निबन्ध : कोरोना सकियो ? फेरि आयो कोरोना ?


लकडाउन पूरै खुलेको थियो । अब फेरि लकडाउनको हल्ला चलेको छ । समय र परिस्थिति विपरित हुन गयो भने त्यसो पनि हुने सम्भावना छ । स्तब्ध जीवनगति चलायमान भएको थियो । फेरि स्तब्धतामा जान्छ कि भन्ने त्रासले पनि गाँजिरहेको अहिलेको बेला छ । त्यसैले हामी यतिबेला हर्ष र विष्मातको दोसाँधमा छौँ ।

मैले कोरोनाको प्रारम्भिक अवस्थादेखि नै कोरोना र यसबाट सावधान हुने बारेका केही लेखहरू प्रस्तुत गरेकी थिएँ । सोही कारण पनि यति बेला मलाई धेरै साथीहरूको फोन र फेसबुकको मेसेञ्जरमा मेसेजसमेत आइरहेको छ । ती सबै प्रश्नहरूको उत्तर सारांशमा दिनुको औचित्य नै यस लेखमा प्रस्तुत गरेकी छु । खासमा सबै प्रश्नहरूको सार प्रश्न र उत्तरको सार नै म यहाँ प्रस्तुत गर्ने छु ।

लेखकः इन्दिरा प्रसाई

नडराउनु होस् ! संसारमा कोरोना लागेका सबै मरेका छैनन् । उहिल्यै पनि रुघा खोकी बिग्रिएर र निमोनिया भएर हाम्रा थुप्रै आफन्त मरेका छन् । तर अहिलेको परिस्थितिमा कोरोनाको सङ्क्रमणको शङ्का लागेको अवस्थामा विशेष सतर्कता भने अपनाउनै पर्छ ।

° प्रश्न : “के लकडाउन खुल्नु भनेको हामी पूर्ववत ( कोरोना प्रारम्भ हुनु अघिको) अवस्था अनुरुप जीवनशैली अपनाउन सक्षम भयौँ त ?”
° उत्तर : “कोरोना कोभिड-१९ को आतङ्क घटेको थियो तर यो सङ्कट पूर्णरूपले निर्मुल नभएको कारण यसले फेरि शिर उठाउने अवस्था देखा परिरहेकै छ । त्यसैले मानवजाति अहिले पनि कोरोना कोभिडको खतराबाट मुक्त भएको वा तुरुन्तै यसबाट सुरक्षित हुन सक्ने अवस्था पनि छैन ।”
° प्रश्न : “कहिलेसम्म ?”
यस्तो प्रश्न पनि स्वाभाविक रुपले आउँछ नै । यसको जवाफ असहज त छ तर त्यही उत्तर नै सत्य हो ।
° उत्तर : “दीर्घकालसम्म सुरक्षित रूपमा बस्नु पर्छ ।”
फेरि यही प्रश्न मै तिर फर्किन्छ ।
° प्रश्न : “दीर्घकालसम्म सुरक्षित रूपमा बस्नु पर्छ ?”
° उत्तर : “हो दीर्घकालसम्म सुरक्षित रूपमा बस्नै पर्छ ।”
° प्रश्न नभएको प्रश्न :
“खुइ…इ…य… लौ मार्यो अब !”
° “कसरी बसिरहने?”
° “चौपट भो’ बा…!”,
° “के गर्ने होला…!”
आदिइत्यादि ।

यसैबारे मैले केही कुरा यहाँ समग्रमा राख्न चाहेकी छु ।
•••
हाम्रो अविकशित देशको त हिसाबै भएन विश्वका विकशित राष्ट्रै पनि कोभिड आउनुभन्दा अघिको समयमा पनि थरिथरिका डरलाग्दा विषाणुसँग जुध्दै आएकै हुन् । यत्ति हो कोभिड अघिका सङ्क्रमणसँग जोगिने उपाय मानिससँग थियो अथवा मानिस स्वयम् उक्त सङ्क्रमणका कारक थिए । गज्जबको कुरा त के थियो भने, सङ्क्रमणकारी चाहिँ मानिस थिए र सङ्क्रमण भोग्ने चाहिँ मानिसमात्र नभएर समग्र व्रम्हाण्ड थियो । मानिसको सङ्क्रमणले आजित हुँदाहुँदै प्रकृति नै पराजित हुने क्रममा थियो । मानिस प्रकृतिलाई नै चुनौति दिँदै प्रकृतिका विरुद्ध लागिपरेको थियो ।

अचानक विश्व परिवेशमा कोभिडको सुक्ष्मातिसुक्ष्म किटाणुको उपस्थितिले मानिसको अहङ्कार नष्ट पारेको छ । अचम्मकै कुरा छ कोभिडको आतङ्कको चपेटामा पनि मानिसमात्र परेको छ । किनभने कोभिडबाट पराजित मानिसका कारण प्रकृतिले भने यतिबेला धेरै राहत पाएको छ ।

यी त समग्र विश्व परिवेशका कुरा भए, अब हामी नेपालीहरूका सन्दर्भका कुरा गरौँ है त !

