तपोवनबाट ‘लकडाउन दुनियाँ’ हेर्दा


“विश्वमा भइरहको सैनिक खर्चमा प्रत्येक वर्ष कम्तीमा पनि १० प्रतिशत कटौती गर्नुपर्छ, लागू पदार्थ तथा अल्कोहलमा हुने खर्च घटाउनु पर्छ । अत्यावश्यक कुरामा गरिने खर्चलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ । अनावश्यक औषधी, कस्मेटिक आदिमा खर्च कटौती गरेर खाद्यान्न उत्पादनमा लागानी गर्नु पर्छ ।” -स्वामी आनन्द अरुण

काठमाण्डौ, १० भाद्र, २०७७ । तपोवनमा मानिसहरु वर्षौदेखि ध्यान र शान्तिपूर्ण जीवन दर्शन सिक्न आइरहेका छन् । मानसिक र भावनात्मक समस्याबाट गुज्रिरहका हजारौं मानिसहरुको जीवनमा आशा जगाएको छ । ओशो तपोवनको यस तपमा सँधै गुञ्जायमान एउटा नेतृत्व हो, स्वामी आनन्द अरुण । कोरोना पछिको विश्वमा धेरै कुराहरु परिवर्तन हुने क्रममा छन् । तर तपोवनको आन्तरिक जीवनशैलीमा कुनै परिवर्तन छैन । साधना चलिरहेका छन् । तर बाहिरबाट मानिसहरु आउने क्रम भने बन्द छ । तपोवनले सदासर्वदा मान्छेहरुलाई आफूभित्र हेर्न सिकाएको छ, ओशोका वाणी अनि दर्शनहरुलाई व्यवहारिक आजको जीवनशैलीको सापेक्षमा राखेर पूर्नपरिभाषित गरेको छ । यसपटक पनि यसै भइरहेकै छ, ध्यान, साधना र प्रवचनका कार्यक्रमहरु चलिरहेका छन् नयाँ स्वरुपमा – भर्चुअल तवरबाट । स्वामी आनन्द अरुण त्यहिबाट भर्चुअल माध्यमबाटै पनि संसार भर रहेका मानिसलाई योग, ध्यान, जीवनदर्शनका कुरा सिकाउँदै छन् ।

ओशो तपोवनमा विश्वका ८० भन्दा धेरै देशका मानिसहरु आउँछन् । उनी पनि योग साधना सिकाउन विश्वका २० देशहरु पुगिसकेका छन् । केही दिन अगाडी स्तम्भकारसँग भएको फोन संवादमा उनले भने, “कोरोनाको कारण विश्वले पाएको कठीन तर दुर्लभ एकान्तवासले धेरै कुरा सिकाएको छ ।”

यो एकन्तवासको दुर्लभ कुरा अनि फोन संवादले मलाई यो लेख्न प्रेरित गर्‍यो । आजको यो तपोवन सन्देश सबै तपोवन प्रेमीहरुका लागि समर्पित ।

कोरोना महामारीलाई प्रकृतिले समय सन्तुलन ल्याउन गरेको प्रयास बुझ्छन् स्वामी आनन्द अरुण । एकान्त प्रिय व्यक्ति उनलाई अहिले झन रमाइलो लागिरहेको छ । तपोवनमा अहिले नयाँ र फरक खाले शान्ति छ, यिनको बिचारमा । कवि रुमीको वाक्याशंको उद्वरण यस्तो छ – विश्वको सर्वाधिक गहन भाषा नै मौनता हो अनि अरु भाषाहरु त त्यस सर्वव्यापी मौनताको पीडादायी सतही अनुवाद मात्र हो । तपोवनको शान्तिमा अहिले मौनता छाएको छ, त्यस मौनतामा कुनै प्रश्न या वैचारिक अनेकता छैन, यो संयोगले त्यहाँ सबैकुराहरु मौनतासँगको योगमा विलिन भएका छन् ।

कता कता तपोवन बाहिर कोरोनाले मच्चाएको आतङ्कले भने मन पोलेको बताउँछन् स्वामी आनन्द अरुण । संसारमा खुसी चाहने मानिसलाई कोरोनाले दैनिक हजारौको ज्यान लिदाँ मन नपोलोस् पनि कसरी ? उनलाई कोरोना महामारीको हेक्का नभएको भने हैन त्यसैले त उनी दैनिक घण्टौ समय संसार भरिका मानिसलाई योग, ध्यानको विधि सिकाउदै बिताउछन् । उनी भन्छन् “हामीले यहि अप्ठेरो अवस्थामा सहज होस् भनेर नै त हो ध्यान गर्न सिकेको र सिकाएको ।”

‘एकान्तवासलाई सृजनशील रुपले सदुपयोग गरौँ’
सम्पूर्ण मानिसहरु अहिले कोरोनासँग जुध्न घरमा नै एकान्तवासमा छन्, पहिला जीवनको अधिकांश समय अफिसमा समय र उर्जा खर्चिने मान्छेहरुलाई घर र परिवारको सांन्निध्य र महत्व बढेर गएको छ । कोरोनाले घर किन्नलाई जीवनभर घर बाहिर ड्यूटिमा कुद्ने, किस्तामा अल्झिने र घरमा नै बस्ने समय नभएकालाई घरका भित्ताहरु भित्रको शान्ति र मौनतासँग मित्रता गर्न सिकाएको र बुझाएको स्वामीको तर्क छ । यो संकटले सारा मानवले आजसम्म बाचेको जीवनशैलीमाथि नै प्रश्न चिन्ह लगाइदिएकोले यसले सबैलाई एउटा दुर्लभ एकान्तवासको क्षणमा बस्न र रमाउने कला “सिक्ने” सिक्न बाध्य बनाएको हो । त्यसैले यसको सही सदुपयोग गर्नु@पर्छ भन्दै उनी भन्छन् “कोरोनाले संसारमा फैलनु भन्दा अगाडी सम्म कहिले शनिवार आउला भन्ने हुन्थ्यो । ६ दिन डटेर काम गरेपछि मात्र बल्ल पाइने शनिवार अहिले प्रत्येक दिन ६० वटा भन्दा बढी हाम्रो जीवनमा आइसकेको सुनाउँदै भन्छन् “त्यो शनिवारको विदा राम्रो पुस्तक पढेर, इन्टरनेटमा भएकमा राम्रा कुराहरु हेरेर, शारीरिक व्यायाम सिकेर स्वास्थ्यलाई नयाँ स्तरमा कायम गर्न, आफन्तहरुसँगको भावनात्मक सम्बन्धमा अझ नजिकिने कुरामा सदुपयोग गर्न सकिन्छ ।”

समय र परिस्थिति हाम्रो नियन्त्रणमा हँुदैनन् । अहिले मानिसहरु विवेकी भए भने प्रकृतिले निम्त्याएको असहज परिस्थितिलाई पनि अवसरमा बदल्न सक्छन् ।”

पहिला पहिला अभिभावकहरु चाहेर पनि आफ्नो परिवार बालबच्चासँग समय बिताउन पाउँदैनन थिए । बच्चाहरु पनि अभिभावकहरुबाट भावनात्मक रुपमा टाढँ हुदै गएका थिए । आफ्नै परिवारभित्र भावनात्मक सम्बन्ध चिसिदै गएको थियो । तर यो महामारीले सम्बन्धलाई पुनर्ताजगी गर्न समय दिएको छ । आफुले आफुलाई बुझ्न मात्र होइन आफ्ना आफन्तहरुको मनोविज्ञान पढ्न सक्ने समय जुराइदिएको छ । परिस्थितिहरु हाम्रो नियन्त्रणमा त छैन यद्यपि ति परिस्थितिको व्याख्या र तिनको उपयोगिता कसरी निर्धारण गर्ने चाँहि हाम्रो समझमा भर पर्दछ ।

यो समयमा उनी आफै पनि धेरै पहिले देखी जम्मा गरेको दुर्लभ पुस्तकहरु अध्ययन गरिरहेका छन् । त्यसैले त आनन्द अरुण भन्छन् “यो समय अध्ययन, लेखन र साधना गर्न चाहनेको लागि बरदान नै हो ।”

अब संसारमा पूर्वीय दर्शन फैलदै छ
पूर्वीय दर्शन अनुसार ध्यानले आत्मा–परमात्मा र योगले मानिसको शरिर र मनलाई जोडी सबै मानसिक विक्षिप्तताबाट मुक्त भई समाधि प्राप्त गर्ने विधि र दर्शन सिकाउँछ । आजको संकटमा हामी एक्लिएको नियतिलाई स्विकार गर्दै योग र ध्यानलाई नियमित रुपले आत्मसात गर्न सके त यो क्षणमा सुनमा सुगन्ध थपिन्छ । तपोवन अहिले संसारलाई योग र ध्यान सिकाउनको लागि लागिपरेको बताउदै उनी भन्छन् “तपोवन अहिले योग र ध्यानको इन्टरनेसनल हब नै भैसकेको छ । विश्वमा तपोवनका सय भन्दा बढी कैयन शाखाहरु छन् । त्यसैले हामीले तपोवनको मार्फत नै विश्व माझ नेपाल चिनाउने काम गर्दैछौँ । योग ध्यान सिकाउँदै छौँ ।” डिजिटल प्लाटफर्मबाट तपोवनका कार्यक्रमहरु नेपाली, अंग्रेजी, हिन्दी, रुसी भाषामा अहिले पनि संचालन भैरहेकाले धेरै भन्दा धेरै मानिसकोमा पुगेको उनी बताउँछन् ।

हाम्रो पुर्खाहरुले परम्परागत रुपमा अपनाएको जीवनशैली जस्तै ब्रह्म मुहुर्तमा उठ्ने, लुगा फेरेर हात खुट्टा धोएरमात्र खाने, कतै बाहिरबाट घर छिर्दा आगो छोएर मात्र भित्र छिर्ने चलन शायद आज सान्दर्भिक हुँदै गएको बताउछन् । पहिले हामीले जुन जडिबुटी र मसला प्रयोग गथ्यौं आज ती मसलाहरुको गुण र फाइदा संसार पनि चिन्दै गएकाले तिनको प्रयोय पनि विश्वव्यापि भइरहेको छ । प्रतिरोधी क्षमता प्रचुर मात्रामा भएको पाएपछि त आज पुरै संसार बेसारमय नै भएको छ । जडिबुटीमात्र हैन हाम्रो संस्कृतिको समर्थन नै गरेका बताउँदै हात मिलाउने भन्दा नमस्ते गर्ने चलन आएको र केही समय अगाडि मात्रै अमेरीकाको राष्ट्रपति भवनमा शान्ति मन्त्र पाठ भएको र स्पेनका रेडियोहरुमा शान्ति मन्त्रको बजाइएका घटनाहरु स्मरण गर्छन् ।

मानसिक समस्या मानवको लागि सबै भन्दा ठुलो चुनौती
कोरोना संकट भन्दा अघि नै विश्व स्वास्थ्य संगठनले २०३० सम्म सबै भन्दा ठूलो घातक र मारकको रुपमा मानसिक समस्या हुने भविष्यवाणी गरेको थियो । तर अहिलेको यो संकटपछि त यो समस्या सबैको घरघरमा विना अपवाद पसेको छ । मानिसहरुमा अनेक जटिल मानसिक समस्याहरु देखिन थालेको छन् । उनी यस्ता समस्याको समाधान योग र ध्यान नै भएको बताउँछन् ।

एकातर्फ उनले मानव जगत नै मानसिक रोगको शिकार बन्दै गरेको देखेको र अर्का तर्फ संसारमा योग र ध्यानको बारेमा धेरै नै उत्सुकता बढेको पाएका छन् । प्रविधिमा गरेको विकाससँगै मनुष्य प्रकृतिबाट टाढा हँुदै गएकोले तनाव, विशाद, चिन्ताले आक्रान्त छ । त्यसलाई सन्तुलनमा ल्याउने ज्ञान र ध्यानका विधिहरु सिकाउने उद्देश्यले उनी यहि विश्वका धेरै देशमा पुगेका पनि छन् । विश्वका विकसित देशका मुख्य शहरहरुमा मुख्य स्थानहरुमा योग स्टुडियो र ध्यान केन्द्रहरु खुलेर सफलताका साथ संचालन भएको देखेको बताउँछन् । पश्चिमी देशबाट योग र ध्यान सिक्न पूर्वमा आउने कारणले पनि पश्चिममा पूर्विय दर्शनले विशेष स्थान बनाएको छ । यसले मानिसको मानसिक स्वास्थ्यलाई सन्तुलन बनाउने मात्र हैन धेरै व्यक्तिहरुले रोजगारीको अवसर समेत पाएका छन् ।

अहिले कोरोनाको कारण विश्वभर नै मानिस एक्लो भइरहेको छन् । मानसिक तनावको कारण पारिवारिका हिंसा बढेको छ, अनिद्रा बढेको छ । यसको समाधान ध्यानको विधिहरु नै भएको विभिन्न अध्यनले देखाएको छ । नेपाल गौतम बुद्धको मात्रै हैन्, धेरै बुद्ध पुरुषहरुको जन्म भुमि हो, पूण्यभूमि हो । त्यसैले उनी यही गुरु भुमिबाट फेरी संसारलाइ ध्यान र ज्ञानको उज्यालो फैल्याउनु पर्छ भनेर लागिपरेका छन् ।

अझ आनन्द अरुण त लामो समयदेखि बुद्धजयन्तीलाई विश्व ध्यान दिवसको रुपमा अगाडि बढाउन माग गर्दै आएका छन् । यति मात्र हैन उनी त नेपाललाई ‘मेडिटेसन क्यापिटल अफ वल्र्ड’ भनेर चिनाउन सकिने बताउँछन् । उनी भारतको हरिद्वार, ऋषीकेशलाई योग क्यापिटल अफ वल्ड भनेर संसारले चिने जस्तै नेपाललाई मेडिटेसन क्यापिटल अफ वल्र्ड भनेर चिनाउन सक्ने धेरै आधार छ भन्छन् । यसका लागि लुम्बिनी, देवघाट, त्रिवेणीघाट ध्यानको लागि उत्कृष्ट गन्तव्य हुन सक्छन् ।

“कर्णाली चिसापानी भारतको ऋषीकेश भन्दा कम छैन ।” – उनी भन्छन् । त्यस्ता सुन्दर ठाउँहरुलाई ध्यान केन्द्र बनायो भने नेपालमा लाखौँको संख्यामा पर्यटक पनि भित्रने र नेपाललाई संसारले हेर्ने दृष्टिकोण नै उच्च हुने हुन्छ ।

नेपाललाई योग ध्यान र प्राकृतिक सुदरतामात्र विश्वमा चिनाउन हैन यहाँको ज्ञानलाइ समेत विश्वमा चिनाउन सकिने बताउदै भन्छन “नेपालको बारेमा धेरैले थाहा नपाएको भनेको अष्टाबक्र महागीता समेत नेपालकै अमुल्य निधि हो, हामी यसको ज्ञान संसारमा फैलाउन सक्छौँ ।”
भारतले आफ्नो राष्ट्रिय ग्रन्थ भनेर गीता देखाउँछ । नेपालमा त अष्टावक्र महागीता नै सिर्जना भएको भूमि हो । अष्टावक्र नेपालकै जनकपुरमा सिर्जना भएको अष्टावक्र महागीतालाई ‘बुक अफ नेपाल’ भनेर समेत घोषणा गरिनु पर्ने अभियानमा उनी धेरै समय देखि लागेका छन् ।

६०, ७० लाख युवाहरु अवसरको खोजीमा विदेशिएका छन् । उनी देशमा राजनैतिक परिवर्तन भए पनि जनताले चाहे अनुरुपको सामाजिक परिवर्तन हुन नसकेको बताउँदै भन्छन्, “प्रजातन्त्र आए पछाडि अझ उद्योग खोल्नु पर्ने र देशमा नै कमाएर खाने वातावरण बनाउनु पर्ने थियो तर दलहरुको स्वार्थ र कार्यकर्ता भर्ति केन्द्रका रुपमा चलिरहेका उद्योग समेत बन्द भए । अतिशय दलगत हस्तक्षेप र आर्थिक चलखेलका कारण मुनाफामा चलेका तथा राष्ट्रिय रोजगार र स्वावलम्वनको गौरव बनेको जनकपुर चुरोट कारखाना, हेटैडा कपडा मिल, भृकुटी कागज कारखाना, बुटवल धागो उद्योग जस्ता बिसौं उद्योगहरु बन्द गरिए ।”

कोरोनाको कारण विदेशीएका लाखौ नेपाली युवाहरु स्वदेश फर्कन चाहेका छन । नेपालले समयमा नै उनीहरुले विदेशमा सिकेको ज्ञान शीपलाइ स्वदेशमा नै उपयोग गर्न सके नेपालको आर्थिक र सामाजिक अवस्थामा सुधार आउन सक्ने उनि बताउछन । उनको बिचारमा “अब नेपालमा कृषी क्रान्ती जरुरी छ ।”

कोरोनाको कारण अमेरीकामा समेत ४ करोड बेरोजगार भएका छन् । भारतमा पहिले पनि बेरोजगारी समस्या थियो अब झन यो समस्या बढ्यो । कोरोनाको कारण विश्वका ४० प्रतिसत मानिस बेरोजगार हुँदैछन् । उनीहरुलाई सामाजिक तथा आर्थिक गतिविधिद्वारा उचित व्यवस्थापनका लागि त केही गर्नु पर्छ ।

अबको मानिसको आवश्यकता भनेको खाना, नाना र छाना भन्दै उनी भन्छन “विश्वमा भइरहको सैनिक खर्चमा प्रत्येक वर्ष कम्तीमा पनि १० प्रतिशत कटौती गर्नुपर्छ, लागू पदार्थ तथा अल्कोहलमा हुने खर्च घटाउनु पर्छ । अत्यावश्यक कुरामा गरिने खर्चलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ । अनावश्यक औषधी, कस्मेटिक आदिमा खर्च कटौती गरेर खाद्यान्न उत्पादनमा लागानी गर्नु पर्छ ।”

अब खानपान फेर्नु पर्छ
“हाम्रो शरीरको बनोट नै शाकाहारी छ । मांसाहारी जीवको बनोट बेग्लै हुन्छ । शरीर संरचना सँगसँगै उसको अधिकांश पाचन प्रणालीको क्षारिय प्रकृतिको हुन्छ । मांसाहारी जनावरको पाचन प्रणाली भने अम्लिय प्रकृतिको हुन्छ । मानिसले मासु सेवन गर्दा आमाशयले राम्ररी पचाउन सक्तैन, र पेटबाट पूर्णरुपले निस्काशन पनि हुन सक्दैन । त्यसबाट अनेक समस्याहरु देखा पर्छन् । शाकाहारी भोजन नै मानव शरीर सापेक्ष सहि भोजन हो । डाक्टरले पनि अचेल खानामा सकभर ज्यादा सागपातको प्रयोग गर्न सल्लाह दिने गर्दछन् । यो वैज्ञानिक रुपमा प्रमाणीत तथ्य हो भन्दा अतिश्योक्ति नहोला । मुटु, मधुमेह, रक्तचापका बिरामीहरुलाइ डाक्टर नै मासुजन्य भोजन नगर्ने सल्लाह दिन्छन् । सनातनी सभ्यताबाट अनुप्राणित नेपाल र भारतीय क्षेत्रका मानिसहरु मात्रै शाकाहारी छन् । अपवाद बाहेक बाँकी विश्व नै मांसाहारी छ । मासु खाँदा पनि विचार गरेर खाँदा राम्रो,” उनको सुझाव छ ।

उनी पुर्खादेखि खाँदै आएका माछा तथा पंक्षीमा रातो मासुको मात्रा न्यून हुन्छ भन्दै विश्व सर्वभक्षी बन्दै गएको बताउँछन् । मानिस देखेजति र भेटेजति सम्पूर्ण जीवको भक्षण गर्न तत्पर छ । जुन प्राकृतिक सिद्धान्त अनुरुप विल्कुल गलत छ । विज्ञानले मानव पुर्खा मानेको बाँदरको अधिकांश भोजन शाकाहारी नै हुन्छ । फलफूल र कन्दमूल खोजेर खाने प्रयास गर्दछन् । हाम्रो प्राकृतिक आहार नै हाम्रो प्रतिरोधी क्षमताको मूल श्रोत हो । खानाको ताजापनले पनि त्यसले दिने शक्तिको निर्धारण गर्दछ । अहिले दुई तीन वर्ष अघि तयार गरेर प्याक गरेका खानेकुरा हामी खान्छौ त्यस सँगसँगै प्रयोग भएका अनेक हानिकारक रसायनको पनि सेवन गर्दछौं । जसले दिन प्रतिदिन शरीरलाई दुर्बल बनाउँदै लैजान्छ । अन्ततः त्यसले हाम्रो प्रतिरोधक क्षमतालाई ह्रास गर्दछ ।

अर्को तर्फ बजारमा पाइने पत्रु खानाको असर त छदैँछ । अहिलेको अर्काे हाम्रो समस्या भनेको अत्याधिक रसायनको प्रयोग गरिएको भोजन भएको छ । अहिले त हामीले खाने फलफूल समेत केमिकल प्रयोग गरेर पकाइन्छ । त्यसरी पकाएको फलफूलले के हाम्रो शरीरमा असर नगर्ला त ? हामीले दैनिक उपभोग गर्ने चिज बस्तुलाई कसरी कम गर्ने भनेर भुटानबाट सिक्न पर्ने देख्छु । भुटानले त आफ्नो देशलाई पुरै अर्गयानिक गरेको छ । त्यस देशले रसायनिय तत्वहरुको प्रयोगबाट उत्पादन फलफुल भित्रन नै दिदैँन । नेपालमा धेरै प्रकारका फलफुल उत्पादन हुन्छन् । त्यसैले यहाँ बाहिरबाट भारिमात्रामा फलफुल ल्याउन नपर्ने स्वामी अरुणको तर्क छ।

कोरोनाको कारण र यसको समाधान
समय समयमा आउने यस्ता विपत्तिको मुल कारण मानिस अपनाएको भोगको अति कुरुपताको प्रतिफलन हो र अतिशय रुपमा प्रकृतिको दोहन हो भन्ने उनको बुझाई छ । जनावरहरुबाट भित्रिएको भाइरसले महामारीको रुप लिनुको मुख्य कारण जिब्राको स्वादको लागि तिनको अन्धाधुन्ध बध चलिन्जेल यसता विपत्तिहरु आइनै रहन्छन् ।

“कुनै पनि देशको पर्यावरण सन्तुलिन र स्वास्थ्यकर हुनको लागि ४० प्रतिशत भन्दा धेरै क्षेत्रफलमा हरियाली चाहिन्छ । अझ भुटानले त ६० प्रतीशत जमीन हरियाली राखेको छ । तर धेरै देशले यो तथ्यलाई वेवास्ता गरेका छन् । त्यही कारणले नै प्रकृतिमा यस्तो विपत्ति आएको हो,” उनले बताए ।

कोरोनाको औषधी पत्ता लाग्नु मात्रले यस्ता संक्रमणको अन्त हुँदैन । यस्ता संक्रमणहरुको दीर्घकालिन रोकथाम भनेको त प्राकृतिक श्रोत र साधनहरुको संरक्षण र विवेकपूर्ण प्रयोग हो । उनका विचारमा “हरियाली फैलाउनै मात्रै हैन बढ्दो जनसंख्यालाई समेत नियन्त्रण गर्नुपर्छ ।”

तिब्र जनसंख्या बृद्धीले गर्दा पानीको मुहान सुक्ने मात्र हैन पृथ्वीमा लाखौं वर्षदेखि अस्तित्वमा रहेका विरुवा र जनावरहरुका जाति र प्रजाति नै लोप हुँदै गएका छन् । यसको जरोमा मनुष्य नै दोषी छ । आज पृथ्वी नै बिषाक्त हुदैँ बस्न लाएको नहुने हुँदै गएको उनी बताउछन् । हामीले मृत्यु दर एकदम संग घटायौं त्यस अनुरुप जन्मदर घटाउने कुने योजना नभएकोले जनसंख्या बढ्दै गएको छ । त्ससैले बिगत सय बर्षमा मात्रै ६ अर्ब मानिस पृथ्वीमा बढेको छन् भने यो अन्धाधुन्ध जनसंख्या बृद्धीबाट पृथ्वीको आधा हरियो क्षेत्रफल नष्ट भएको छ । उनी यो जनसंख्या विस्फोटलाई प्रकृतिमाथि भएको अन्याय बताउँछन् ।

गाँउबाट शहर छिर्ने क्रम नरोकिने हो भने पृथ्वीको अवस्था झन बिग्रने उनको तर्क छ । उनी अब गाउँगाउँमा कृषि क्रान्ति गरेरमात्र आत्म निर्भर रहन सक्ने बताउँछन् । “मेरो विचारमा विश्वमा कोरोना जस्ता महामारी कम होस् भन्ने चाहने हो भने विश्वमा जनसंख्या वृद्धि दर रोक्नु पर्छ । आज विश्वका ३० मुख्य शहरहरुमा विश्वको ७० प्रतिशत आर्थिक गतिविधि केन्द्रित छ । ति शहरहरुमा विषाक्त वायु र उच्च जन घनत्वले गर्दा मानविय मुल्य र पहिचानको ठूलो ह्रास भएको छ । प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन गर्ने शहर केन्द्रित आर्थिक गतिविधीलाई विस्तारै गाउँतिर केन्द्रित गराउदै लैजानुपर्छ” उनले बताए ।

तपोवनको तप चलिरहोस्, योग र शान्तिको सन्देश प्रवाह भइरहोस् ।


Loading comments...