‘प्रहरी चारित्रिक प्रमाणपत्र’ प्रमाणीकरण अब सजिलै अनलाइनबाटै


काठमाण्डौ, २०७७/०२/२० । परराष्ट्रमन्त्रीस्तरबाट गत २०७७, जेष्ठ १६ भएको निर्णलाई कार्यान्वयन गर्दै नेपाल प्रहरीबाट जारी हुने प्रहरी प्रतिवेदन ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ (Police Clearance Certificate) को सक्कल प्रति (Hard Copy) मा नै नेपाल सरकार, परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागद्वाराबाट प्रमाणीकरण हुँदैआएकोमा सरकारी सेवालाई Online मार्फत् छिटो, छरितो, प्रभावकारी एवं सेवाग्राही मैत्री बनाउन नेपाल सरकारको नीतिबमोजिम प्रहरी प्रतिवेदनको प्रमाणीकरणलाई अनलाइन सेवासँग जोडिएको छ ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागद्वारा जारी सूचना अनुसार नेपाल प्रहरीमार्फत जारी हुने प्रहरी प्रतिवेदन ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ (Police Clearance Certificate) लाई निवेदक स्वयंले प्रहरी प्रतिवेदन प्रमाणीकरण सम्बन्धि अनलाइन Online मार्फत रङ्गीन प्रिन्ट गरी काठमाडौंस्थित विदेशी नियोगहरूमा यस विभागको प्रमाणीकरण बिना नै पेश गर्न सकिने व्यवस्थाको घोषणा गरेको हो ।

अपराध अनुसन्धान गर्ने देशको जिम्मेवार निकाय नेपाल प्रहरीबाट जारी कागजात पुनः अर्को निकायले प्रमाणीत गर्ने काम व्यवहारीक तथा वैज्ञानिक नरहेको गुनासो ब्यापक थियो । नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा जारी यस सूचनासँगै दोहोरो प्रमाणीकरणको झण्झटिलो व्यवस्था समेत स्वत रद्द पनि भएको छ ।

जारी अनलाइन सेवामार्फत् विदेशमा रहेका नेपालीहरूले विदेशको सम्बन्धित निकायमा प्रहरी प्रतिवेदन पेश गर्दा अनलाइनबाट आफैले प्रिन्ट गरेको रङ्गीन प्रति पेश गर्ने र सोको आधिकारिकता अनलाइन सेवाबाट बुझ्न सकिने तथा सोको ब्यहोरा सम्बन्धित निकायलाई जानकारी गराउने छ । तथापि नेपाली नियोगबाट प्रमाणित प्रति नै पेश गर्नु पर्ने भएमा आफू बसेको देश हेर्ने नेपाली नियोगमा निवेदक स्वयंले अनलाइनमार्फत् प्रिन्ट गरेको प्रहरी प्रतिवेदनको रङ्गीन प्रतिमा आवश्यक शुल्क तिरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि निवेदन दिन सकिने कुरा सूचनामा उल्लेख गरिएको छ । यसरी ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ नेपाली नियोगमा पेश गर्नु पूर्व यस विभागबाट प्रमाणीकरण समेत गर्नु नपर्ने र यस सुविधा सम्बन्धमा विदेशस्थित सबै नेपाली नियोगहरूलाई परिपत्र समेत गरिसकिएको कुरा सूचनामा उल्लेख गरिएको छ ।

अनलाइनबाट प्रिन्ट गरिएको प्रहरी प्रतिवेदन ‘प्रहरी चारित्रिक प्रमाणपत्र’को कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गर्नुपर्ने भएमा निवेदकले मनासिव कारण र प्रमाण सहित अनुरोध गरेमा मात्र उक्त प्रतिवेदनको सक्कल प्रति वा रङ्गीन प्रति (Color Print) मा प्रमाणित गर्न सकिने ।

यसरी पेश गरिने प्रहरी प्रतिवेदन ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ को आधिकारिकता अनलाइनबाट बुझ्न सकिने हुँदा झुठा विवरण वा प्रतिवेदन पेश गरेको पाइएमा कानूनबमोजिम कडा कारवाही हुने कुरा जारी सूचनामा उल्लेख गरेको छ ।


Loading comments...