“शान्ति अस्टांगी” – अमेरिकी गायिका म्याडोना


भारत, १६ भाद्र, २०७७ । यो अत्यन्तै दूर्लभ संयोग हो र यो संयोगको चर्चा आज गर्नु आवश्यक छ । म्याडोनालाई नचिन्ने को होला र ? सेक्स सिम्वोलका रुपमा विश्व सङ्गीत अनि गीतका भिडियोका श्रृंखलाहरुमा एकछत्र राज गरेकी म्याडोनालाई विश्वले चिनेको छ, त्यो उनको एउटा सर्वमान्य छवी हो, सबैले बुझेका अनि चिनेका गायिकाका रुपमा ।

२०२० अगस्त, १६ मा यिनी ६२ वर्षकी भइन, म्याडोना जीवनको यस समयमा पनि उतिकै आर्कषक छिन जति उनी आफ्नो वैंसको उत्कट समयमा थिइन्, आज म म्याडोनाको वैंसको कुरा भन्दा पनि यिनको पूर्वीय दर्शनमा संयोगवश स्थान पाउन सफल गीत “शान्ति अस्टांगी” को गायकीका बारेमा कुरा गर्न जाँदैछु ।

लेखकः सुयोग ढकाल

Ahahu purusakaram sankha cakrasi,
Dharinam dharinam sahasra sirasam,
Vande, Om Shanti, Om Shanti
Shanti Shanti, Shanti Om

यस श्लोकको समान्य नेपाली अनुवाद यस प्रकार छ:
म मेरो गुरुलाई कमल पुष्प चरणमा नमन गर्दछु, स्वयम ज्ञान अनि प्रकाशका पुञ्ज गुरुको चरणमा मेरो कोटी कोटी नमन छ । यो नमन म कुनै नाट्य स्वरुपमा नगरिकन सम्पूर्ण हृदयको आदर र सम्मान भेला पार्दै सर्वोच्च आदेशको पालना स्वरुप सर्वव्यापी आदरका साथ गर्दछु ।

यि माथिका अंग्रेजी हरफको पहिलो लाइनमा लेखिएको संस्कृत शब्दः

आबाहु पुरुषाकारं
शंख चक्रासि धारिणम् ।

सहस्र शिरसं
श्वेतं प्रणमामि पतञ्जलिम् ।।

शब्द योगी शंकराचार्यको कृतिबाट लिइएको हो । यस्ता ब्यापक अर्थ लाग्ने अफ्ठेरो शब्दहरुको श्लोकको साङ्गीतिक रुपान्तरण निकै गहन अनि शास्त्रिय रुपमा गहिरिएर सोच्नु पनि ब्यर्थ हुनेछ, यस मन्त्रलाई म्योडोनाले ड्राइभिङ डान्स रिदममा अपवीट टेक्नो फर्ममा गाइकी हुन्, यसो गरिनु फेरि श्लोकको अर्थलाई कम आँकेको भन्ने कदापी हैन ।

समुन्द्रपारिका अनेकौं गाँउहरु परतिरकी म्याडोनाले पूर्वीय दर्शनका शब्द अनि चलनमा दिलचस्पी देखाएपछि उनी आफैले यस श्लोकलाई गीतको स्वरुपमा परिकल्पना गरिन, यो कुरा कमै मान्छेलाई मात्र जानकारी छ ।

म्याडोनाको सातौं स्टूडियो एल्बम ‘प्रकाशको किरण’ (Ray of Light)  को भिडियोलाई पछिल्लो पटक सन् १९९९ मा छैठौं MTV भिडियो म्यूजिक अवार्डले सम्मानित गरिएको थियो । उक्त अवार्ड समारोहमा म्याडोनाले पहिलो पटक उक्त एल्बममा समावेश संस्कृत गीत शान्ति/अष्टाङ्गी लाई सार्वजनिक गर्दै प्रस्तुत गरेकी थिइन् । “प्रकाशको किरण” को प्रस्तुतीका दौरान आफ्नो निधारमा चन्दनको लेपले अंग्रेजी अक्षर U आकारको टिका लगाएकी म्याडोनाले पूर्वीय हिन्दू पहिरन पहिरिएकी थिइन ।

