१७ वर्षदेखि फरार हत्यारा पक्राउ


झापा, २५ साउन, २०७७ । नेपाल प्रहरी, झापाले हत्यामा संलग्न १७ वर्षदेखि फरार अपराधी पक्राउ गर्न सफल भएको छ । २०६० साल कार्तिक ३० गते झापा, टाघनडुब्बाका स्थानीय विरिकलाल माझीको हत्यामा संलग्न भएको अभियोगमा झापा प्रहरीले दुर्गाबहादुर थापा मगरलाई पक्राउ गरेको हो ।

हत्याका आरोपी दुर्गाबहादुर झापाको मेचिनगर नगरपालिका, १२ शहरेडाँगीस्थित रहेको आफन्तको घरमा लुकिछिपि बसेको भन्ने जानकारीका आधारमा प्रहरीले निजलाई सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरी प्रमुख एस.पी. कृष्णप्रसाद कोइरालाले पक्राउ परेका अभियुक्त दुर्गाबहादुरलाई अदालतबाट पाँच दिनकाे म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रतिक्रिया दिए । घटनामा दुर्गाप्रसादलाई साथदिने अन्य  अरु फरारकाे समेत खाेजि भने जारी रहेकाे छ ।

के छ प्रहरीद्वारा जारी प्रतिवेदनमा?
२०६० साल कार्तिक ३० गते अपरान्ह ९ बजेर ३० मिनेटको समयमा बिष्णुलाल माझीको घरमा नातामा ससुरा पर्ने जिल्ला झापा साविक टाघनडुब्बा गा.वि.स. वडा नं. ४, हाल झापा गाउँपालिका वडा नं. ४ वस्ने वर्ष ४५ को बिरिक लाल माझि निजकै छोरीसंग भेटघाट गर्न भनी छोरीको घर आएको बेला सामान्य विवादमा जिल्ला झापा साविक जलथल गा.वि.स वडा नं. ८ बस्ने (तत्काल) वर्ष २६ को दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर लगायतका व्यक्तिहरुले कुटपिट गरी गम्भिर घाईते बनाई निज प्रतिवादीहरु भागि फरार रहेका र निज घाईते बिरिकलाल माझी उपचारको क्रममा निज प्रतिवादीहरुले कुटेको चोटको कारण मृत्यु भएको घटना सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिवादी दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगरको खोजतलाशको क्रममा मिति २०७७ साउन २२ गते जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले निज प्रतिवादी दुर्गा बहादुर थापा मगर लाई जिल्ला झापा मेचिनगर न.पा वडा नं. १२ स्थित शहरेडाँगीबाट फेला पारी पक्राउ गर्न सफल भएको छ ।

निज प्रतिवादी दुर्गा भन्ने दुर्गा बहादुर थापा मगर वारदात पश्चात आफ्नो घर वतनमा नबसी काठमाण्डौ, भारतको कोलकत्ता दार्जिलिङ लगायतका विभिन्न स्थान , वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबई देशमा समेत गई बसेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। निजलाई मिति २०७७।०४।२३ गते सम्मानित झापा जिल्ला अदालतबाट पहिलो पटक दिन ५(पाँच) म्याद थप गरी हाल अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । निजले गरेको कसुर मुलुकी ऐन २०२० को ज्यान सम्बन्धि महलको दफा १३ बमोजिमको कसूर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही महलको १३(३) बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको छ ।


Loading comments...