
नेपाली काँग्रेसको प्रश्नः जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?
काठमाण्डौ, श्रावण ३१, २०७७ । राज्यको ब्यस्तता कि राज्यको बेवास्ता ? – जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा
पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ? भन्दै नेपाली काँग्रेसले सिन्धुपाल्चोकको जुगलस्थित लिदीमा गएको पहिरोमा परि ठूलो धनजनको क्षतिप्रति सरकारलाई ध्यानाकर्षण सहितको प्रेस वक्तव्य जारी गरेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जली एवं बाँचेकाहरुलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहंदा घटनासँग गांसिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता नेपाली कांग्रेस सार्वजनिक रुपले औंल्याउन चाहन्छ। जुगल गापाको वडा नं २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो । यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षति उपर केन्द्रित हुनु स्वभाविक हो तर पहिरोमा जसले जीवन गमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेाईं मात्रै होईन राज्यको अक्षम्य गल्ती हो । प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो ।
हामी प्रश्न गर्न चाहन्छौ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रहयो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ ?
कोरोनाको महामारीसँग जुध्न असफल भइ रहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको छ । कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोट प्रति गम्भीर तदारुकता साथ कार्य गर्न नेपाली कांग्रेस फेरि पनि नेकपाको सरकार संगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ !
नेपाली काँग्रेसका प्रवक्ता लोकप्रिय युवानेता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीको वास्तविक प्रतिः

यस अघि जुगल गाउँपालिका, सिन्धुपाल्चोकबाट निरन्तरको वर्षाले लिदी (आज पहिरोका कारण ठूलो मानवीय क्षती भएको स्थान) सहितका पाँच जोखिमयुक्त स्थानको भौगोलिक जोखिमबारे अध्ययनका लागि स्थानीयहरुको निवेदन परेको र सो निवेदन उपर आवश्यक पहल गरिदिनुहुन भनि नेपाल जिल्ला विपद् संयोजन समिति, चौराता, सिन्धुपाल्चोकलाई पत्राचार गरेको थियो ।
उक्त पत्रको सक्कल पत्रिः
जुगल गापाको यो पत्र बोल्छ- गाउँलेले ८ दिनअघि नै सुरक्षाका लागि गुहारेका रहेछन् तर दूर्भाग्य पत्रले परिणाम दिएन, उनीहरु पहिरोमा पुरिए l केहि लास भेटिए, तीन दर्जन बेपत्ता छन् !
निवेदनमा के लेखिएको थियो?
श्रीमान सम्योजक ज्यू,
जिल्ला विपद व्यवस्थापन समिति,
चौतारा, सिन्धुपाल्चोक
विषय : आवश्यक पहल गरिदिनुहुन ।
प्रस्तुत विषयमा यस वर्ष मन्सुन सुरुवात भएसगै परेको अविरल वर्षातको कारण यस जूगल गाउपालिकाका तपशिल बमोजिमका क्षेत्रहरूको घर तथा बस्तीहरु बाढी तथा पहिरोको जोखिममा रहेको भनि उक्त क्षेत्रका बासीन्दाहरुको निवेदन प्राप्त भएको हुँदा उक्त क्षेत्रहरुमा भौगोलिक जोखिमता अध्ययनको लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिदिनुहुन अनुरोध गर्दछु ।