
विद्वान भन्ने वाहियात मान्छेहरुकाे चाकरी बढि भयाे: नारायणाकाजी श्रेष्ठ
२०७४ सालको चुनावमा राजनीतिक स्थिरता एवं जनता र मुलुकको समृद्धिको सपना बाँडेर दुई कम्यूनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । त्यही नाराले चुनावमा बुहमत आएपछि पार्टी एकता समेत गरेको नेकपा अहिले शिर्ष नेताहरुबीच पदीय भागबन्डा नमिलेर फुटको संघारमा पुगेको छ । दुई बर्ष अघि आफैले गरेको प्रतिबद्धताको बर्खिलाप प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरु पदको लडाईमा छन् ।
कम्यूनिष्ट पार्टीका नेताहरु आफ्नै सरकार ढाल्ने र जोगाउने खेल यस्तो बेलामा खेलिरहेका छन्, जुनबेला जनता कोराना भाइरसको विश्वव्यापी महामारीबाट मरिरहेका छन्, संक्रमणको जोखिमले आतंकित छन्, बाढी पहिरो डुबानले जनधनको व्यापक क्षति भएको छ, सलहका कारण किसानहरुका खेतीबारी नांगिएका छन् । नागरिकहरु भोकभोकै पर्ने स्थिति छ र अर्थतन्त्र चौपट भएको छ ।
नागरिकहरुमाथि एकैपटक आइपरेको यस्ता तमाम समस्या माथि एक दिन पनि सत्तारुढ दल नेकपालाई छलफल गर्ने फुर्सद छैन । पछिल्लो दुई महिनायता त बालुवाटार, खुमलटार र कोटेश्वरमा नेताहरुका दिनहुँ ,भेला चलिरहेका छन्, एकले अर्कालाई कसरी सिद्धयाउने योजनामा नेताहरु घण्टौं बहस गरेर बिताइरहेका छन् ।
जनताहरु चरम संकटमा परेका बेलामा शासकीय नेतृत्वमा रहेको दल र तिनका नेताहरु किन यो हदसम्म गैरजिम्मेवार बनिरहेका छन् ? दुईबर्षअघि गरेको राजनीतिक स्थिरता र समृद्धिको प्रतिबद्धता के सत्ता प्राप्तीका लागि मात्र थियो ? पदीय भागबन्डाको खेलले मुलुकलाई नै बन्धक राख्नु अपराध नै होइन र ? जनता–जनता भनेर भाषणमा फलाक्ने कम्यूनिष्ट नेताहरुको प्राथमिकतामा आज जनता कहाँ छन् ? के नेकपा फुटाउन देशी विदेशी शक्तिहरुको लागेका हुन् ? छिमेकी भारत, चीन र राष्ट्रपति जस्तो संस्था किन नेकपाभित्रको विवादमा मुछिने स्थिति आयो ? नेकपाभित्रको विवाद के कारणले उब्जिएको हो र अब यो कहाँ पुगेर टुंगिंन्छ ?
यस्तै प्रश्नको जवाफ खोज्न आज TOUGHtalk मा दिलभुषण पाठकका साथ हुनुहुन्छ– नेपाल कम्युनिष्ट पार्टी, नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता एवं पूर्व उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ । पुरा कार्यक्रम हेर्नका लागि Play बटन थिच्नुहोस् ।