
मास्क प्रयोगका कारण कानमा पीडा तथा चश्मा बाफले भरिन्छ? यस्तो छ समाधान!
मास्क (कपडाबाट बनेको नाक र मुख ढाक्ने फिल्टर जस्तो वस्तु)लाई यस कोरोना कालमा मानिसहरुका लागि अत्यन्तै सुरक्षित वस्तुको रुपमा प्रस्तुत गरिएको छ । यस कारणले पनि यदि तपाईं घर बाहिर निस्किंदै हुनुहुन्छ भने तपाईंले मास्क लगाउन अनिवार्य छ । मास्क प्रयोग गर्ने अनिवार्यता तथा यसको प्रभावकारीतालाई नेपाल सरकार, गृह मन्त्रालयले समेत जनमानसले लापरवाही नगरुन भन्ने उद्देश्यले ‘मास्क प्रयोग नगरी बाहिर निस्किनेलाई समात्ने’ भनि सार्वजनिक सूचना नै जारी गर्नुपर्यो । अर्थात् साँच्चै कोरोनाभाइरसको सम्भावित संक्रमणलाई हामीले ख्याल-ठट्टा लिनुभएन ।
तर, मास्क प्रयोग गर्दा केही अपठेरो समेत आउनेगर्छ । त्यसमध्ये अधिकांश चश्मा प्रयोगकर्ताहरुको केही साझा समस्या रहेको छ । त्यो हो, मास्क प्रयोग गर्दा चश्मामा आफ्नै स्वाँसको बाफले चश्मा धमिलो हुने समस्या ।
अर्को समस्या हो धेरैबेर मास्क लगाउँदा मास्क अडाउन प्रयोग हुने रबरका दुवै तुनाले कानमा दिने पीडा । कहिले काँही यो पीडा असह्य हुन्छ । यदी तपाईं पनि तिनै समस्याहरुबाट दिक्क हुनुहुन्छ भने हामीसँग यो समस्याको समाधान छ ।
चश्मामा बाफ जम्ने समस्याः
यदी तपाईं चश्मा प्रयोग गर्नुहुन्छ भने अवश्य पनि मास्क लगाइसके पश्चात अगाडी हेर्न समस्या भएको हुनुपर्छ । किनकी मास्कको कारण तपाईंको चश्माको सिसामा आफ्नै स्वाँसको बाफ जम्न थाल्दछ जसका कारण सबैथोक धमिलो देखिन्छ ।
यसको समाधान सजिलो छ
चश्मा प्रयोग गर्नु अघि अनुहारमा सर्वप्रथम मास्क प्रयोग गर्नुहोस् र नाकमा रहेको मास्कको सपोर्ट टम्म मिलिसकेपछि त्यसको माथी चश्मा प्रयोग गर्नुहोस् । यसो गर्दा मुख तथा नाकबाट निस्कने बाफ चश्मामा जाँदैन र चश्मा सफा रहिरहन्छ । अथवा टिस्यू पेपरलाई औंलाको चौंडाइमा बेरेर मास्कको माथिल्लो पछिल्लो भागमा टाँसेर नाकको सपोर्ट तथा अनुहारमा टम्म मिलाएर त्यसमाथी चश्मा लगाउँदा समेत चश्मा आफ्नै स्वाँसका कारण धमिलो हुने समस्याबाट समाधान प्राप्त गर्न सक्नुहुनेछ ।
कानमा पीडा हुन्छ भने मास्कको यसरी प्रयोग गरौं
विशेषगरी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले निरन्तर मास्क प्रयोग गर्दा अथवा कार्यालयमा रहँदा, मिटिङ बस्दा लामो समय मास्कको प्रयोगका कारण मास्कको रबरयुक्त तुनाले कानलाई असह्य पीडा दिनेगर्दछ । लामो समयसम्म मास्कको प्रयोग गर्नेहरुमा कान तथा छेउको मान्सपेसीमा पीडाको समस्या बढ्दै गएको छ ।
पीडाबाट यसरी मुक्ती पाउनुहोस्
यदी तपाईं महिला हो भने मास्कको दुवै रबरयुक्त डोरीहरु कानमा न अड्याएर क्लिपमा स्टाइलिस तरिकाले फसाएर कपालमा अल्झाउन सक्नुहुनेछ । जसका कारण तपाईंले प्रयोग गरेको मास्क खुकुलो हुन्छ र अनावश्यक कानमा रबरको तुनाको खिचावका कारण हुने पीडाबाट पनि तपाईंको कानले आराम पाउने छ । अथवा महिला पुरुष जो कोहीले पनि मास्कको रबरयुक्त तुवैतर्फको तुनामा अतिरिक्त तुना थपेर कानमा मास्क नअड्याई टाउको पछाडी पनि सुर्के तुना बाँध्न सकिन्छ । यसबाट पनि कानमा हुने पीडाबाट मुक्ती पाउन सकिन्छ ।