म्याग्दीमा डेङ्गु तथा स्क्रबटाइफसका संक्रमित भेटिए – के हो डेङ्गु तथा स्क्रबटाइफस? यसबाट कसरी बच्ने?


म्याग्दी, ०९ भाद्र, २०७७ । म्याग्दीको बेनीमा अस्पतालमा उपचाररत ४ जनामध्ये ३ जनामा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् भने चौथो एक महिला संक्रमितमा भने डेङ्गु देखिएको छ । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा भर्ना भएका थिए ।

बेनी नगरपालिका वडा नम्बर ४ को सिङ्गा बस्ने ३२ वर्षीया महिला, बेनी नगरपालिका वडा नम्बर ५ पुलाचौर बस्ने २२ वर्षीया महिला तथा अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ को नारच्याङ बस्ने ३३ वर्षिय पुरुषमा डेङ्गु तथा स्क्रबटाइफस दुवै संक्रमण देखिएको तथा अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ पोखरेबगर बस्ने ३३ वर्षीया महिलामा भने डेङ्गुको लक्षण मात्र भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताएका छन् ।

डेङ्गु तथा स्क्रबटाइफसको लक्षण देखिएकाहरु चारैजना बाग्लुङ बाहिरिएका छैनन । उनीहरु स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्दै आएका छन् । सबैको बाग्लुङस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यो वर्ष मात्रै ३७ जना डेङ्गु तथा १२ जनामा स्क्रबटाइफसको संक्रमण देखिएको छ ।

के हो डेङ्गु?
‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने ‘डेङ्गु’ सरुवा रोग हो । बर्षा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनी पाँच करोड मानिस प्रभावित हुने तथ्यांक छ ।

डेङ्गुको लक्षण
५ दिन देखि ७ दिनसम्म उच्च ज्वरो आउने, टाउको अत्याधिक दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग पीडा हुने, शरीरमा बिमिरा (खटिरा जस्तो रातो ससाना डल्ला जस्तो) आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुखिरहने डेङ्गुको मुख्य लक्षण हो ।

डेङ्गुबाट बच्न के गर्ने त?
घर तथा घरको वरीपरी खाली ठाउँमा पानी जम्न नदिने, अनावश्यक खुल्ला कुनैपनि डब्बा, टिन, ड्रम, टायर सक्दो राख्दै नराख्ने, छन भने पनि ति वस्तुहरुमा पानी जम्न नदिने । घरमा रहेको कौसीका गमला, एयर कण्डिसन, कुलर, पानी जम्मा गर्ने ट्याङ्कीमा ‘डेङ्गु’ सार्ने लामखुट्टेले फुल पार्ने गर्दछ । त्यस्ता अत्यावश्यक वस्तुहरुमा डेङ्गुको लामखुट्टेको वासस्थान हुन नदिन तथा फुल पार्न नदिन नियमित सरसफाई गर्ने । डेङ्गु फैलिन रोक्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको बासस्थान नष्ट गर्नु हो ।

के हो स्क्रबटाइफस?
स्क्रबटाइफस एक “ओरिएण्टिया सुत्सुगामुशी” नामको ब्याक्टेरियाका कारण हुने एक्यूट रोग हो । यो ब्याक्टेरिया किर्नाहरुमा पाइन्छ (विशेषगरी मुसाहरुमा भेटिने किर्ना) । यो ज्वरो सम्बन्धी स्थितियीहरुसँग मिल्दो संक्रामक (सरुवा) रोग हो । किर्ना (माइट)ले मानिसलाई टोक्दा मानिसहो शरीरमा यो ब्याक्टेरीया प्रवेश गर्दछ ।

स्क्रबटाइफस कस्तो स्थानमा लाग्ने सम्भावना हुन्छ?
स्क्रबटाइफस ज्वरो विशेषगरी ति व्यक्तिहरुमा हुने सम्भावना हुन्छ जो झाडीयुक्त क्षेत्रहरु, बाक्लो अन्नबाली भएका स्थानहरुमा हुन्छ, जहाँ मुसाहरु रहन्छन् । जस्तै जङ्गलको वरीपरीको क्षेत्र, नदिनालाको छेउछाउ, घाँसे क्षेत्र, विशेषगरी ति जङ्गलहरु जहाँ वर्षा अत्यािधक हुन्छन् ।

स्क्रबटाइफसको लक्षण
स्क्रबटाइफसमा मुख्य रूपले ज्वरो, लगातार टाउको दुखिरहने, जाडो लाग्ने, पसिना आउने, हाडजोर्नी तथा मांसपेशीमा पीडा हुने, आँखमा संक्रमण, छालामा पर चक्ला पर्ने तथा लिम्फ नोड्स (Lymph glands – head and neck) हरु सुन्निने जस्ता लक्षणहरु हुन्छन् ।

यस स्थितिको समयमैं परिक्षण आवश्यक हुन्छ, विशेषत समयमैं यसको पहिचान गरी उपचार गरेमा निको हुन्छ । जब कुनै अवस्थामा मुसामा पाइने किर्नाले मानिसलाई टोक्छ त्यसपछि छालाबाट कालो रङ्गको पाप्रा निस्किन थाल्छ यो सामान्य लक्षणबाट नै चिकित्सकले स्थितिको पत्ता लगाउन सक्छन् ।

स्क्रबटाइफसबाट बच्न के गर्ने त?
यसबाट बच्न केही सामान्य उपायहरु छन्, जस्तो कि घरबाहिर निस्किंदा अनिवार्य जुत्ता अथवा रबर बुट प्रयोग गर्ने, पूरा बाहुला भएको भेष्ट या सर्ट अथवा पूरा शरिर ढाक्ने कपडा लगाउने र सकेसम्म अनावश्यक झाडी तथा जङ्गल क्षेत्रमा जाँदै नजाने ।

स्क्रबटाइफसलाई नियन्त्रिण गर्नका लागि एन्टीबायोटिक औषधि तथा अन्य सहयोगी उपचारहरुको आवश्यकता पर्छ । स्क्रबटाइफसबाट अन्य कैंयन अप्ठेरो स्वास्थ्यस्थिति पनि उत्पन्न हुनेगर्दछ, जस्तो कि हेपेटाइटिस, शरीरका भित्री भागहरुमा रक्तश्राव हुने तथा रगतको मात्रामा कमी आउनसक्ने यसको समस्या हो ।

डेङ्गु तथा स्क्रबटाइफस दुवै रोगको लक्षणहरु केही हदसम्म मिल्दोजुल्दो हुन्छ । देशभरीका जनस्वास्थ्य कार्यालय र स्थानीय तहले डेङ्गुको बासस्थान नष्ट गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैआएका छन् ।


Loading comments...