हरतालिका तीजः तपाईं पनि यदि व्रत लिंदैहुनुहुन्छ यि कुराहरु उपयोगी हुन सक्छन्


काठमाण्डौ । आज हरतालिका तीज, नेपाली नारीहरुको महान चाड । व्रत लिनेहरुको लागि आज बिहानै नित्यास्नान गरे लगत्तै व्रतको विधिवत शुरुवात हुन्छ । यस पटकको हरतालिका तीज शुक्रवारको दिन परेको छ । यस दिन विवाहित महिलाहरुले श्रीमानको लामो उमेरका लागि व्रत लिने चलन छ भने अविवाहितहरुले विवाहका लागि सुन्दर, कर्मशील तथा माया गर्ने श्रीमान भेटियोस् भनी व्रत बस्ने गर्दछन् । यस दिन भगवान शिव तथा माता पार्वतीको पूजा अर्चना गर्ने गरिन्छ ।

हर​तालिका तीज व्रतलाई सम्पूर्ण व्रतहरुमा श्रेष्ठ मानिन्छ । यो व्रत अत्यन्तै कठिन हुने गर्दछ । यो व्रतलाई दुई किसिमले लिने गरिन्छ । एउटा हो निर्जला अर्थात पानी समेत सेवन नगरी बसिने व्रत तथा अर्को हो फलहारी अर्थात मात्र फलफूलको सेवन गरिने व्रत । फलहारी व्रत राख्नेहरुले व्रतका क्रममा पानी पिउन सक्दछन् भने निर्जला व्रत्र राख्नेहरुले फलफूल केही नखाएर व्रतको नियम पालना गर्दछन् ।

निर्जला व्रत आफैमा चुनौतीपूर्ण प्रक्रिया हो । यस जटिल व्रतका क्रममा कैयन महिलाहरुको स्वास्थ्यले ठाउँ छाड्छ र बेहोस् भएर ढलेका खबरहरु पनि प्राप्त हुनेगरेका छन् भने कतिपयलाई व्रतका उचित तौर तरिका थाहा नपाएर समस्या भइरहेको समेत हुनसक्छ । आउनुहोस् लाइभमाण्डू तपाईंका लागि प्रस्तुत गर्दछ केही विशेष हरतालिका टिप्सः

१. यदि तपाईं हरतालिका तीजको व्रत लिंदैहुनुहुन्छ भने याद राख्नुहोस् घरमा आजको दिन मांसाहारी खाना नबनोस् तथा घरमा लहसुन तथा प्याज मिसिएको कुनैपनि खाना तयार नगर्नुहोस् ।

२. यदि व्रत लिनुभएको छ भने आजको रात नसुतेर महिलाहरु मिलेर भजन किर्तन गरी रातभरी जागरण गर्नुहोस् ।

३. यदि व्रत लिनुभएको छ भने आजको दिन खुशी रहनुहोस्, रिश या चिड्चिडाहटबाट टाढा रहनुहोस् । आफ्नो परिवारको साथमा समय खर्चिनुहोस् जसका कारण तपाईंलाई रिश उठ्नेछैन ।

४. यस दिन हाथमा मेहँदी अवश्य लगाउनुहोस् ।

५. व्रतका क्रममा दूधको सेवन नगर्नुहोस् । स्वास्थ्यका हिसाबले खाली पेटमा दूधको सेवन उचित मानिदैन ।

६. तीजमा व्रत निर्जला नै बस्ने गरिन्छ तर केहीलाई आफ्नो स्वास्थ्यको कारण फलहारी व्रत समेत बस्ने गर्दछन् । यसो गर्दा तपाईंले फलफूल खान सक्नुहुनेछ ।

७. सफा, चोखो कपडा लगाएर मात्र पूजा गर्नुहोस् । तीजमा सबैभन्दा बढी रातो, हरियो रङको साडी पहिरिने गरिन्छ । तीजको पूजा शिव जीका लागि गरिने व्रत हो र भगवान शिवलाई हरियो रङ अत्याधिक मन पर्दछ ।

६. हरतालिका व्रतका क्रममा १६ श्रृंगारको विशेष महत्व रहेको मान्यता छ । माता पार्वतीका लागि सौभाग्यका सामानहरु जस्तै रातो चुरी, टिका, सिन्दूर आदी मन्दिरमा चढाउनुहोस् ।

७. यस दिन शिव मन्दिर पुगेर शिव-पार्वतीको पूजा अर्चना गर्नुहोस् । वहाँसँग सौभाग्य तथा एकापसी प्रेमको कामना गर्नुहोस् । माता पार्वतीलाई चुनरी अपर्ण गर्नुहोस् ।

८. ॐ गौरीशंकराय नमः को जप १०८ पटक गर्नुहोस् । त्यसपछि माता पार्वतीलाई अपर्ण गरेको चुनरीमा ११ रुपैयाँ बाँधेर आफूसँग राख्नुहोस् ।

९. यस दिन पूजा पश्चात माता पार्वतीलाई खीरको भोग लगाउनुहोस् र त्यही खीरलाई प्रसाद स्वरुप श्रीमानलाई दिनुहोस् र व्रत समाप्त भएपछि आफै पनि खानुहोस् ।

१०. पूजा पश्चात कोही विवाहित सौभाग्यवानलाई सौभाग्यको सामान दिनुहोस् । रातो सारी, रातो रङको अन्य सर-सामान दिनु शुभ मानिन्छ ।

११. घरमा आफूभन्दा ठूला वृद्ध महिलाको खुट्टा छोएर आशीर्वाद लिनुहोस् ।

१२. यस दिन श्रीमानको हाथले सिउँदोमा सिन्दूर लगाउनुहोस् ।

हरतालिका तीजलाई भाग्य वर्धक, श्रीमानको लामो आयू तथा एकापसी समर्पणको व्रत मानिन्छ । यो व्रत राख्नाले भगवान शिव तथा माता पार्वतीको कृपया प्राप्त हुन्छ । सौभाग्यवान महिलाहरुको लागि यो व्रतको ठूलो महत्व छ ।


Loading comments...