हेर्नोस्,हामी नेपाली र अझ खास गरेर काठमाडौँ उपत्यकामा बस्ने नागरिकहरूले विश्वमा कोभिड किटाणु प्रवेश गर्नु अघिदेखि नै कोभिडभन्दा पनि डरलाग्दा किटाणुसँग सङ्घर्ष गर्दै आएका हौँ । काठमाडौँ उपत्यका संसारमा उच्चतम क्यान्सरका रोगी भएको शहरमा गनिएकै हो । हामी नेपाली राजनैतिक, आर्थिक, सामाजिक, पारिवारिक र व्यक्तिगत विविधखाले सङ्क्रमण झेल्दै र यसबाट आक्रान्त हुँदै पनि आएका हौँ ।

हामीले भोग्न वाध्य हुनुपरेका अन्य सङ्क्रमणबारे पछि चर्चा गर्ने वाचा गर्दै यस लेखनमा चाहिँ म हामीले अहिले भोग्दै आएको स्वास्थ्यसँग सम्बन्धित सङ्क्रमणबारे चर्चा गर्छु ।

स्वास्थ्यसँग सम्बन्धित कतिपय सङ्क्रमण राज्यको कुव्यवस्थापनको वरदानका रूपमा हामीले पाइआएका छौँ । कतिपय चाहिँ हामी आफैँले आर्जन गरेको सङ्क्रमण पनि छ । राज्यको कुव्यवस्थापन हामी एक व्यक्ति वा परिवारले परिवर्तन गर्न सक्दैनौँ । यतिबेला त्यसबारे पनि चर्चा नगरौँ । तर हाम्रै परिवार वा हामी स्वयम् व्यक्तिले आफूहरूले नै निम्त्याएको सङ्क्रमणबाट भने हामीले चाहँदा हामी मुक्त हुन सक्छौँ भन्ने मेरो यस लेखनको औचित्य हो ।

हाम्रो वैदिक परम्परालाई लत्याएर आधुनिकताको अन्ध नक्कल गर्नाले नै हामी अहिलेको भूमरीमा परेको भन्ने मेरो ठहर छ । अब पुन: हामीले आफ्नो जीवनशैलीलाई हाम्रा आमा हजुरआमाका मार्गदर्शन अनुरुपको जीवनशैलीमा रूपान्तरित गर्न सकेमा कोरोनामात्र होइन कुनै पनि किसिमका सङ्क्रमणबाट हामी बाँच्न सक्छौँ ।

केही समयका लागि होइन बरू अब हामीले आधुनिक हुने चक्करमा अपनाउँदै आएको गलत जीवनशैली सच्याउनु आजको आवश्यक्ता हो । कोरोना कोभिड-१९ हामी मानवलाई स्वस्थ्य र दीर्घजिवी बनाउनका लागि आएको छ भन्ने सकारात्मक सन्देश हृदयङ्गम गरेर आफू र आफ्नो परिवारको जीवन शैलीलाई पुरातन शैलीमा परिवर्तन गरौँ ।

काठमाडौँ वा संसारका कुनै पनि धुवाँधुलोको प्रदुषणले आक्रान्त शहरमा सुरक्षित बाँचेका मानिसहरूले लकडाउन अवधिभर प्रदुषण मुक्त रहन पाउँदा एक महिना बराबर एकवर्षको थप आयु पाएका छन् । त्यसो भनेर सधैँ लकडाउनमा बस्दा पनि आर्थिक गतिविधि चौपट भएर मानिसको जीवन यापनलाई ठूलो मार पर्छ । तर कोभिडले दिएको सन्देशका रूपमा हरेक राष्ट्रले कम्तिमा एक महिनाका लागि राष्ट्रिय विदाका रूपमा सवारी साधनमात्र हर्ष उल्लासका साथ लकडाउन गरिदिँदा पनि ओजोनको तहलाई पुन: प्वालपर्नबाट जोगाउन सकिएला कि !