(निधारमा चन्दनको लेपले अथवा अबिर अथवा केसरीले लगाइने फरक आकारका टिकाहरु हुन्छन् जसमा वैष्णवहरुमा प्रचलित  U तथा Y आकारको टिकाको बेग्लै महत्व छ । U आकारको टिका लाई ‘नमन तिलक/टिका’ भनिन्छ भने Y आकारको टिकालाई ‘थेंगलाई तिलक/टिका’ भनिन्छ)

BBC लण्डनले आयोजना गरेको म्याडोना र बनारसी पण्डित भागीरथ प्रसादको टेलीफोन वार्ता र टेलीकक्षा मार्फत् म्याडोनाले संस्कृत उच्चारण र केहि शाब्दिक ज्ञान पनि सिक्न सकेकी हुन् । यो सन् १९९८ कै कुरा हो ।

सङ्गीत, फेशन, चलचित्र अनि ऐश्वर्यको शिखरमा पुगेकी म्याडोनाले पूर्वीय दर्शनमा राखेको दिलचस्पी महत्वपूर्ण देखिन्छ । एउटी विश्वजनमा सर्वाधिक रुचाइएकी सर्जक र प्रस्तोता जब आफ्नो करिअरको चुचुरोमा हुन्छिन् तब चुचरोमा रहिरहन उनीसँग एउटै बिकल्प रहन्छ, दर्शकश्रोताले मनपराएका धारमा व्यवसायीक रुपमा अघि बढिरहने तर म्याडोनाले एकस्पेरिमेन्ट गरिन् । उनी पूर्वीय धारका गीतहरु पनि गाउन आइपुगिन र त्यो हिम्मतमा उनले न्याय पनि गरेकिछिन् ।

अगस्त १६ सन् १९५८ मा अमेरिकाको मिहिगनमा सामान्य परिवारमा जन्म भएकी यिनका मातापिताको क्याथोलीक धारको इसाई मान्यताले यिनको जीवनभर ठूलो मान्यता राखेको पाइन्छ । बाल्यकालमा हरेक दिन पाठ गरिने क्याथोलीक अल्टरका प्रार्थनाहरु पछि गएर वयस्क म्याडोनाका लागि हरेक दिन विवादको कारण बन्न पुग्यो । पछि म्याडोनाको ‘लाइक अ प्रयर’ बोलको भिडियो त पोपले बन्देज नै गर्न लगाए, धर्मका कुरामा म्याडोना बिद्रोह गर्दथिन । सन् १९८९ मा म्योडोनाको इन्टररेसिअल सम्बन्ध अनि यौन र यौनिकता बिषयको अन्तरवार्ता MTV मा आयो, यसले झनै बैचारीक विवाद जन्मायो ।

यिनको ‘लाइभ टु टेल’ बोलको गीतको भिडियोमा डिस्को वारले बनेको क्रसको चिह्नले पनि ठूलै बिवाद ल्यायो, ब्लासफेमी अर्थात धर्मबिरोधी आरोप म्याडोनालाई निकै लाग्यो । ५ वर्षकी उमेरका आफ्नी आमा बितेपछि वयस्क अवस्थासम्म म्याडोनाले सौतेनी आमाको नियम अनुरुप आफूलाई ढालेर जीवन बाँच्नु पर्यो, वयस्क म्याडोनाका गीत अनि बिचारमा यी बिद्रोहहरु पाइन्छ, अन्तत म्याडोना शान्ति अनि समावेशीताको खोजीमा भारतीय उपमहाद्धीपमा पनि आइन, गीत पनि गाइन, यिनी आदिगुरु शंकराचार्यसंग निकै प्रभावीत भएकी पाइन्छ ।

म्याडोना र मेरो पुस्तामा धेरै ग्याप छ, मेरा लागि चाँही म्याडोना एउटी नर्तकी हुन जस्लाई गाउन पनि आउँदछ, यिनले न्यूयोर्कमा सन् १९७८ बाट नृत्य सिक्दै करियर शुरु गरेकी हुन्, यिनको नृत्यको असाधारण कला अनि अभिव्यक्तिले जीवनभरिलाई पुग्ने मञ्च अनि गायकी पनि थपेर दैवले दिएको हो ।

