सांसद साहद्वारा पुजारी मारिएको ठाउँमा भब्य मन्दिर तथा मठ निर्माण गर्ने घोषणा


गौर, १४ भाद्र, २०७७ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् ।

सांसद साहद्वारा मन्दिर निर्माण गर्ने भनिएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारी साहप्रति सांसद साहले सम्मान स्वरुप मठ र मन्दिर निर्माण गर्न लागेका हुन् ।

पुजारीको हत्या मार्फत् धार्मिक सामाजिक कार्यमा लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने र उक्त स्थानमा भईरहेको बजारको विकासलाई रोक्ने हत्याराहरूको स्पष्ट अभिप्राय देखिएकोले त्यस्तो हुन नदिन माननीय प्रभु साहको पहलमा सबै पक्षबाट सहयोग जुटाएर मन्दिर निर्माण गर्न लागेको प्रभु साहको स्वाकिय सचिव बिजय यादवले बताए र संभवतः भोली नै उक्त मन्दिरको शिलान्यास हुने तयारी रहेको जानकारी गराएका छन् ।

पुजारी श्रीराम साहले हनुमान मन्दिरको स्थापना गरे देखि उक्त स्थानमा बाजारको तिव्र विकास भई रहेको थियो । पुजारीको हत्या पश्चात बजारको भविष्य नै अन्यौल हुने देखिएको कुरा उपमेयर सिमल कुमारी साहले बताउनुभो । ५ वर्ष अघि माननीय प्रभु साहको पहलमा देवाहीबाट खेसराहिया हुदै बिरेन्द्र राजमार्गमा जोड्ने नयाँ सडक निर्माण भए देखि उक्त स्थानमा बजार लाग्दै आएको छ ।

पुजारीको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सांसद साहले निरन्तर ध्यानाकर्षण गराउँदै आएका छन् । यसअघि सांसद साहले पुजारी हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग राखेका थिए ।

पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधू श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने सांसद साहको माग थियो ।


Loading comments...