सिन्धुपाल्चोक लिदीका पहिरो पीडीतलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग


सिन्धुपाल्चोक, १८ भाद्र, २०७७ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड–१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावीत भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साटासाट गर्न मात्र आएको उनले बताए । उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड–१९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने बताए ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए । सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्र्याउँदा १५६ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।


Loading comments...