सन् १९८३ मा म्योडोनाको सोलो एभ्रिवडी भन्ने गीतले बिश्व बजार पिटिदियो, म्याडोनाले आजसम्म फर्केर हेर्नुपरेन । उन्का गीतमा बिद्रोह अनि पर्फेक्शन दुबै पाइन्छ । सन् १९८५ मा नै यिनको अर्को एल्वा लाइन अ भर्जिनले त झनै ठूलै चर्चा पायो, सन् २०१९ मा पनि यिनको एल्वम माडामे एक्स एल्वमले ठूलै हल्लीचल्ली पायो । एमटीभीको एम नै म्योडोनाले राखेकी बताइन्छ, एमटीभीका पापाराज्जीहरुलाई म्याडोनाले जति हेडलाइन कसैले दिएनन रे, आजसम्म पनि यो तथ्य चर्चामा छ ।

माइक्ल ज्याक्शनको भन्दा म्याडोनाका साङ्गीतिक टुरहरु अझै विशाल अनि खर्चिला हुन्थे, यिनले सन् १९८५ मा नै ‘सिकिङ सुसान’ नामको चलचित्र मा अभिनय गरिन्, आफनै वाल्यकाला तस्वीरहरु म्याडोनाले चलचित्रमा उतारेको भान हुन्छ । यसका अलावा सन् १९८६ मा नै फेरि सांघाई सप्राइज, सन् १९८७ मा हो इज द्याट गर्ल, सन् १९८९ मा व्लडहुन्डस अफ व्रोडवे अनि सन् १९९० मा डिक ट्रसी चलचित्रमा म्योडोना छिन् ।

सन् २०१२ मा फ्रान्सको कन्सर्टमा नाजी छवीलाई प्रश्रय दिएकी आरोपमा म्याडोना थप विादमा आएकी थिइन, कहिलेकाँही यिनको जीवनलाई नियाल्दा ‘विवादको दोश्रो नाम’ नै म्याडोना हो की जस्तो लाग्छ ।

सन् २००८ मा फोर्ब्रस पत्रिकाका अनुसार म्योडोना विश्वकै सर्वाधिक धनी गायिका थिइन, म्योडोनाले सफलताको शिखर देखिन् । म्याडोना अब दर्शनसँग नजिक हुन थालेकी छिन् । शायद! ६२ वर्षका टेक्दै गर्दा यिनलाई अफ्रिकाको मलावीमा जोखिममा परेका बालबालिकालाई अरबौं डलर लगानी गरेर बचाउने परियोजनाको शुरुवातकर्ताका रुपमा पनि चिनिन्छ । त्यहाँका केटकेटीको राम्रो लालनपालन, स्वास्थ्योपचार तथा शिक्षाको अभिभारा बोकेकी म्याडोनाले त्यहाँ संचालन गरीराखेको गैरसरकारी संस्थाको नाम रेजिङ मलावी’ हो, त्यहाँबाट केहि बच्चाहरु पनि यिनले कोख लिएकी पनि छिन् ।

“THERE IS A GREAT DEAL OF HARDSHIP IN MALAWI, BUT I ALSO SEE GREAT OPPORTUNITY, RESILIENCE, AND JOY—EVEN IN THE FACE OF EXTREME POVERTY.”
:: MADONNA ::

म्याडोना एक यात्री हुन्, यिका समकालिन मीक ज्यागर, रोड स्टेवार्ट गतिशिलताभन्दा पर छन् तर म्याडोनाको यात्रा रोकेको छैन्, संस्कृत भाषाको गीत गाएकी यिनी पारदर्शि र विवादास्पद कपडाका लागि अनि धर्म विरोधी बिद्रोहका लागि पनि चर्चित भइन्, तर म्याडोना एउटा ब्राण्ड हुन जसलाई कुनै बन्देजले छेक्न सक्नेछैन । फेरी फगत यो पहिरन तथा आफ्ना बिचारका लागि विश्वले कस्लाई पो बाँकी राखेको छ र ?

सुनिन्छ म्याडोना अहिले दर्शनशास्त्र अनि पूर्वीय सभ्यताका अध्ययनमा पनि समय बिताउने गर्दछिन्, जे होस् म्याडोनाका अबका वर्षहरु झनै राम्रा तथा समाजका लागि उत्प्रेरक होउन ।


Loading comments...