार गर्ने हो भने स्थानीयस्तरमा अनेक रोजगार सृजना गर्न सकिन्छ। कसरी ? एउटा सानो उदाहरण हेरौं–
वीरगञ्जनजीक ठोरीमा रहेको अयोध्यापुरी अहिले निकै चर्चामा छ । यो चर्चाले जति राजनीतिक महत्व पायो, त्यति आर्थिक महत्व पाउन सकेन । तर यो अयोध्यापुरीको आर्थिक महत्व भने उच्च छ । यो गाउँको व्यापारिक भविष्य सबल छ । अयोध्यापुरीको नाम प्रयोग गरेर, त्यहाँ भएका ऐतिहासिक वस्तुहरूको प्रचारप्रसार गरेर लाखौंको सङ्ख्यामा पर्यटकहरूलाई अयोध्यापुरी जान प्रेरित गर्न सकिन्छ । स्थानीयस्तरमा यसरी रोजगार र आय सृजना गर्न सकिन्छ ।

राम भारतको अयोध्यामैं जन्मेका हुन् भन्ने कुरालाई नै आधार मानेर हिंड्ने हो भने पनि ‘रामगाथा’सँग जोडिएका धेरै कुरा नेपालको अयोध्यामा छन् भनी मान्न कर लाग्छ किनभने रामगाथासँग जोडिएका अनेक पुरातात्विक वस्तु त्यहाँ भेटिएका छन् । प्रम ओलीको भनाइ (राम नेपालको अयोध्यामा जन्मेका हुन्) पुष्टि गर्न नेपालको अयोध्यामा रातारात ती पुरातात्विक वस्तुको विकास गरिएको होइन । त्यस्तो कदापि हुन सक्तैन । इतिहास गतिशील हुन्छ, स्थिर हुँदैन । भोलिको दिनमा के होला भन्न सकिंदैन । नेपालकै अयोध्या रामको यथार्थ अयोध्या हुन सक्छ । यो कुरा भौगोलिक अध्ययन र अनुसन्धानहरूले प्रस्ट पार्नेछन् । तर आजको दिनमा हामीले नेपालको अयोध्याको महत्वको ‘मार्केटिङ’ गर्न सक्छौं । नेपालको अयोध्यामा भएका पुरातात्विक वस्तुहरूको अवलोकन भ्रमण आदिको आयोजना गरेर आन्तरिक पर्यटनको विस्तार एवं विकास गर्न सक्छौं । यसरी स्थानको बजारीकरण (Place marketing) गर्न सकिन्छ ।

नेपालको अयोध्या वा भारतको अयोध्या, कुन अयोध्या यथार्थ हो ? यो प्रश्न अहिले छलफल, अनुसन्धानको विषय मान्दै त्यसलाई थाती राखेर, नेपालको अयोध्यामा देखिएका पुरातात्विक वस्तुहरूको प्रचारप्रसार त गर्न सक्छौं, कि सक्तैनौं? फेरि पनि भन्न चाहन्छु कि इतिहास गतिशील हुन्छ । थाइल्यान्डको राजधानी बैंकक शहरनजीक पनि एउटा अर्को अयोध्या छ । यसैगरी, कम्बोडियाको एउटा शहर अङ्ककोर वाट, जसलाई ‘मन्दिरहरूको राजधानी’ पनि भन्ने गरिन्छ, सयौं हिन्दू मन्दिरहरूको शहरको रूपमा संसारभरि प्रख्यात छ । एकै स्थानमा ठूलो सङ्ख्यामा हिन्दू मन्दिर रहेको विश्वमा नै एकमात्र स्थान अङ्कोर वाट हो । यो क्षेत्र १६ लाख २६ हजार वर्गमिटरमा फैलिएको छ । र यहाँका मन्दिरहरूको निर्माण खमेर राजा सूर्यवर्मनले गराएका हुन् । सबै मन्दिरले हिन्दू धर्मको इतिहास भन्छन् । हिन्दू धर्मको उत्पत्ति र विकास केवल अहिलेको भारतमा भएको मान्नु हामीले आफ्नो ज्ञानलाई एउटा परिधिमा सीमित पार्नु सरह हुन्छ । जति नयाँ–नयाँ खोज र अनुसन्धान हुन्छ, त्यति नै नयाँ–नयाँ तथ्य र प्रमाण बाहिर आउँछ । कुनै समयमा चन्द्रमालाई कुनै देवलोक मान्ने गरिन्थ्यो। तर चन्द्रमामा मान्छे पुगेपछि, चन्द्रमा यथार्थमा उपग्रह हो भन्ने थाहा भयो ।

सङ्क्षेपमा हामी व्यापारको क्षेत्रमा निकै पछाडि छौं। हामी अमेरिका, बेलायत, चीनजस्तो व्यापारिक देश हुन सकेका छैनौं । हामी जति राजनीतिलाई महत्व दिन्छौं, त्यति महत्व अर्थलाई दिंदैनौ। अब हामीले अर्थव्यवस्थालाई महत्व दिनुपर्छ । अब हामीले वस्तु एवं सेवा मात्र होइन; विचार, स्थान र अवसरको पनि व्यापार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

काठमाण्डौ । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन्

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल