कवि राहत इन्दौरीको सम्झना : मान्छे शहरमा हरेक विहान बाँडिने पत्रिका जस्तो हो


काठमाण्डौ, १३ भाद्र, २०७७ । मेरो बुवाले अक्सर आफू लखनऊ बस्दाका यादहरु मलाई सुनाउनुहुन्छ, खानपीन, अदव अनि मुशायराका यादहरु लखनऊको सम्झनामा बुवाले भन्दै जानुहुन्छ । मुशायरा मैले प्रथमपटक बुवाको मुखबाटै सुने, मुशायरा अर्थात स्वतन्त्र अविछिन्न अभिव्यक्ति अनि तार्किक विद्वानहरुको भेला, हरेक तर्क र भावहरु त्यहाँ श्रृंगार रस अनि छन्दमा राख्नु पर्दछ, मैले मुशायरा सुन्न त बुवाको मुखबाट सुने तर यस्को वास्तविक अनुभव गरें, राहत इन्दौरीका शब्द तथा प्रस्तुतीहरुबाट ।

लेखकः सुयोग ढकाल

राहतले गत अगस्त ११ मा संसार छाडेर गए, मुशायराका रकिङ पर्फोमेन्स किङ्ग राहतका केहि कविताहरु “बुलाती है मगर जाने का नहीं” (नहींलाई उर्दूमा नै उच्चारण गरिन्छ राहत इन्दौरीले यस उच्चारणलाई भिडियो प्रस्तुतीमा उजागर गरेका छन्) लगायतका त भारतीय उपमहाद्वीपका कुनाकुनामा गुञ्जेका छन्, यही मुशायराका प्रस्तुतीहरुले कैंयन स्ट्याण्डअप कलाकार पनि उभिन सकेका छन् । अझ अहिलेका टिकटक – (TikTok) पुस्ताले आफ्नो भिडियोमा यो शब्दका रचनाकारलाई चिनेर हैन प्रभावकारी प्रस्तुती शैली कै कारण अत्यािधिक रुचाइएको छ र हज्जारौं भिडियो यो शब्दमा तयार पारिएका छन् ।

उनको चर्चित मुशायरा ‘बुलाती है…’को प्रस्तुती हेर्नुहोस्ः

पुरा मुशायरा यहाँ पढ्नुहोस्ः

बुलाती है मगर जाने का नहीं
ये दुनिया है इधर जाने का नहीं

मेरे बेटे किसी से इश्क़ कर
मगर हद से गुज़र जाने का नहीं

ज़मीं भी सर पे रखनी हो तो रखो
चले हो तो ठहर जाने का नहीं

सितारे नोच कर ले जाऊंगा
मैं खाली हाथ घर जाने का नहीं

वबा फैली हुई है हर तरफ
अभी माहौल मर जाने का नहीं

वो गर्दन नापता है नाप ले
मगर जालिम से डर जाने का नहीं

खुइलिएको तालूको दायाँ र बायाँ पखेटा झै सजिएका गर्दनसम्मका केश, सामान्य तर हँसिलो अनुहार, कालो वर्णका कवि राहत पिएचडी डाक्टर र प्राध्यापक पनि थिए । उनी निकै वर्षअघि देखि वलिउडमा गीत पनि कोर्दैआएका थिए । राहतको मृत्युले खै किन हो मलाई विचलीत गरेको छ, अब म राहतका नयाँ मुशायराका भिडियोहरु यूट्यूबमा देख्ने छैन । अर्थात जे जती सृजना राहतले छाडेर गए ति बाहेक उनै राहत नामको अब उपरान्त कुनै नविन सृजना सार्वजनिक हुनेछैन ।

राहतले मञ्च समातेपछि यिनको प्रस्तुती र शब्दहरुले दर्शकहरुलाई यति लोभी बनाउँथ्यो की मानौं स्टेजतर्फ हेरी बसेका सबै कमिला हुन् र राहतले आफ्ना जादूमयी शब्दसहितको प्रस्तुती मार्फत् स्वादिलो मह बाडिरहेका छन् । के बुढा, के वृद्ध, के तन्नेरी, राहत सबका बिचलित मनहरुका लागि एउटा राहत नै थिए ।

राहतको भिडियो मैले आज फेरि हेरें, यिनका आँखा दर्शकमा हैन, सभाहलको माथिको छानोमा केन्द्रित हुने रहेछ, मानौं कुनै अदृश्य भगवान राहतले पुकारीरहेका छन् र आकाशमा कविता सुन्न देवगण आएका छन्, आज राहत त्यही छानोमाथिको आकाशमा गइसके, अलवीदा राहत !

उर्दू अल्फाज मा २१ औं शताब्दीका मुशायराका राजा यिनले शब्द र ति शब्दलाई प्रस्तुत भावहरुबाट विम्बहरु खोजेर ल्याउँथे मानौं कुनै बँगैचाबाट एउटा मालीले रोजी-रोजी सुन्दर तथा सुगन्धित फूल टिपेर ल्याएको छ ।

चमकते लफ़्ज़ सितारों से छीन लाए हैं ।
हम आसमान से ग़ज़ल की ज़मीन लाए हैं ।।

उनले शब्दमार्फत् भनेझै ताराहरुबाट चम्केका शब्दहरु मैले खोसेर ल्याएको छुँ, मैले आकाशबाट गजलको जमिन ल्याएको छु । राहत आज त्यही जमिनमा गए या आकाशमा उडीरहेका होलान? अहिले जहाँ होलान यिनले जन्माएका हरेक मुशायराहरुले यिनलाई मिस गरिरहेको छ ।

तहत र मुशायरालाई राहत साहेबले अनि केहि कवीहरु जस्तै मुन्न्वार रानाले भारतमा सन् १९७० पछि नयाँ उचाई दिए, म त राहतलाई भावनाको ‘चे ग्वेरा’ नै मान्छु ।

राज़ जो कुछ हो इशारों में बता भी देना
हाथ जब उस से मिलाना तो दबा भी देना

भारतमा सरकारलाई एनआरसी विरुद्धका आन्दोलनमा एैक्यवद्ध जनाँउदै राहतले निडर भएर एउटा कविता भनें, त्यो म यहाँ लेख्दैछु ।

जो आज साहिब-ए-मसनद हैं, कल नहीं होंगे
किरायेदार हैं ज़ाती मकान थोड़े है

सभी का खून शामिल है यहाँ की मिट्टी में
किसी के बाप का हिन्दोस्तान थोड़े है

यसको आयश थियो, यस सत्ताको खेलमा हामी तिमी सबै भाडामा बसेका भाडावाला हौं, एकदिन सबैले छाड्नुपर्दछ, भारत बन्नमा सबैको रगत बगेको छ, कोही एक समुदाय या व्यक्तिको हिन्दुस्तान पेवा हैन ।

भारतमा सरकारका कदमहरु अनि ईस्लाम बिरुद्धका बिश्वव्यापी कदमहरु बिरुद्ध राहतले यी शव्दहरु भनेंका हुन् ।
जीवनको दर्शन गाँसेको राहतको यस कविता आज यहाँहरुका लागि छाड्दै राहतलाई नेपालवाट अलवीदा गर्न चाहन्छु, अबका हरेक मुशायरा राहत बिना आधा अधुरा छन् ।

सब के दुःख सुख उस के चेहरे पर लिखे पाए गए
आदमी क्या था हमारे शहर का अख़बार था

अब मोहल्ले भर के दरवाज़ों पे दस्तक है नसीब
इक ज़माना था कि जब मैं भी बहुत ख़ुद्दार था


राहत इन्दौरी


Loading comments...