कोरोनाबाट जोगिने केही उपक्रमहरू म उल्लेख गर्दैछु । तर यी कुनै पनि मैले नयाँ आविश्कार गरेका कुरा होइनन् । यी मेरी हजुरआमाबाट मेरी आमाले सिकेको, मेरी आमाबाट मैले सिकेको पारम्परिक जीवन शैलीमात्र हो । तपाईँहरूले यदि यसप्रकारको जीवनशैली अपनाउन छोड्नु भएको भए पुन: आफूलाई सच्याउनु होस् ।

म आफू र मेरो परिवारले पालना गर्दै आएको पारम्परिक जीवनशैलीका नियमहरू यहाँहरूका लागि उपयोगी हुन सक्छ भनेर प्रस्तुत गरेकी छु:
१. घर बाहिरबाट घरमा प्रवेश गर्नु अघि जुत्ता घर बाहिरै फुकाल्ने ।
२. हात, खुट्टा धोइपखाली गरेर मात्र घरमा पस्ने वा चोखिने ।
३. घर बाहिर लगाएका लुगाफाटा नफेरी वा चोखा लुगा नलगाई र राम्रोसँग हात नधोई खाना नखाने । अझ खानेबेलामा हात र खुट्टा दुवै धुनसकेमा पाचन प्रक्रियालाई पनि फाइदा पुग्ने छ ।
४.सफा लुगा लगाएर सफा बिछ्यौनामा सुत्ने ।
५. सूर्योदयअघि नै बिछ्यौना छोड्ने । शारीरिक व्यायाम,योग, प्राणायम तथा ध्यान गर्ने । समय मिलाएर परिवारका सदस्यहरूका साथमा स्वस्थ्य मनोरञ्जनात्मक समय व्यतित गर्ने गराउने ।
६. सूर्यास्तअघि नै रातिको भोजन गर्ने । राति १० बजेभन्दा अघि सुतिसक्ने।
७. अन्न भन्दा सन्न ( पानी वा झोलझाल) बढी खाने ।
८. होटलका वा बजारिया पत्रु खाना नखाने । ढिँडो, फ्याप्लो वा जाउलो नै पनि किन नहोस् आफ्नै भान्सामा पाकेको खानेकुरा खाने ।
९. अभक्ष्य (माछा, मासु, [खानै परे राम्रोसँग पकाएर मात्र खानु] अण्डा, जाँड, रक्सी, चुरोट, बिँढी, जर्दा, गुट्काआदि) सेवन नगर्ने । सकेसम्म फलफूल र हरियो तरकारी पर्याप्त खाने ।
१०.सधैँ सबैको भलो चिताउने र सकेको सबैप्रति सहयोग पुर्र्याउने ।
११. आफूले पुजिआएका देउता पुज्दै परमात्माप्रति सदा सर्वदा धन्यवादी हुने ।

