केही खुकुलो बनाइएको ‘निषेधाज्ञा’का क्रममा निषेध गरिएका तथा गर्न पाईने कामहरु के के हुन त?


काठमाण्डौ, १८ भाद्र, २०७७ । नेपाल सरकार, गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा कोभिड-१९ को बढ्दो संक्रमणलाई प्रभावकारी रुपमा रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय जारी गरेको छ । निर्णयानुसार अब उपत्यकामा कायम रहेको निषेधाज्ञा परिमार्जनसहितको केही खुकुलो स्वरुपमा एक साताका लागि पुनः थप गरेको छ ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै परिमार्जनसहित भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी मिति २०७७/०५/०३ गते राति १२:०० बजेदेखि मिति २०७७/०५/१७ गते राति १२:०० बजेसम्म निषेध आदेश जारी गरिएकोमा मिति २०७७/०५/१७ गते राति १२:०० बजेदेखि २०७७।०५। २४ गते राति १२:०० बजेसम्म लागू हुने गरी निषेध आदेश जारी गरिएको छ ।

निषेध गरिएका सेवाहरुः
१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम साथै अत्यावश्यक सेवा संचालन गर्न बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
२. अत्यावश्यक सेवा तथा कामका लागि समेत १२ वर्ष मुनीका बालबालिका, ६० वर्ष माथिका जेष्ठ नागरिकहरु एवं दीर्घ रोग भएका जुनसुकै उमेरका मानिसहरू घरबाट बाहिर निस्कन ।
३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालबाहक सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेश गर्न । यसरी आउने सवारी साधनमा रहेका ड्राइभर र सहयोगीहरु तोकिए बमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्ने ।
५. कोभिड-१९ को संकमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न ।
६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल दूध, दूग्धजन्य पदार्थ र सोको प्याकेजिङ सामग्री, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन/स्यानिटाइजर लगायतका सामग्रीहरु, अस्पताल गाने/आउने बिरामी, दाह संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।
७. कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला/जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।
८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न ।
९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, टयूशन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।
१०. सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर, मार्ट, मनोरञ्जनस्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।
११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापार/व्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न ।
१२. होटेल, रेष्टुराँ सञ्चालन गर्न गराउन ।
१३. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कारवाही हुनेछ ।

सञ्चालन गर्न पाउने सेवाहरुः
१. अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी, पानी मात्र विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिकी वित्तरण गर्ने पसल/व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन सकिने ।
२. अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/ मासु बिक्री वितरण गर्ने पसलहरु विहान ११:०० बजेसम्म खोल्न सकिने ।
३. उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित पसल/व्यवसाय साथै सोको दुवानिका लागी प्रयोग हुने सवारी साधन दिउँसो २:०० बजेदेखी बेलुका ९:०० बजे सम्म सञ्चालन गर्न सकिनेछ तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।
४. PCR नेगेटिभ भएका व्यक्तिहरूबाट मापदण्ड बमोजिम Takeaway सेवा सञ्चालन गर्न र सरकारले तोकेको मापदण्ड अनिवार्य रुपमा पालना गरी अनलाइन सेवा संचालन गर्न ।
५. अत्यावश्यक उपभोग्य वस्तुको होम डेलिभरी सेवाको हकमा डेलिभरी गर्ने व्यक्तिको PCR नेगेटिभ हुनुपर्नेछ । होम डेलिभरी सेवाको क्रममा भेटेका व्यक्तिहरूको अभिलेख राख्ने र अनलाईन भुक्तानी गर्ने गरी होम डेलिभरी सेवा सञ्चालन गर्न सकिने छ । सो सेवाको मापदण्ड जारी भएपछि मात्र सेवा सञ्चालन गर्न पाईनेछ ।
६. कामदार र कर्मचारीहरूलाई आयोजनास्थलमै क्वारेन्टिनमा रहने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सम्बन्धी निर्माणका कार्यहरु सञ्चालन गर्न ।
७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार Online कक्षा सञ्चालन गर्न ।
८. क्वारेन्टाइन/आइशोलेसनमा बस्नेहरुको लागि खाना खुवाउने क्याटरिङ/होटल सञ्चालन गर्न ।
९. एयरपोर्ट देखि क्वारेन्टाइन वा आइसोलेसन वा होटेलसम्म जाने यातायात सञ्चालन गर्न ।
१०. अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको PCR रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनु पर्नेछ ।
११. स्वाब परिक्षण गराउने व्यक्तिहरू रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरू समेत स्वाव परिक्षण गराउने व्यक्तिहरुको रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रूपमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । होम क्वारेन्टिनमा बसे नबसेको निगरानी सम्बन्धित स्थानीय तहको वडा कार्यालयले गर्नु पर्नेछ । यस व्यवस्थाको उल्लंघन हुनेगरी जथाभावी हिडडुल गर्नेहरू उपर संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुनेछ ।
१२. अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न सकिनेछ । उद्योग कलकारखानामा काम गर्ने कर्मचारी/कामदारहरू खान/बस्नको लागि परिसर भित्र सम्बन्धित उद्योग कलकारखानाले नै छुट्टै क्वारेन्टिनको व्यवस्था गर्नु पर्नेछ । उद्योग कलकारखाना सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य Protocol पालना गर्नु/गराउनु पर्नेछ । यसको व्यवस्थापन अनिवार्य रुपमा सम्बन्धित उद्योगले नै गर्नु पर्नेछ । सो को अनुगमन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) ले गरी प्रतिवेदन गृह मन्त्रालय मार्फत CCMC मा पठाउनु पर्नेछ ।
१३. बैंकिंग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवाप्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ। सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको वा कर्मचारी संख्याको १/३ संख्यामा नबढाई सेवा प्रवाह गर्न सकिनेछ । साथै ATM सेवा सञ्चालन गर्दा सम्बन्धित बैंकले नियमित रुपमा Disinfect गर्नु पर्नेछ । सो को अनुगमन नेपाल राष्ट्र बैंकले गर्नु पर्नेछ ।
१४. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ तर PCR परीक्षण सुविधा नभएको स्थानबाट यो प्रयोजनमा उपत्यका आउनु पर्ने व्यक्तिको हकमा काठमाण्डौमा सुरक्षित रूपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नु पर्नेछ ।
१५. माथि उल्लिखित व्यवस्थाका लागि सहजिकरण गरिएका सेवाहरु संचालन गर्दा अनिवार्य रुपमा सामाजिक तथा भौतिक दूरी कायम गर्नुपर्नेछ । साथै अनिवार्य रुपमा नेपाल सरकार मन्त्रिपरिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नु/गराउनु सम्बन्धित सबैको कर्तव्य  हुनेछ। सो को पालना नभएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुनेछ ।

जारी प्रेस वक्तव्यको वास्तविक प्रति

१६. माथि उल्लेखित कियाकलाप गर्दा/गराउँदा सम्बन्धित नियामक निकायले अनिवार्य रुपमा तोकिएको प्रोटोकल पालना भए/नभएको विषयमा अनुगमन गरी सो को प्रतिवेदन आआफ्नो तालुक निकायमा तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हप्ताको दुई पटक उपलब्ध गराउनु पर्नेछ ।

 


Loading comments...