कोभिड कहरले आक्रान्त पारेपछि हामीले वर्तमानको जीवनशैलीमा यी नियम थप गरेका छौँ:
१. बाहिर जानुपर्दा मास्क र ग्लोब्सको अनिवार्य प्रयोग गर्ने ।
२. एकै घरमा बस्ने बाहेक अरू कसैलाई पनि (अहिलेको अवस्थामा) घरभित्र नलाने ।
३. परिवार बाहेकका मानिसहरूसँग नमस्कारको मात्र आदान प्रदान गर्ने छुवाछुत नगर्ने ।
४. विदेश वा घर बाहिरका कोही पाहुनै लाग्न आए घरमा क्वारेन्टाइनमा राख्न सकिने व्यवस्था नभए घरमा बस्न दिन असमर्थता जनाउने ।
५. बजारबाट ल्याएका अथवा घरबाहिरबाट घरभित्र ल्याइएका जुनसुकै सामानहरू (रूपैयाँ पैसा, घडी, गहना, पर्स वा ब्याग, कापी, कलम किताब, पत्रिका वा खानेपिनेजस्ता कुनै पनि सामान) प्रचण्ड घाममा केही घण्टा वा साबुन पानी वा सेनेटाइजरले चोख्याउने अथवा १२ घण्टासम्म छुतछात नहुने ठाउँमा राख्ने ।
६. बाहिर शंकास्पद व्यक्ति वा बस्तुसँग छुतछात भएको वा आफूलाई शङ्का लागेको अवस्थामा घरभित्र प्रवेश हुनासाथ सम्पूर्ण बस्तु र आफूलाई चोख्याउने उपक्रम नगरी परिवारका सदस्य र कुनै पनि बस्तुसँग पनि लसपस नगर्ने ।
७. बाहिरबाट आएपछि चोखिनासाथ तातोपानीले मुख कुल्ला गरेर तातो पानी वा काँडा पानी वा चिया कफी नै भए पनि पिउने ।
८. जिन्दगी रहे मोजमज्जा, साथीभाइ सँगको खानपिन सबै भविष्यमा गर्न सकिनेछ । अहिलेलाई अति नै जरुरी बाहेक रमाउनकै लागि भनेर कुनै पनि जमघटमा नलागौँ ।
९. विश्व कहरको ईतिहास अध्ययन गर्दा हरेक कहर एउटा निश्चित अवधिभन्दा बढी बसेको देखिँदैन । त्यसैले अहिले यस कोरानाको सम्मानमा सकेसम्म शान्त भएर यी नियमहरूको पालना गरौँ । अझ थप जान्ने सुन्ने व्यक्तिहरूसँग पनि सोधिखोजि गरेर सकेसम्म सतर्क रहँदै सुरक्षित भएर स्वस्थ्य हुने प्रयत्न गरौँ ।

~~~~~
यति गर्दा गर्दै पनि यदि कोरोना लागिहाल्यो भने पनि:
नडराउनु होस् ! संसारमा कोरोना लागेका सबै मरेका छैनन् । उहिल्यै पनि रुघा खोकी बिग्रिएर र निमोनिया भएर हाम्रा थुप्रै आफन्त मरेका छन् । तर अहिलेको परिस्थितिमा कोरोनाको सङ्क्रमणको शङ्का लागेको अवस्थामा विशेष सतर्कता भने अपनाउनै पर्छ ।

• सावधान
• सचेतना

• साहस नै कोरोनाको खास औषधी हो ।
• कोरोना नै लागेको शङ्का लाग्नासाथ पनि पटक्कै नआत्तिनु होस् । सबैभन्दा पहिलो र ठूलो अौषधी आत्मविश्वास हो । आत्मविश्वास गुमेको व्यक्ति हत्पत्ति कसैले बचाउन सक्दैन भने आत्मविश्वासीलाई हत्पत्ति कसैले मार्न सक्दैन । त्यसैले कोरोनै लागे पनि सतर्क, सचेत र साहसी बनेर कोरोना पराजित पार्न लागिपर्नुहोस् । अवश्य सफल हुनुहुनेछ ।
• त्यसैले रूघाखोकीका साथ ज्वरो नै आए पनि सिटामोल खाने र रूघा निको पार्न पारम्परिक बेसार पानी पर्याप्त खाने गर्नु होस् ।
• दैनिक चार पाँच पटकसम्म सादा पानीको वाफ लिने गर्नु होस् ।
• रुघा पाल्ने वा हेल्चेक्र्याईँ गर्ने होइन चाँडोभन्दा चाँडो रूघा निको पार्न पटि लाग्नु होस् ।
• परिवारमा कोरोनाको शङ्कास्पद रोगी भएमा सकेसम्म त्यस्ता व्यक्तिले घरपरिवारका अरूव्यक्तिसँग छुतछात नगर्नु होस् ।
• दीर्घ रोगी बाहेक अरू व्यक्तिले अस्पताल र डाक्टरको चक्कर काट्नु भन्दा कोरोनालाई आफैँ निको पार्न सकिने प्रशस्तै उदाहरण देखा परिसकेका छन् ।
• बालबालिका, वृद्ध र अशक्त वा दीर्घ रोग लागेका व्यक्तिलाई कोरोनाले बढी सिकार बनाउने कुरा अस्वाभाविक होइन । त्यसैले हरेक परिवारले आफ्ना परिवारमा भएका त्यस्ता व्यक्तिहरूलाई सङ्क्रमणमा पर्नबाट जोगाउनु होस् ।
• यस कोरोनाको कहरबाट आफू जोगिँदै, परिवार, समाज, राष्ट्र र संसारलाई नै जोगाउने महत्वपूर्ण भूमिका तपाईं स्वयमले खेल्न सक्नु हुन्छ । र त्यस्तो भूमिका भनेको प्रत्येक व्यक्ति स्वयम् जोगिने हो ।

© इन्दिरा प्रसाई


Loading comments...